Trending
Prev Story
Next Story

१३ वर्षदेखि बालबालिकालाई हल्का काम गर्न दिने प्रस्तावको सरकारद्वारा बचाउ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
9
9 reads 0 reactions

९ मंसिर, काठमाडौं । बालश्रम पूर्णरूपमा निषेध गर्ने कि उमेर र कामको प्रकृति छुट्याएर नियमन गर्ने भन्ने बहसबीच सरकारले १३ वर्ष उमेर पुगेका बालबालिकालाई निश्चित सर्तमा हल्का काम गर्न दिने प्रस्तावको बचाउ गरेको छ । बालश्रममा संलग्न …

१३ वर्षदेखि बालबालिकालाई हल्का काम गर्न दिने प्रस्तावको सरकारद्वारा बचाउ

९ मंसिर, काठमाडौं । बालश्रम पूर्णरूपमा निषेध गर्ने कि उमेर र कामको प्रकृति छुट्याएर नियमन गर्ने भन्ने बहसबीच सरकारले १३ वर्ष उमेर पुगेका बालबालिकालाई निश्चित सर्तमा हल्का काम गर्न दिने प्रस्तावको बचाउ गरेको छ ।

बालश्रममा संलग्न बालबालिकाको संख्या घटाउने उद्देश्यले कानुन बनाइएको भन्दै सरकारले नेपालको आर्थिक, सामाजिक र पारिवारिक अवस्थालाई ध्यानमा राखेर उमेर र कामको सीमा निर्धारण गरेको तर्क गरेको हो ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम निषेध तथा नियमन गर्ने विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपालमा अहिले पनि ११ लाख बालबालिका बालश्रममा संलग्न रहेको तथ्यांक रहेको बताए । उनीहरूलाई श्रमबाट बाहिर निकाल्ने र बालश्रमको संख्या घटाउने उद्देश्यले विधेयक ल्याइएको उनको भनाइ छ ।

‘हामीले यो बनाउनुको कारण भनेको अहिले पनि नेपालमा ११ लाख बच्चा बालश्रममा आबद्ध छन् भनेर डाटाले देखाइराख्या छ । हो, त्यो ११ लाखलाई कसरी घटाउने तिर हामी सोचिराख्या हो’, मन्त्री यादवले भने ।

तर, बालश्रम पूर्ण रूपमा निषेध गर्ने कानुन बनाउँदैमा समस्या समाधान नहुने उनको तर्क छ । गरिबी, पारिवारिक अवस्था, अभिभावकविहीनता र बालबालिकाको संरक्षण गर्ने राज्यको क्षमतासमेतलाई हेरेर कानुन बनाउनुपर्ने उनले बताए । ‘कानुन यस्तो बनाइदियो जुन कार्यान्वयन नै गर्न सकिएन भने त्यो फेल हुन जान्छ’, उनले भने, ‘हामीले प्राक्टिकल र जुन कार्यान्वयन गर्न सकिने आफ्नो स्थिति हेरेर कानुन बनाउनुपर्छ ।’

सरकारले प्रस्ताव गरेको १३ वर्षको उमेरलाई मन्त्री यादवले देशको परिस्थितिअनुसार निर्धारण गरिएको बताए । विकसित देश र नेपालको आर्थिक, सामाजिक तथा पारिवारिक अवस्था एउटै नभएकाले कानुन पनि देशको यथार्थअनुसार बनाउनुपर्ने उनको तर्क छ ।

१३ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई घरमा अभिभावकलाई सामान्य सहयोग गर्ने प्रकृतिको हल्का काममा मात्रै संलग्न गराउने प्रस्ताव गरिएको उनले बताए । त्यसमा पनि शिक्षा, स्वास्थ्य, शारीरिक तथा मानसिक विकास र शोषणको जोखिमलाई ध्यानमा राखेर काम गर्न दिने व्यवस्था गरिएको उनको दाबी छ । ‘हामीले बच्चालाई स्कुलबाट निकालेर काममा लगाउनुपर्छ भन्ने तर्फ पनि होइनौँ । हामीले बच्चालाई स्कुलमा टिकाउनुपर्छ भन्ने पक्षमै हो’, उनले भने ।

सरकारले १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि कामको प्रकृति र सीमा छुट्याएको छ । कुन उमेरमा कस्तो काम गर्न मिल्ने भन्ने विषय अनुसूचीमा राखिएको मन्त्री यादवले बताए ।

उनका अनुसार बालश्रम र सामान्य कामलाई एउटै रूपमा हेर्नु हुँदैन । लामो समय काम गराउने, स्वास्थ्यमा असर पर्ने, मानसिक दबाब सिर्जना गर्ने तथा उमेरअनुसार कामको सीमा नाघ्ने अवस्थालाई शोषणकारी श्रमका रूपमा हेर्नुपर्ने सरकारको प्रस्ताव छ ।

मन्त्री यादवले बालबालिकालाई काममा लगाउने सबै व्यक्ति शोषणकारी हुँदैनन् भन्ने तर्क पनि गरे । विगतमा ग्रामीण क्षेत्रमा परिवारले आर्थिक अवस्था कमजोर हुँदा बालबालिकालाई पढाइदिने र हेरचाह गरिदिने व्यक्तिकहाँ पठाउने अभ्यास रहेको भन्दै अहिले कानुनको डरले त्यस्ता परिवारसमेत त्रसित हुने अवस्था रहेको उनले बताए । ‘राख्यौं भने एरेस्ट नै होला कि जस्तो लाग्छ । जबकि उसले राम्रो केयर गरेर, नराम्रो पनि होलान् तर राम्रो पनि यसमा परे कि’, उनले भने ।

विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले भने बालश्रम रोक्न कानुनको प्रावधान मात्रै पर्याप्त नहुने भन्दै उद्धार, पुनर्स्थापना, परिवारको आर्थिक सुरक्षा, विद्यालयमा पुनःएकीकरण र प्रभावकारी निगरानीमा जोड दिएका छन् ।

सांसद प्रभा कार्कीले बालबालिकालाई कामबाट उद्धार गरेपछि राज्यले तत्काल संरक्षण र सुरक्षित आवासको जिम्मेवारी लिनुपर्ने बताइन् । उजुरी गरेकै कारण रोजगारदाताबाट प्रतिशोध, हिंसा वा थप जोखिम हुन सक्ने भएकाले उद्धार गरिएका बालबालिकालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था स्पष्ट हुनुपर्ने उनको सुझाव छ ।

घरेलु श्रममा संलग्न बालबालिकाको अवस्था पनि विधेयकले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने उनले बताइन् । बालश्रममुक्त घोषणा गरिएका क्षेत्र र परिवारमा बालबालिकालाई विद्यालयमा पुनःएकीकरण गराउने सुनिश्चितता हुनुपर्ने उनको जोड छ ।

कार्कीले बालश्रमको मुख्य कारण गरिबी भएकाले रोजगारदातालाई कारबाही गर्ने व्यवस्थासँगै परिवारको आर्थिक अवस्था सुधार गर्ने उपाय पनि कानुनमा जोड्नुपर्ने बताइन् । अति विपन्न परिवारको सामाजिक सुरक्षा, अभिभावकलाई सीप तथा रोजगारी, लक्षित आर्थिक सहायता र विद्यालय उमेरका बालबालिकालाई विद्यालयमै टिकाउने कार्यक्रम आवश्यक रहेको उनको सुझाव छ ।

जन्मदर्ता वा उमेर प्रमाणित गर्ने कागजात नभएका बालबालिकालाई वयस्क ठहर गरेर कानुनी संरक्षणबाट वञ्चित गर्न नहुने विषय पनि उनले उठाइन् । उमेर विवाद हुँदा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिएर प्रमाण र विशेषज्ञ मूल्यांकनका आधारमा निर्णय गर्नुपर्ने उनको प्रस्ताव छ ।

सांसद कालिबहादुर सहकारीले विद्यालय, स्वास्थ्य संस्था, होटललगायत क्षेत्रमा ११–१२ वर्षका बालबालिकासमेत काम गरिरहेको वास्तविकता रहेको भन्दै उमेरअनुसार कामको स्पष्ट मापदण्ड बनाउनुपर्ने बताए । कामको समय, आराम, स्वास्थ्य, पोषण, शिक्षा र व्यक्तित्व विकासमा असर नपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ ।

बालश्रम नियन्त्रणका लागि स्थानीय तह, सरकारी निकाय र गैरसरकारी संस्थाको भूमिका स्पष्ट हुनुपर्ने भन्दै उनले नियमित अनुगमनको संयन्त्र आवश्यक रहेको बताए । गरिबी र बाध्यताका कारण बालबालिका काममा लाग्ने अवस्थालाई सम्बोधन नगरे कानुन कागजमै सीमित हुने उनको भनाइ छ ।

प्रकाश पाठकले बालबालिकाको उमेरअनुसार काम, समय र आरामसम्बन्धी व्यवस्था स्पष्ट भए पनि विधेयकमा शरणार्थी तथा सीमापारबाट आएका बालबालिकाको श्रमसम्बन्धी विषय समेट्नुपर्ने सुझाव दिए । खुला सीमा र शरणार्थी बालबालिकाको अवस्थालाई ध्यानमा राखेर विशेष संरक्षणको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

विधेयकमा मुद्दा दायर गर्ने समयसीमा ६ महिनाको प्रस्ताव गरिएको भए त्यसलाई बालबालिका सम्बन्धी ऐनअनुसार एक वर्ष बनाउनुपर्ने सुझाव पनि उनले दिए । स्थानीय बालकल्याण समितिको भूमिका, राष्ट्रिय बाल अधिकार परिषद्को जिम्मेवारी र स्थानीय तहको अधिकारसमेत स्पष्ट हुनुपर्ने पाठकको भनाइ छ ।

सांसद गङ्गादेवी श्रेष्ठले बालश्रम पहिले सडक र सार्वजनिक क्षेत्रमा बढी देखिने भए पनि अहिले लुकेर हुने श्रम बढिरहेको भन्दै यसको कारण खोज्नुपर्ने बताइन् । गरिबी, बेरोजगारी, विपद्, अभिभावक विदेश जाने अवस्था, अभिभावक गुमाएका बालबालिका, छात्रावासबाट बाहिरिएका बालबालिका र असमान शिक्षा प्रणालीले बालश्रमको जोखिम बढाउने उनको भनाइ छ ।

मनोरञ्जन क्षेत्रमा बालबालिकाको श्रमलाई पनि स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने उनले बताइन् । दोहोरी, मेला, महोत्सव तथा अन्य मनोरञ्जनात्मक गतिविधिमा कम उमेरका बालबालिका संलग्न हुने अवस्थालाई नियन्त्रण गर्न आवश्यक रहेको उनको सुझाव छ ।

बालबालिका उद्धारपछि पनि सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता नभए जोखिम कायम रहने भन्दै उनले पुनर्स्थापनाका संस्थाहरूको अवस्था र निगरानीसमेत प्रभावकारी हुनुपर्ने बताइन् ।

सांसद कृपाराम रानाले विधेयक संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डसँग मेल खाने गरी बनाउनुपर्ने सुझाव दिएका थिए । संविधानको धारा ३९ ले बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित हेरचाह, खेलकुद, मनोरञ्जन र व्यक्तित्व विकासको अधिकार सुनिश्चित गरेको भन्दै विधेयकका प्रावधान ती अधिकारसँग बाझिन नहुने उनको भनाइ थियो ।

बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महासन्धि १३८ र १८२ को मर्मसमेत ध्यानमा राखेर विधेयकका प्रावधान र अनुसूचीहरू समीक्षा गर्नुपर्ने उनले बताए ।

सांसद सोम शर्माले बालश्रमको समस्या गरिबी, अभिभावकको संरक्षणको अभाव र परिवारको आर्थिक अवस्थासँग जोडिएको भन्दै कानुनसँगै परिवारलाई आर्थिक सुरक्षा र रोजगारीको अवसर दिनुपर्ने बताए । बालबालिका र परिवार दुवैले भविष्यमा राम्रो जीवनको सम्भावना देख्न नसक्ने अवस्था बालश्रमको मूल समस्यामध्ये एक भएको उनको तर्क थियो ।

समिति सभापति रहबर अन्सारीले विधेयकलाई प्रगतिशील प्रस्ताव भन्दै बालश्रमलाई रोजगारदाताका लागि आर्थिक रूपमा महँगो बनाउने उद्देश्य रहेको बताए । बालबालिकालाई काममा लगाउँदा सस्तो श्रम उपलब्ध हुने भएकाले जरिवाना, कानुनी जिम्मेवारी र पुनर्स्थापनाका प्रावधानबाट रोजगारदातालाई जिम्मेवार बनाउन खोजिएको उनको भनाइ छ ।

बालबालिकाको उमेर, कामको प्रकृति, कामको समय र भारसमेत स्पष्ट निर्धारण गर्ने प्रस्ताव रहेको भन्दै उनले दफावार छलफलमा सांसदहरूका संशोधनलाई समेटेर विधेयक अघि बढाइने बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालविवाह, कम उमेरमा हुने विवाह र जबर्जस्ती विवाह अन्त्यका लागि ३९ बुँदे माग अघि सारेक...

#बालबालिका #उमेर
Compare →
Arthasansar
3d ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#दिने
Compare →
Nagarik News
3d ago
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ।

#दिने
Compare →
Ekantipur
3d ago
मोरङको कानेपोखरीमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

मोरङको कानेपोखरीमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

प्रदेश बालअधिकार समिति, राष्ट्रिय बालअधिकार परिषद्, कानेपोखरी गाउँपालिकाका बालकल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले उनीहरूलाई उद्धार गरेको हो ।

#बालबालिका
Compare →

Related Stories

Politics & Governance
Build #2625