कालानमक धान खेतीको क्षेत्रफल कपिलवस्तुमा निरन्तर घट्दै गएको छ। ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको यो धान खेतीमा लागत र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएपछि किसानले विस्तारै यसको खेती छाड्दै गएका हुन्।
सरकारी स्तरबाट समेत पर्याप्त संरक्षण र प्रवर्धन हुन नसक्दा बुद्धकालीन समयदेखि प्रचलनमा रहेको मानिएको कालानमक धान लोप हुने अवस्थामा पुगेको छ।
कृषि ज्ञान केन्द्र कपिलवस्तुसँग जिल्लामा कालानमक धान खेती गरिएको वास्तविक क्षेत्रफलको आधिकारिक तथ्यांक छैन। केन्द्रले अहिले करिब ८५ हेक्टरमा यसको खेती भइरहेको अनुमान गरेको छ। जिपिएस प्रविधिको माध्यमबाट खेती गरिएको क्षेत्रफल मापन भइरहेको र केही दिनमै यकिन तथ्यांक आउने केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए।
एक दशकअघिसम्म जिल्लामा करिब ५०० हेक्टरमा कालानमक धान खेती हुने गरेको थियो। सिँचाइको पर्याप्त व्यवस्था गर्नुपर्ने, स्याहारसुसार बढी लाग्ने तथा रोग र कीराको प्रकोप बढी हुने भएकाले किसानले यसको सट्टा उन्नत तथा हाइब्रिड धान लगाउन थालेका छन्। असारमा रोपेको कालानमक मंसिरको अन्तिम सातातिर मात्र पाक्ने भएकाले किसानलाई गहुँ र तोरीलगायत हिउँदे बाली लगाउन पनि ढिलाइ हुने गरेको छ। लामो समय खेतमा रहने र उत्पादकत्व कम हुने भएकाले किसान अन्य जातका धानतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रको भनाइ छ।
कालानमक मसिनो, कालो र बास्नादार चामलका रूपमा परिचित छ। यसको स्वाद र विशिष्ट गुणका कारण विगतमा विशिष्ट व्यक्ति तथा पर्यटकको समेत रोजाइमा पर्ने गरेको थियो। यो धान बासमतीभन्दा उत्कृष्ट मानिने गरिएको छ। बजारमा परम्परागत र उन्नत दुवै प्रकारका कालानमक पाइन्छन्। कृषि ज्ञान केन्द्रका अनुसार सेतो रङको कालानमक पनि पाइन्छ भने यसै प्रजातिअन्तर्गत गोपालभोग धानसमेत पर्छ।
किसान महासंघका जिल्ला सचिव बालगोविन्द त्रिपाठी कालानमक उत्कृष्ट धान भए पनि संरक्षणमा सरकारी चासो नपुगेको बताउँछन्। उनका अनुसार यसको चामलमा फाइबर, आइरनलगायत पोषक तत्त्व पाइन्छन्। ‘यो उत्कृष्ट धान हो, यसको स्वाद नै बेग्लै हुन्छ’, उनले भने। विगतमा कपिलवस्तु, रुपन्देही र नवलपरासीमा समेत यसको खेती हुने गरे पनि नयाँ जातका धानको विकास र बढी उत्पादनको मोहका कारण खेती घट्दै गएको उनले बताए।
कपिलवस्तु नगरपालिका-२ का पूर्ववडाध्यक्ष तथा किसान रामभजन कलवारले यस वर्ष १४ बिघा कच्चीमा कालानमक धान खेती गरी ५० क्विन्टल उत्पादन गरेका छन्। लामो समयदेखि यसको खेती गर्दै आएका उनले रोग र कीराको प्रकोप तथा सिँचाइको आवश्यकताले उत्पादन लागत बढाएको बताए। ‘माग बढी छ, बिक्रीको समस्या पनि छैन तर लागत बढी लाग्ने र बाली जोगाउनसमेत गाह्रो भएकाले किसानको रोजाइमा पर्न छाडेको छ’, उनले भने। सरकारी सहयोग र चासोको अभावले पनि यसको खेती घट्दै गएको उनको भनाइ छ।
मायादेवी गाउँपालिका-५ बलुहवाका किसान आदित्यप्रसाद चौधरीले अन्य धान असोज-कात्तिकमा भित्र्याएपछि लाग्ने पतेरो कीराले कालानमक धानमा बढी क्षति पुर्याउने गरेको बताए। उनका अनुसार पतेरोले धानको बालाबाट रस चुस्दा दाना राम्रोसँग भरिँदैन। ढिलो पाक्ने भएकाले तोरी र गहुँ खेती गर्ने किसानलाई समेत समस्या हुने गरेको उनले बताए।
यशोधरा गाउँपालिका-६ रंगपुरका किसान त्रियुगी नारायण जैसवालले पनि घाटा सहनुपरेपछि यस वर्ष कालानमक खेतीको क्षेत्रफल घटाएका छन्। गत वर्षसम्म ६ हेक्टरमा खेती गर्दै आएका उनले यस वर्ष छ कठ्ठामा मात्र लगाएका छन्। पुरानो स्थानीय जातको बीउ अझै उपलब्ध रहेकाले त्यसको संरक्षण र ब्रान्डिङ गर्नुपर्ने उनको सुझाव छ।
कृषि ज्ञान केन्द्रका प्रमुख चौधरीका अनुसार जिल्लाको मायादेवी गाउँपालिकाका वडा नम्बर ५ र ७, यशोधरा गाउँपालिकाका वडा नम्बर ३, ४, ६ र ७, कपिलवस्तु नगरपालिकाका वडा नम्बर २, ३, ४ र ५ तथा बुद्धभूमि नगरपालिकाका वडा नम्बर ४, ६ र १० का सीमित क्षेत्रमा मात्र कालानमक खेती भइरहेको छ। यसको अग्लो बोट र बाला ढल्ने समस्याका साथै पतेरोको प्रकोपले उत्पादन चुनौतीपूर्ण बनेको उनले बताए।
अन्य धानको उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टनसम्म हुने गरेकोमा कालानमकको बढीमा २.५ मेट्रिक टन मात्र उत्पादन हुने गरेको छ तर बजारमा यसको चामलको मूल्य अन्य धानको तुलनामा बढी छ। सामान्य धानको चामल प्रतिकिलो ५० देखि ७० रुपैयाँमा बिक्री हुँदा कालानमकको मूल्य एक सय ६० देखि एक सय ८० रुपैयाँसम्म पर्ने गरेको छ। बढी मूल्य पाए पनि कम उत्पादन र उच्च लागतका कारण किसानले अपेक्षित लाभ लिन नसकेको बताउँछन्।
प्राचीन कपिलवस्तुको पहिचानसँग जोडिएको कालानमक धानको प्रवर्धनका लागि पाँच वर्षअघि बुद्धजयन्तीको अवसरमा तिलौराकोट दरबार परिसरमा धान रोपाइँ कार्यक्रमसमेत गरिएको थियो। लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव तथा वरिष्ठ निर्देशक ज्ञानिन राईले कालानमक प्राचीन कपिलवस्तुको रैथाने धान भएको बताए। पर्याप्त पानी चाहिने तथा रोग र कीराको प्रकोप बढी हुने भएकाले यसको खेती घट्दै गएको जनाउँदै उनले कपिलवस्तुको पहिचानका रूपमा रहेको यो धानको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिए।
कालानमकको विशिष्ट गुणलाई ध्यानमा राख्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सात वर्षअघि शुद्धोधन नामको उन्नत जातको धान विकास गरेको थियो तर यसबारे किसानलाई पर्याप्त जानकारी नभएको बताइन्छ। पुरानो रैथाने बिउ संरक्षणमा नार्कले विशेष ध्यान दिनुपर्ने किसान महासंघका सचिव त्रिपाठीको भनाइ छ। ‘अहिले पुरानै कालानमक लोप भइसकेको हो कि जस्तो छ, यसलाई जोगाउन नार्कले चासो दिनुपर्छ’, उनले भने। जिल्लामा करिब ६५ हजार पाँच सय हेक्टरमा धान खेती हुँदै आएको छ।
संरक्षणका लागि ११ लाख ६० हजार बजेट कालानमक धानको संरक्षण र प्रवर्धनका लागि कृषि ज्ञान केन्द्रले दुईवटा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। केन्द्रले धान उत्पादन प्रवर्धन कार्यक्रम र क्षेत्रफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम ल्याएको हो।
धान उत्पादन प्रवर्धन कार्यक्रम कपिलवस्तु नगरपालिकाभित्र सञ्चालन गरिनेछ। यसका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त कार्यक्रमअन्तर्गत धान उत्पादन, प्रशोधन तथा बजारीकरणसम्बन्धी गतिविधि सञ्चालन गरिने केन्द्रले जनाएको छ।
त्यस्तै क्षेत्रफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत २२ हेक्टर खेतीका लागि प्रतिहेक्टर ३० हजार रुपैयाँका दरले कुल ६ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ। यो कार्यक्रम जिल्लाभर लागु गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ।
प्रकाशित: ९ मंसिर २०८३ ११:५८ बुधबार