नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ ।
पोखराले तेस्रो संस्करणको एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रो बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौ विदेशी खेलाडी हुन् ।
पोखराले यसअघि नै बंगलादेशका अलराउण्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ । यस्तै श्रीलंका अलराउण्डरद्वय धनन्जय लक्षण र चामिका करुणारत्नेलाई पनि अनुबन्ध गरेको छ ।
नेपाली मिडियम पेसर आकाश चन्दसँगै सैफुद्दिन र चामिका करुणारत्नेले पेस बलिङ डिपार्टमेन्ट सम्हाल्नेछन् ।
२९ वर्षीय सैफुद्दिनले बंगलादेशका लागि ३० ओडिआई र ५१ टी२०आई खेल खेलेका छन् । उनले ओडिआईमा ४२ र टी२०आईमा ५७ विकेट लिएका छन् । यस्तै सबैखाले टी२० मा १५२ खेल खेल्दै १९३ विकेट लिएका छन् ।
सैफुद्दिनले बंगलादेशको यू१९ टिम र राष्ट्रिय टिमसँगै बंगलादेशको पाँच फरक फ्रेन्चाइज टिमबाट त्यहाँको लिग खेलिसकेका छन् ।
पोखरा एभेन्जर्स श्रीलंकाकै पूर्वस्टार स्पिनर अजन्था मेन्डिसको प्रशिक्षणमा उत्रदैं छ । पोखराले यसपटक मुख्य प्रशिक्षक देखि विदेशी खेलाडीहरुमा पनि परिवर्तन गरेको छ । श्रीलंकन धननज्य लक्षणलाई मात्र पोखराले तेस्रो सिजनमा निरन्तरता दिएको छ ।