उत्पादन लागत बढ्दै गए पनि तीन वर्षदेखि दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँमै सीमित रहेको भन्दै किसानले मंसिर १० गतेभित्र मूल्य समायोजन नभए सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
नवलपुर — पूर्वी नवलपरासीका दूध उत्पादन गर्ने किसानले तत्काल मूल्य बढाउन माग गरेका छन् । पटक-पटक मूल्य बढाउन माग गरे पनि सरकारले बेवास्ता गरेको भन्दै किसानले माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । दूध उत्पादन गर्ने किसानको बढ्दो लागत, घट्दो आम्दानी र राज्यको बेवास्ताप्रति असन्तुष्टि जनाउँदै किसानले आन्दोलनको तयारी गरेका हुन् ।
नवलपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा दूधको मूल्य समायोजन नगरे कडा आन्दोलनमा उत्रिने नवलपुर दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रुद्रप्रसाद सुवेदीले बताए । दूध उत्पादनका लागि आवश्यक पशु आहार, चोकर, दाना तथा अन्य कच्चा पदार्थको मूल्य निरन्तर बढिरहेको भए पनि तीन वर्षदेखि प्रतिलिटर ६५ रुपैयाँमा मूल्य रहेको उनले गुनासो गरे ।
जिल्लाबाट दैनिक करिब ६० हजार लिटर दूध काठमाडौं र पोखरालगायतका बजारमा बिक्री हुने गर्दछ भने जिल्लामै ३० हजार लिटर दूध खपत हुने गरेको छ । मंसिर १० गतेभित्र मूल्य समायोजन नभएमा सडक आन्दोलनमा उत्रने किसानहरूको चेतावनी छ ।
नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।