Trending
Prev Story
Next Story

नौमतीको तालमा सरायको रौनक

Ekantipur •
October 23, 2026 • 06:00 AM
1
1 reads 0 reactions

अघिपछि सुनसान हुने ग्रामीण क्षेत्रहरू दसैँका अवसरमा हुने सराय नाचले गुञ्जायमान बनेका छन्। एकादशीदेखि पूर्णिमासम्म फरक–फरक ठाउँमा देखाइने नाच भेटघाट र व्यापारको गतिलो माध्यमसमेत बनेको छ।

नौमतीको तालमा सरायको रौनक

अघिपछि सुनसान हुने ग्रामीण क्षेत्रहरू दसैँका अवसरमा हुने सराय नाचले गुञ्जायमान बनेका छन्। एकादशीदेखि पूर्णिमासम्म फरक–फरक ठाउँमा देखाइने नाच भेटघाट र व्यापारको गतिलो माध्यमसमेत बनेको छ।

गुल्मी — दसैँमा पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र बागलुङको रौनक बेग्लै हुन्छ। बडादसैँको टीका तथा जमरा लगाएपछि कोजाग्रत पूर्णिमासम्म शक्तिपीठ तथा ऐतिहासिक गढी र किल्लाहरूमा नौमती बाजाको तालमा सराय नाचिन्छ।

नौमती बाजासँगै मन्दिरभित्र रहेका खुकुरी, तरबार, खुँडा, खड्ग र लट्ठी हातमा लिएर नचाउँदै, घुमाउँदै र एकआपसमा ठोक्काउँदै गोलो घेरामा नाचिने सराय नाचले दसैँको वास्तविक अनुभूति दिलाइरहेको हुन्छ।

यो नाचमा ‘नौ दुर्गा देवी हो... ओ... वाख्खै, रक्षा गर हो... ओ... वा वाख्खै, दसैँको बेला हो... ओ... वाख्खै, खेल भाइ हो हो... ओ... वा वाख्खै, बाँचे आइसल हो... ओ... वाख्खै...’ भनेर भट्याउने पनि गरिन्छ।

सरायको सुरुवात वि.सं. १८१४ मा बुटवलको जितगढी किल्लामा भएको युद्धमा पाल्पाको नुवाकोट गढीबाट कर्णेल उजिरसिंह थापाको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज सेनालाई हराएको खुसीयालीमा भएको इतिहासविद्हरू बताउँछन्। त्यसबेला हातहतियारसहित नाचगान गरिएको थियो। बाइसे–चौबिसे राज्यको एकीकरणका क्रममा पनि जित्ने पक्षले खुसीयाली मनाउँदा सराय नाच व्यापक बन्दै गएको इतिहासमा भेटिन्छ।

यस क्रममा गुल्मीको अर्जै, धुर्कोट, चोयगा, मुसिकोट, इस्मा, पौदीअमराई, धागिथुम र मुसिकोटमा सराय नाच सुरु भएको यसका खोजकर्ता मदाने गाउँपालिका–७ का विष्णु घर्तीले बताए। उनका अनुसार गुल्मीका ५० भन्दा बढी स्थानका साथै अर्घाखाँची, पाल्पा, प्युठान, बागलुङ र कपिलवस्तुमा समेत सराय नाच्ने गरिन्छ।

‘सराय अर्घाकोट र खाँचीबाट सुरु भएको पाइन्छ,’ उनले भने, ‘बसाइँसराइसँगै सराय विभिन्न ठाउँमा सरेको छ।’ अहिले सराय नाच काठमाडौंमा पनि हुन थालेको छ। नेपालीको बाहुल्यता रहेका विदेशी सहरमा पनि सराय नाच्न थालिएको छ।

गुल्मीको मालिका गाउँपालिका–६, अर्जैमा दसैँ पूर्णिमाको दिन लाग्ने सराय नाच प्रसिद्ध छ। कालिका मन्दिरबाट सराय निकाल्ने गरिएको स्थानीय अगुवा शेरबहादुर केसीले बताए। गुल्मी पश्चिमकै प्रसिद्ध सराय नाच हेर्न पूर्णिमाका अवसरमा अर्जैमा ठूलो भीड लाग्ने गर्छ। अर्जैको सराय नाच दसौँ हजारले एकै दिन अवलोकन गर्ने गरेको स्थानीय बताउँछन्। सराय नाच पछिल्लो समय दसैँ मनाउन गाउँ फर्किएकाहरूका लागि भेटघाट गर्ने माध्यमसमेत बनेको छ। पूर्णिमाको दिन अर्जैमा सराय नाचिन्छ।

सोही ठाउँका अर्का स्थानीय अगुवा शिवलाल ज्ञवालीले अर्जैमा श्रीकृष्ण ज्ञवालीले झन्डै एक शताब्दीअघि सुरु गरेको दसैँ सराय नाच उनकै परिवारको अगुवाइमा सञ्चालन भइरहेको बताए। ‘अर्जैको सराय भनेपछि निकै प्रचलित छ,’ उनले भने, ‘थेग्नै नसक्ने भीडका साथ दसैँको सराय नाच हुने गर्छ।’

छत्रकोट गाउँपालिका–३, चोयगामा पनि दसैँ पूर्णिमाको दिन भव्य सराय नाच हुन्छ। गुल्मीका अर्जै, चोयगा, धुर्कोट, चारपाला दरबार, जोगिथुम, धागिथुम, मुसिकोट, इस्मा मैदान, दर्लामचौर, हस्तिचौर, राङ्दाल, ताल्तुङ, मदाने, तिखेचुली रोल्म, घमिर, अर्खबाङ, ह्वाङ्दी, दर्लिङ, नेटा, छाप र हिलेलगायत स्थानमा दसैँको टीकाको भोलिपल्ट अर्थात् एकादशीदेखि पूर्णिमासम्म सराय नाच हुने गर्छ।

अर्घाखाँचीका अर्घा, रागामारे, खाँचीकोट, चौडिला र अर्घातोषमा सराय नाचिन्छ। पाल्पाका मुझुङ, कोटबासपानी, लिपिन्देवी, भारकोट र ख्याहामा सराय नाच हुन्छ। प्युठानका बिजुवार, गढीकोट, रजवारा, बाङ्गे, मच्छी, तुसाराकोट, पौवा, बाहाने, मार्के, सेउलवाङ र खर्वाङमा पनि सराय नाच्ने गरिन्छ। बागलुङका गुल्मेली सिमाना र कपिलवस्तुको पथ्थरकोटमा समेत सराय नाच्ने चलन छ।

दसैँको अवसरमा छिम्ले खेल्ने, तुरी खेल्ने, गोलो घेरामा नाच्ने, भट्याउने र पट्टा खेल्ने गरिन्छ। सरायसम्बन्धी इतिहासका खोजकर्ता मदाने गाउँपालिका–७ का विष्णु घर्तीका अनुसार तत्कालीन समयमा युद्ध जितेपछि लडाकुहरूले ‘सर गरी आएँ’ भनेकाले ‘सर आएँ’ भन्ने शब्दबाट सराय वा सराएँ शब्द स्थापित भएको अध्ययनका क्रममा भेटिएको छ।

‘दसैँसहित सराय नाच हाम्रो संस्कार र संस्कृति हो,’ उनले भने, ‘बडादसैँको अभिन्न अंग सराय हो। यसको संरक्षणले हाम्रै पहिचान स्थापित गर्छ।’ उनले सरायलाई ‘सराय सप्ताह’ पनि भन्न मिल्ने बताए। उनका अनुसार नवमीदेखि पूर्णिमासम्म विभिन्न ठाउँमा सराय नाचिन्छ। घर्ती पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्।

अघिपछि सुनसान हुने ग्रामीण क्षेत्रहरू दसैँका अवसरमा हुने सराय नाचले गुञ्जायमान बनेका छन्। एकादशीदेखि पूर्णिमासम्म फरक–फरक ठाउँमा देखाइने सराय नाच गाउँ गुञ्जायमान बनाउँदै भेटघाट र व्यापारको गतिलो माध्यमसमेत बनेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

२६ कात्तिक, प्युठान । ढोल–मादलको तालमा तरबार उचाल्दै गाउँलेहरू ‘वाख्यै... वाख्यै...’ भन्दै नाचिरहेका थिए । कसैको गलामा फूलको माला थियो, कसैको हातमा तरबार । भाइटीकाको भोलिपल्ट प्यूठान नगरपालिका–७, पुण्यखोलामा देखिएको यो दृश्य पुस्तौँ पुरानो ‘डल्ले सराय …

#सराय
Compare →

Related Stories

National (Nepal)
Build #2611