मंसिर मसान्तभित्र नेप्सेमा १ करोड भन्दा बढी कित्ता सेयर थपिने भएको छ । सूचीकृत ५ कम्पनीका सेयरमा विभिन्न पक्षको लकइन अवधि सकिने भएसँगै १ करोड २१ लाख २७ हजार ७३५ कित्ता सेयर बजारमा आउने भएको हो ।
कम्पनीहरुले आईपीओ जारी गर्दा सामूहिक लगानी कोष, संस्थापक, कर्मचारी तथा प्रभावित स्थानीयका लागि छुट्याइएको सेयरको लकइन अवधिम मंसिर महिनामा सकिने भएको छ । लकइन सकिएसँगै उक्त सेयर दोस्रो बजारमा खरिद बिक्रीका लागि खुला हुने छ । यसरी बजारमा आपूर्ती बढ्दा सेयरको मूल्य थप घट्ने जोखिम समेत हुन्छ । लकइन अवधि सकिनुभन्दा १ महिना अगाडि सार्वजनिक सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्थाअनुरुप कम्पनीहरुले कात्तिक महिनामा नै लकइन अवधि सकिने सूचना जारी गरिसकेको छन् ।
मंसिर मसान्तभित्र विभिन्न पक्षले होल्ड गरेको सेयरमा लकइन अवधि सकिने ५ कम्पनीमा स्नो रिभर्स, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी, कालंगा हाइड्रोपावर र सानीगढ हाइड्रो रहेका छन् । सेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले सामुहिक लगानी कोषका हकमा ६ महिना, स्थानीय तथा संस्थाकका हकमा ३ वर्षसम्म सेयरमा लकइन रहने व्यवस्था रहेको छ ।
कुन कम्पनीको कति सेयर आउँदैछ बजारमा ?
मंसिर मनिामा लकइनमा रहेको सेयरको समय सकिने कम्पनीमा स्नो रिभर्सको ४६ हजार ८७५ कित्ता सेयर रहेको छ । यो कम्पनीको म्युचुअल फन्डले होल्डिङ गरेको सेयर मंसिर ११ गते लकइन अवधि सकिँदैछ । त्यस्तै मुक्तिनाथ कृषि कम्पनीको ६० लाख ९३ हजार ३६० कित्ता सेयरको लकइन पनि मंसिर महिनामा नै सकिदैन । जसमा संस्थापकले होल्ड गरेको ६० लाख ४८ हजार कित्ता तथा कर्मचारीको ४५ हजार ३६० कित्ता रहेको छ । यो सेयरको लकइन मंसिर १८ गते सकिदैछ ।
मंसिर महिनामा लकइन सकिएर नेपाल वेयरहाउजिङ कम्पनीको ५५ लाख २७ हजार ५०० कित्ता सेयर बजारमा आउँदैछ । जसमध्ये संस्थापकको ५५ लाख र कर्मचारीका लागि छुट्याएको २७ हजार ५०० कित्ता सेयरको मंसिर १९ गते लकइन सकिँदैछ । मंसिर महिनामा नै कालंगा हाइड्रोपावरको १ लाख ७५ हजार कित्ता सेयरको लकइन अवधि पनि सकिदैछ । कम्पनीको म्युचुअल फन्डले होल्ड गरेको उक्त सेयरको लकइन मंसिर २६ गते सकिदैछ । त्यस्तै सानीगढ हाइड्रोको २ लाख ८५ हजार कित्ता सेयरको लकइन अवधि मंसिर २९ गतेमा सकिदैछ । उक्त सेयर म्युचुअल फन्डकोको होल्डमा रहेको थियो ।