हेटौंडा र भीमफेदीबाट दुई–दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ४ किलो १३० ग्राम गाँजा बरामद गरेको छ ।
मकवानपुरमा लागुऔषध गाँजासहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–९ कुखरेनीबाट दुई जना र भीमफेदी गाउँपालिका–१ टौबास कोलनीबाट दुई जनालाई पक्राउ गरेको हो ।
हेटौंडा–९ बाट बा.प्र.०२–०५० प ६१३२ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा–१३ का २१ वर्षीय जोसु तामाङ र हेटौंडा–१४ का २३ वर्षीय अमन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट ९२० ग्राम गाँजाको धुलोजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, भीमफेदी–१ टौबास कोलनीबाट बा.प्र.०२–०५७ प ०७६३ नम्बरको मोटरसाइकलमा सवार धादिङको गजुरी गाउँपालिका–८ का २१ वर्षीय अमिर तामाङ र १९ वर्षीय समर बल पक्राउ परेका छन् । उनीहरूको साथबाट ३ किलो २१० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
दुवै स्थानबाट गरी प्रहरीले ४ किलो १३० ग्राम लागूऔषध बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।