१२ वर्षदेखि नेपालले उठाउँदै आएको मागमा राजनीतिक सहमति जुटे पनि आईकाओ प्रक्रिया र प्राविधिक अध्ययनपछि मात्र रुट औपचारिक सञ्चालनमा आउनेछ ।
काठमाडौं — नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणपछि सोमबार जारी संयुक्त प्रेस विज्ञप्तिको बुँदा नम्बर ८ मा उक्त रुटलाई दुईतर्फी बनाउने उल्लेख छ । तर यसको कार्यान्वयनका लागि आवश्यक प्राविधिक अध्ययन र प्रक्रिया भने अझै पूरा हुन बाँकी छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शाहबीच भएको वार्तापछि जारी वक्तव्यमा हाल एकतर्फी रहेको ब्रोभो–३४५ (काठमाडौं–भैरहवा–लखनउ) हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको उल्लेख छ । यसका लागि प्राविधिक परामर्शमार्फत कार्यान्वयनको मोडालिटी टुंग्याइने र दुवै देशका छलफलमा रहेका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई पनि सम्बोधन गरिने जनाइएको छ ।
भैरहवा प्राप्त गर्नु भनेको ब्रेकथ्रु हो । यो ठूलो चिज हो । १२ वर्षदेखि नेपाल लडिरहेको विषय हो । भैरहवा पाउनेबित्तिकै भारत, खाडी र पश्चिम एसियाहुँदै आउने जहाजले त्यही बिन्दुबाट पोखरा जान पनि मिल्यो, लुम्बिनी जान पनि मिल्यो । -पर्यटनमन्त्री खडकराज पौडेल संयुक्त वक्तव्यको यो बुँदालाई नागरिक उड्डयन तथा पर्यटनमन्त्री खडकराज पौडेलले ऐतिहासिक र उपलब्धिमूलक उपलब्धिका रूपमा व्याख्या गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका केही उच्च अधिकारीहरूले पनि यसलाई नेपालको हवाई सम्पर्क विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि मानेका छन् । यद्यपि, प्राविधिक तहमा भने रुटको उचाइ, सञ्चालन प्रक्रिया र अन्य प्रस्तावित हवाई मार्गबारे छलफल जारी रहनेछ ।
पर्यटनमन्त्री पौडेलले कान्तिपुरसँग नयाँदिल्लीबाट कुरा गर्दै भैरहवाका लागि हवाई रुट प्राप्त हुनु ठूलो उपलब्धि भएको बताए । उनका अनुसार लामो समयदेखि नेपालले उठाउँदै आएको यो विषयमा सहमति जुट्नुले भैरहवा मात्र नभई पोखराको पर्यटन विकासलाई समेत सहयोग पुग्नेछ । ‘भैरहवा प्राप्त गर्नु भनेको ब्रेकथ्रु हो । यो ठूलो चिज हो । १२ वर्षदेखि नेपाल लडिरहेको विषय हो । भैरहवा पाउनेबित्तिकै भारत, खाडी र पश्चिम एसियाहुँदै आउने जहाजले त्यही बिन्दुबाट पोखरा जान पनि मिल्यो, लुम्बिनी जान पनि मिल्यो,’ मन्त्री पौडेलले भने ।
उनले प्रधानमन्त्रीस्तरमा सहमति भइसकेपछि प्राविधिक तहबाट यसलाई कार्यान्वयनमा लैजान सहज हुने विश्वास व्यक्त गरे । नेपालले प्रस्ताव गरेका र भारतले उठाएका अन्य हवाई रुटका विषय भने दुवै देशका प्राविधिक टोलीले अध्ययन गरेर टुंग्याउने उनको भनाइ छ । मन्त्री पौडेलले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई ऐतिहासिक रूपमा सफल भएको दाबी गर्दै भ्रमणका क्रममा नेपालले आफ्नो हितका विषय अघि बढाउन सकेको पनि बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले पनि काठमाडौं–भैरहवा–लखनउ रुट दुईतर्फी हुँदा नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा सकारात्मक प्रभाव पर्ने बताए । उनका अनुसार यसले विशेषगरी पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न सहयोग पुर्याउनेछ । उनले यसलाई पूर्ण उपलब्धि मान्न सकिने र प्राविधिक तहमा रुटको सञ्चालनसम्बन्धी विषय अझै टुंगिनुपर्ने बताए । उनका अनुसार प्रस्तावित रुट कार्यान्वयनमा आए भैरहवा र पोखराका लागि हवाई सम्पर्क सहज हुनेछ ।
तर, संयुक्त वक्तव्यमा उल्लेख भएको सहमतिले सबै हवाई रुटसम्बन्धी विवाद र प्रस्ताव टुंगिएको भने होइन । नेपाल र भारतका प्राविधिक तहका बैठकबारे जानकार एक अधिकारीका अनुसार अहिलेको सहमति विशेषगरी भैरहवामाथिको आकाश हुँदै काठमाडौंबाट उडेर निस्किने जहाजको हवाई रुटलाई दुईतर्फी बनाउने विषयमा केन्द्रित छ । यसको प्राविधिक मूल्यांकनपछि आवश्यक प्रक्रिया पूरा गरी रुटलाई अन्तर्राष्ट्रिय रूपमा प्रकाशन गर्नुपर्ने हुन्छ ।
उनका अनुसार प्राविधिक अध्ययनपछि रुटको विवरण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को प्रक्रियामा पठाउनुपर्ने र त्यसपछि एआईपीमा प्रकाशित भएपछि मात्र औपचारिक सञ्चालनको प्रक्रिया अघि बढ्छ । नेपाल र भारतबीच हवाई रुटसम्बन्धी छलफल लामो समयदेखि जारी छ । यसपटकको सहमतिसम्म आइपुग्न विभिन्न चरणमा प्राविधिक तथा कूटनीतिक वार्ता भएका थिए ।
प्राविधिक छलफलमा सहभागी एक अधिकारीका अनुसार ३० सेप्टेमबर २०२५ मा नयाँदिल्लीमा भएको पहिलो बैठकमा बागडोगरा हवाई रुटको विषय भारतले पहिलोपटक उठाएको थियो । बागडोगरा भारतको सैनिक हवाई अड्डासमेत भएकाले त्यससम्बन्धी प्रस्तावलाई नेपालले तत्काल स्वीकार गरेको थिएन । भारतीय अधिकारीहरूले राखेको प्रस्तावलाई नोटका रूपमा लिएर नेपाली टोली फर्किएको थियो ।
त्यसपछि गत २७ कात्तिकमा भारतमै दुवै देशका प्राविधिक टोलीबीच अर्को बैठक भएको थियो । उक्त बैठकमा महेन्द्रनगरबाट निस्किने लिमा–६२६ हवाई रुटलाई दुईतर्फी बनाउनेलगायत विभिन्न हवाई रुट र उडान सञ्चालनसम्बन्धी विषयमा छलफल भएको थियो । त्यसपछि गत बुधबार दुवै देशका प्राविधिक प्रतिनिधिबीच जुममार्फत पुनः बैठक बसेको थियो । तर उक्त बैठकले सबै विषयमा निष्कर्ष निकाल्न सकेको थिएन ।
प्राविधिक अधिकारीका अनुसार यसअघि नेपालले काठमाडौं, भैरहवा र नेपालगन्जसँग सम्बन्धित हवाई रुटका विषय उठाउँदै आएको छ । भारतले भने आफ्ना केही हवाई रुट तथा पूर्वी नेपालको हवाई क्षेत्र प्रयोगसम्बन्धी प्रस्ताव पनि अघि सारेको थियो । संयुक्त वक्तव्यको आठौं बुँदामा भैरहवाको रुटलाई दुईतर्फी बनाउने विषय स्पष्ट रूपमा उल्लेख भए पनि दुवै देशका अन्य नागरिक उड्डयन प्रस्ताव भने छलफलमै रहने भाषा प्रयोग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षले विद्यमान एकतर्फी काठमाडौं–भैरहवा–लखनउ रुटलाई दुईतर्फी बनाउने सहमति गरेका छन् । यससम्बन्धी कार्यान्वयनको मोडालिटी टुंग्याउन प्राविधिक परामर्श गरिनेछ र दुवै पक्षका अन्य छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी प्रस्तावलाई पनि सम्बोधन गरिनेछ ।’ अधिकारीहरूले यसको अर्थ भैरहवाका लागि रुट दुईतर्फी बनाउने विषयमा राजनीतिक तहमा सहमति जुटे पनि अन्य प्रस्तावको हकमा थप प्राविधिक तथा कूटनीतिक छलफल आवश्यक रहेको बताएका छन् ।
अधिकारीहरूका अनुसार भारतले बागडोगरासम्बन्धी विषयलाई अघि सारेको छ । नेपालले भने आफ्नो राष्ट्रिय हित र हवाई सम्पर्क विस्तारलाई प्राथमिकतामा राख्दै प्रस्तावहरूको मूल्यांकन गर्नुपर्ने अडान राख्दै आएको छ । नेपालका लागि रणनीतिक महत्त्व राख्ने महेन्द्रनगरमाथि भएर दिल्ली जोड्ने लिमा–६२६ हवाई रुटको विषयमा पनि यसपटकको वार्तामा छलफल भएको थियो । उक्त रुटमा उडानको उचाइसम्बन्धी विषय प्रमुख विवादका रूपमा रहेको अधिकारीहरूले बताएका छन् ।
नेपालले विभिन्न उचाइमा उडान गर्न पाउने गरी लचिलो व्यवस्था माग गर्दै आएको छ । भारतीय पक्षले भने मुख्यतः ३९ हजार फिटको उचाइमा उडान गर्न सकिने प्रस्ताव अघि सारेको छ । तर नेपालका प्राविधिक अधिकारीहरूले ३९ हजार फिटमा मात्र सीमित हुँदा सबै प्रकारका विमान र उडान सञ्चालनका लागि पर्याप्त लचकता नहुने तर्क गर्दै ३९ हजारभन्दा कम ३० हजार फिट उचाइमा समेत उडानको सुविधा आवश्यक रहेको अडान राख्दै आइरहेका छन् ।
विशेषगरी पश्चिम नेपालबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानलाई भैरहवा, पोखरा तथा काठमाडौंसम्म सहज रूपमा ल्याउन विभिन्न उडान उचाइ उपलब्ध हुनुपर्ने नेपालको माग यथावत् छ । लिमा–६२६ लगायतका विषयमा यसपटक अन्तिम सहमति हुन नसकेको र संयुक्त प्राविधिक टोलीमार्फत छलफललाई निरन्तरता दिने समझदारी भएको पर्यटनमन्त्री पौडेलले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानस्थल प्राधिकरणका प्राविधिक टोलीले अब रुटको संरचना, उडानको उचाइ, हवाई ट्राफिक व्यवस्थापन तथा सञ्चालनका प्राविधिक पक्षबारे थप काम गर्नुपर्नेछ । विशेषगरी पश्चिमबाट आउने विमानलाई काठमाडौं वा अन्य मार्ग सिमराबाट घुमेर काठमाडौं, भैरहवा र पोखरा आउनुपर्ने अवस्था कम गर्न सके उडान दूरी र समय घट्न सक्ने, यात्रुले सस्तो हवाई भाडा पाउनेलगायतका लाभ छन् ।
सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।