लोपोन्मुख राउटे समुदायले आफ्नो परम्परागत सीप, कला, भाषा, संस्कृति र मौलिक पहिचान संरक्षणका लागि सरकारसँग विशेष पहल गर्न माग गरेको छ।
सोमबार कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गर्दै राउटे समुदायका प्रतिनिधिहरूले आफ्नो परम्परागत जीवनशैली र सांस्कृतिक पहिचान जोगाउन राज्यको सहयोग आवश्यक रहेको बताएका हुन्।
भेटमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक मन्त्री सीता वादीसमेत सहभागी थिए।
छलफलका क्रममा राउटे समुदायको परम्परागत काष्ठकला तथा हस्तकलाको प्रवर्द्धन, भाषा र संस्कृतिको संरक्षण, सामाजिक सुरक्षाको व्यवस्था र दिगो आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने विषय उठाइएको थियो।
कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले राउटे समुदायको मौलिक पहिचान र परम्परागत सीप संरक्षण गर्नु राज्यको दायित्व भएको बताए। यसका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै उनले स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी समुदायको सीपलाई आयआर्जनसँग जोड्नुपर्ने धारणा राखे।
उनले राउटे समुदायको भाषा तथा कलाको संरक्षण र आवश्यक सामाजिक सुरक्षाको प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए। साथै, यससम्बन्धी आवश्यक समन्वय र व्यवस्था मिलाउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक मन्त्री सीता वादीलाई निर्देशनसमेत दिएका छन्।
प्रकाशित: ७ मंसिर २०८३ १७:५७ सोमबार