काठमाण्डौ । दशैंतिहारपछि सेयर बजारले गति लिने अपेक्षामा बसेका लगानीकर्ताहरूको प्रतीक्षा अझै लम्बिएको छ । चाडपर्व सकिएसँगै बजारमा कारोबार बढ्ने, खरिद चाप सिर्जना हुने र नेप्से परिसूचकले सकारात्मक लय समात्ने अपेक्षा गरिएको थियो। तर, बजारको पछिल्लो अवस्था र लगानीकर्ताको मनोविज्ञान हेर्दा अपेक्षाअनुसार सुधारको सङ्केत देखिएको छैन ।
पूँजीबजार सुधारका नाममा दर्जनौँ नीतिगत व्यवस्था गरिए पनि ती व्यवस्थाले लगानीकर्ताको गुमेको आत्मविश्वास फर्काउन सकेका छैनन्। बजारमा पर्याप्त उत्साह नदेखिँदा तिहारयता दैनिक कारोबार रकमसमेत अधिकांश समय ३ देखि ४ अर्ब रुपैयाँकै आसपास सीमित हुँदै आएको छ ।
नीतिगत सुधारका प्रयास एकातिर र लगानीकर्ताको कमजोर मनोबल अर्कोतिर देखिँदा सेयर बजारले अपेक्षित गति लिन नसकेको अवस्था छ।
बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत सोमबार बानेश्वर र अनामनगर आसपासका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरिएको थियो ।
स्थलगत रिपोर्टिङका क्रममा केही ब्रोकर हाउस लगभग सुनसान देखिए। केहीमा लगानीकर्ताको उपस्थिति भए पनि सेयर बजारको कारोबार, कम्पनीहरूको वित्तीय अवस्था र आगामी बजारको दिशाभन्दा अन्य विषयमा गफगाफ बढी भइरहेको पाइयो ।
ब्रोकर हाउसमा देखिएको यस्तो दृश्यले बजारप्रति लगानीकर्ताको उत्साह अझै कमजोर रहेको सङ्केत गरेको छ ।
सामान्यतया बजारमा उत्साह बढ्दा ब्रोकर हाउसमा लगानीकर्ताको चहलपहल बढ्ने, कम्पनीहरूको अवस्था र सेयर खरिदबिक्रीका विषयमा छलफल चल्ने गर्छ । तर, सोमबारको स्थलगत अवलोकनमा त्यस्तो वातावरण खासै देखिएन ।
सर्वप्रथम हामी बानेश्वरस्थित नागरिक स्टक डिलरमा पुग्यौं । सधैं लगानीकर्ताको बाक्लो उपस्थिति रहने उक्त ब्रोकर हाउसमा आज भने लगानीकर्ताको चहलपहल सामान्य मात्र थियो ।
हामी पुग्दा नेप्से परिसूचक सामान्य अंकले घटिसकेको थियो । तर, त्यहाँ उपस्थित लगानीकर्ताहरुको ध्यान सेयरबजारभन्दा अन्य विषयतर्फ बढी केन्द्रित देखिन्थ्यो । अगाडिपट्टि बसेका दुई लगानीकर्ता बजारले अपेक्षाअनुसार गति लिन नसकेको भन्दै गुनासो पोखिरहेका थिए ।
एक लगानीकर्ताले भने, ‘राजनीतिक अस्थिरताका कारण बजारमा अझै अन्योलता कायम छ । जसका कारण लगानीकर्ताको कन्फिडेन्स अझै बलियो हुन सकेको छैन ।’
अर्कोतर्फ बसेका केही महिला लगानीकर्ता भने विभिन्न कम्पनीका सेयरबारे छलफल गरिरहेका थिए । उनीहरु विशेषगरी लाभांश घोषणा गरिसकेका र बुक क्लोज हुन बाँकी रहेका कम्पनीहरुको विषयमा चर्चा गर्दै थिए ।
सोही ब्रोकर हाउसको कम्पाउन्डमा केही लगानीकर्ता घाम ताप्दै बजारको पछिल्लो अवस्थाबारे गफिइरहेका थिए । उनीहरुको कुराकानीमा बजारप्रतिको निराशा र थप गिरावटको त्रास स्पष्ट झल्किन्थ्यो ।
‘अब आज पनि बजार घट्यो भने त बियरिस ट्रेन्डमा जान्छ,’ एक लगानीकर्ताले भने, ‘यही गति हो भने बजार बिस्तारै २५ सयको विन्दुमा नझर्ला भन्न सकिन्न ।’
कोही लुडो खेल्दै कोही लाभांश खोज्दै, पूँजीगत लाभको आशा मर्दै !
नागरिक स्टक डिलरमा देखिएको यो दृश्यले लगानीकर्ताको कमजोर मनोबल र बजारप्रतिको घट्दो विश्वासलाई संकेत गरिरहेको थियो । चाडपर्वपछि बजारले गति लिने अपेक्षामा बसेका लगानीकर्ता अहिले उल्टै थप गिरावटको आशंकामा देखिन्थे ।
दोस्रोमा हामी अनामनगरस्थित इम्पेरियल सेक्युरिटिज (ब्रोकर नम्बर ४५) मा पुग्यौं । बजारमा ठूलो उतारचढाव थिएन । नेप्से परिसूचक सामान्य अंकले घटिरहेको थियो । तर, ब्रोकर हाउसको दृश्य भने केही फरक देखिन्थ्यो ।
त्यहाँ पुग्दा केही लगानीकर्ता आ–आफ्नै मोबाइलमा व्यस्त थिए भने केही लगानीकर्ता ‘लुडो’ खेलेर समय कटाइरहेका थिए । सेयरबजारको पछिल्लो अवस्थाबारे गम्भीर छलफल हुनुपर्ने ठाउँमा लगानीकर्ताहरु भोजभतेरमा जाने योजनासमेत बनाइरहेका थिए । बजारप्रतिको घट्दो उत्साहको झल्को त्यहाँको माहोलले दिइरहेको थियो ।
केहीबेरपछि एक लगानीकर्ताले बुक क्लोज हुन बाँकी रहेका कम्पनीहरुको विषयमा अरुसँग जानकारी लिन थाले । बजारबाट पूँजीगत लाभ आर्जन गर्ने सम्भावना कमजोर देखेपछि उनी लाभांश दिने कम्पनीतर्फ आकर्षित भएको बताउँदै थिए ।
‘अब सेयरबजारबाट क्यापिटल गेन लिन सकिएन । लाभांश दिन लागेका कम्पनीको सेयर किनेरै भए पनि केही प्रतिशत रिटर्न लिने सोचमा छु,’ ती लगानीकर्ताले भने, ‘सेयरबजारमा पहिलाको जस्तो माहोल छैन । सेयरमूल्य पनि नबढ्ने र कम्पनीहरुले भनेजस्तो लाभांश पनि नदिने हो भने लगानीकर्ताले आफ्नो लगानी कसरी उठाउने ?’
उनको गुनासोले बजारमा देखिएको एउटा फरक प्रवृत्तिलाई संकेत गथ्र्यो । मूल्य बढेर नाफा कमाउने आशा कमजोर हुँदै गएपछि केही लगानीकर्ता लाभांशबाटै भए पनि प्रतिफल सुरक्षित गर्ने रणनीतिमा देखिन्थे ।
उनीसँगै बसेका अर्का लगानीकर्ताले एनआईसी एशिया बैंकको हकप्रद सेयरको विषय उठाए । उक्त बैंकमा लगानी गरेर ठूलो घाटा व्यहोर्नुपरेको भन्दै उनले आफ्नो पीडा सुनाए ।
‘एनआईसीमा उहिल्यै लगानी गरेको तर कति धेरै घाटा खानुप¥यो,’ उनले भने, ‘अब ५० प्रतिशत हकप्रदबाटै भए पनि केही लगानी त उठाउनैप¥यो ।’
त्यसैक्रममा अर्का एक लगानीकर्ता भने आगामी दिनमा सिमेन्ट कम्पनीहरुको सेयरमूल्य बढ्न सक्ने आकलन सुनाइरहेका थिए । बजार समग्रमा सुस्त भए पनि निश्चित क्षेत्रका कम्पनीमा अवसर खोज्नुपर्ने उनको तर्क थियो ।
उत्साह फिक्का, सेयरभन्दा राजनीतिमै बढी चर्चा !
अन्तिममा हामी अनामनगरस्थित आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजमा पुग्यौं । उक्त ब्रोकर हाउसमा भने लगानीकर्ताको उपस्थिति राम्रै देखिन्थ्यो । तर, त्यहाँ उपस्थित लगानीकर्ताबीच सेयरबजारको अवस्थाभन्दा राजनीतिक विषयमा बढी बहस भइरहेको थियो ।
केही समयपछि एक पाका लगानीकर्ताले बजारमा कारोबार रकम बढ्न नसकेको भन्दै असन्तुष्टि पोखे । ‘अहिले बजारमा कारोबार नै राम्रो छैन । त्यही ३–४ अर्बमै चित्त बुझाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘अहिलेको बजारले निकै ठूलो अन्योल सिर्जना गरेको छ । हामी मात्र होइन, ठूला लगानीकर्तासमेत बजारको आगामी दिशा कता हो भन्नेमा अलमलिएका छन् ।’
उनको भनाइमा बजारमा न कारोबारको उत्साह छ, न त लगानीकर्तामा आत्मविश्वास नै । लामो समयदेखि बजारले स्पष्ट दिशा समात्न नसक्दा लगानीकर्ताहरु थप अन्योलमा परेका छन् ।
केहीबेरपछि दुई महिला लगानीकर्ता ब्रोकर हाउसमा प्रवेश गरे । उनीहरु पनि स्क्रिन बोर्डतर्फ आँखा लगाउँदै बढ्न नसकेको बजारप्रति निराशा व्यक्त गरिरहेका थिए ।
त्यसैक्रममा एक महिला लगानीकर्ता फोनमा कुराकानी गर्दै बजारले मानसिक तनाव बढाएको गुनासो गर्न थालिन् । बजारको उतारचढावले दिक्क बनाएको भन्दै उनी फोनमा साथीसँग मुड फ्रेस गर्न घुम्न जाने योजना बनाउँदै थिइन् ।
ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति बाक्लै भए पनि उनीहरुको अनुहार र कुराकानीमा बजारप्रतिको उत्साहभन्दा अन्योल र निराशा बढी झल्किन्थ्यो । सेयरबजार सुधारका लागि एकपछि अर्को नीतिगत पहल भइरहँदा पनि लगानीकर्ताको मनोबल किन उकासिन सकेको छैन भन्ने प्रश्न त्यहाँको दृश्यले समेत उठाएको थियो ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।