छानबिन प्रतिवेदनमा सडकको बनावट, क्षमताभन्दा बढी यात्रु र विद्युतीय गाडी सञ्चालनसम्बन्धी प्राविधिक ज्ञानको कमीलाई पनि कारण मानिएको छ।
हेटौंडा — हेटौंडा–भीमफेदी–कुलेखानी सडकखण्डको चिसापानीगढीमा कात्तिक २६ गते भएको विद्युतीय माइक्रोबस दुर्घटनाको मुख्य कारण चालकको थकान र अनिद्रा रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ। चालकले पर्याप्त आराम नगरी लामो समय सवारी चलाएका कारण दुर्घटना भएको समितिले ठहर गरेको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले गठन गरेको छानबिन समितिले सोमबार प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई बुझाएको ३६ पृष्ठ लामो प्रतिवेदनमा दुर्घटनाका अन्य कारण र न्यूनीकरणका उपायसमेत औंल्याएको छ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय गाडी चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेको थियो। उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।
दुर्घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले स्थलगत अध्ययन, सरोकारवालासँग छलफल र विज्ञहरूसँग परामर्श गरी प्रतिवेदन तयार पारेको हो।
प्रतिवेदनअनुसार चालक रविशंकरकुमार मण्डलले कात्तिक २५ गते साँझ ५ बजे यात्रु लिएर काठमाडौंतर्फ यात्रा सुरु गरेका थिए। उनी कात्तिक २६ गते बिहान १ बजे काठमाडौं पुगेका थिए। त्यसको एक घण्टापछि बिहान २ बजे सात बालबालिकासहित सर्लाहीका २० जना यात्रु लिएर काठमाडौंमा हेटौंडातर्फ हिँडेका थिए। बिहान पौने ६ बजे चिसापानीगढीमा गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय चालक मण्डल र सर्लाही चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १३ जना यात्रुको निधन भएको थियो ।
‘मुख्यगरी चालक थकित भएको र अनिद्राका कारण दुर्घटना भएको निष्कर्ष निकालेका छौं,’ छानबिन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘दुर्घटनास्थलको सडकको बनावट, भौगोलिक अवस्था, क्षमताभन्दा बढी यात्रु, अधिकांश यात्रु निदाएको अवस्था र विद्युतीय सवारीसाधन सञ्चालनसम्बन्धी ज्ञान तथा प्राविधिक जानकारीको कमीले पनि दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ।’
दुर्घटनाग्रस्त सडकखण्डमा सडकबत्तीको अभाव र विद्युतीय सवारीसाधनले अंग्रेजी भाषामा सूचना दिने भएकाले चालकलाई समस्या हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ। समितिले चालकलाई मात्रै दोषी देखाउनुभन्दा सडक तथा यातायातसँग जोडिएका पूर्वाधार र नियामक निकायलाई पनि जिम्मेवार बनाउनुपर्नेमा जोड दिएको छ। यातायात सञ्चालनमा टाइम कार्ड र अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने सुझावसमेत दिइएको छ।
हेटौंडा–भीमफेदी–कुलेखानी सडकमा दुर्घटना न्यूनीकरणका लागि बन्द रहेको हेटौंडा–काठमाडौं रोपवे पुनः सञ्चालनमा ल्याउनुपर्ने र भीमफेदी–कुलेखानी सुरुङ निर्माण गर्नुपर्ने सुझाव समितिले दिएको छ। चालकलाई जिम्मेवार र दक्ष बनाउन समयसमयमा तालिम दिनुपर्ने तथा विद्युतीय गाडीका चालकलाई अंग्रेजी भाषासहित प्राविधिक ज्ञान आवश्यक रहेको पनि प्रतिवेदनमा औंल्याइएको छ।
चालकले पर्याप्त आराम नगर्नु, बढी ट्रिप गरेर आम्दानी गर्न नसुतीकन सवारी चलाउनु, जोखिमयुक्त र साँघुरा घुम्ती भएको सडक तथा सडक सुरक्षा संकेतको अभावलाई पनि दुर्घटनाको कारण मानिएको छ।
विद्युतीय सवारीसाधन कुन प्रकृतिका सडकमा सञ्चालन गर्न दिने भन्नेबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने प्रतिवेदनको सुझाव छ। दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई यथाशीघ्र राहत उपलब्ध गराउन र घाइतेको उपचार राज्यले गर्नुपर्ने पनि समितिले सिफारिस गरेको छ।
दुर्घटना न्यूनीकरणका लागि चालकको विश्राम र कार्यअवधि सुनिश्चित गर्नुपर्ने, सवारी जाँच तथा चेकपोस्टमा यात्रुको संख्या कडाइका साथ अनुगमन गर्नुपर्ने र चालकको क्षमता अभिवृद्धिमा सवारीधनी तथा यातायात क्षेत्रका संघसंस्थाले ध्यान दिनुपर्ने सुझाव प्रतिवेदनमा छ। समितिले सडक दुर्घटना न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन उपायसमेत सुझाएको छ।
सात दिनको समयसीमा दिएर गठन गरिएको समितिमा प्रहरी निरीक्षक उमाशंकर गुप्ता, जिल्ला ट्राफिक कार्यालयका प्रमुख रमेश विष्ट, इन्जिनियर निरोज महत र कानुन अधिकृत अनुसुया भट्टराई सदस्य थिए।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।