७ मंसिर, काठमाडौं । कार्लोस अल्काराजले अलेक्जेन्डर जेभेरेभलाई पराजित गर्दै एटीपी फाइनल्सको उपाधि जितेका छन् । उनले फाइनलमा जेभेरेभलाई ७-६ र ६-४ को सेटमा पराजित गरे ।
वर्षको सुरुवात ग्रान्डस्लाम उपाधिबाट गरेका थिए अल्काराजले अन्त्य पनि अर्को ठूलो उपाधि जित्दै गरेका हुन्। जनवरीमा अस्ट्रेलियन ओपन जितेर करियर ग्रान्डस्लाम पूरा गरेका अल्काराजले आइतबार इटालीको टुरिनमा एटीपी फाइनल्सको उपाधि जित्दै करियरमा पहिलो पटक यस प्रतियोगिताको च्याम्पियन बने।
यस वर्ष चार महिना टेनिस कोर्टबाट बाहिर रहेका अल्काराजले चोटबाट फर्किएपछि उत्कृष्ट प्रदर्शन गर्दै सिजनको अन्त्य गरेका हुन्। नाडीको चोटका कारण उनले क्ले कोर्ट सिजनको अधिकांश समय र ग्रास कोर्ट सिजन पूरै गुमाएका थिए। अगस्टमा यूएस ओपनमार्फत पुनरागमन गरेका उनले क्वार्टरफाइनलमा बेन शेल्टनसँग पाँच सेटको प्रतिस्पर्धामा हार बेहोरेका थिए।
त्यसयता भने स्पेनिस खेलाडी अल्काराजले खेलेका २२ मध्ये २१ खेल जितेका छन्। पछिल्ला १४ खेलमा उनी अपराजित छन्। पुनरागमनपछि खेलेका पाँच प्रतियोगितामध्ये चारको उपाधि उनले जितेका छन्। भियना ओपन र पेरिस मास्टर्स जितेका उनले लगातार तेस्रो प्रतियोगितामा उपाधि उचालेका हुन्।
आइतबारको फाइनलमा उनले विश्व नम्बर एक अलेक्जेन्डर ज्वेरेभलाई सहजै पराजित गरे। टुरिनमा उनले विश्वका शीर्ष खेलाडीविरुद्ध आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिए। पछिल्ला नौ खेलमा शीर्ष १० वरियताका खेलाडीविरुद्ध अल्काराजको यो लगातार नवौँ जित हो।
यससँगै २३ वर्षीय अल्काराज चारै ग्रान्डस्लाम र सिजनको अन्त्यमा हुने एटीपी फाइनल्स जित्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्। उनी सात पटकका ग्रान्डस्लाम विजेता पनि हुन्।
अल्काराजले चोटका कारण टेनिसबाट टाढा रहनुपर्दा खेलप्रतिको आफ्नो दृष्टिकोणमा परिवर्तन आएको बताएका छन्। चोटले जित्नुभन्दा पनि स्वस्थ भएर कोर्टमा उत्रिन पाउनु महत्वपूर्ण रहेको महसुस गराएको उनको भनाइ छ।
‘चोटले मलाई वास्तवमै के महत्वपूर्ण छ भन्ने बुझायो। महत्वपूर्ण कुरा जित्नु होइन, टेनिस खेल्न पाउनु हो। स्वस्थ भएर कोर्टमा उत्रिएर प्रतिस्पर्धा गर्न पाउनु आफैँमा उपहार हो भन्ने महसुस गरेँ,’ अल्काराजले भने।
उनले पछिल्लो समय मानसिक रूपमा पनि आफू परिपक्व भएको र कोर्टमा आउने कठिन परिस्थितिलाई फरक तरिकाले सामना गर्न थालेको बताए।
एटीपी फाइनल्सको उपाधिसँगै अल्काराजले करियरको ३०औँ उपाधि जितेका छन्। सक्रिय खेलाडीमध्ये सर्वाधिक उपाधि जित्नेमा उनी जैनिक सिनरसँग बराबरीमा छन्। नोभाक जोकोभिच १०२ उपाधिसहित उनीहरूभन्दा अगाडि छन्।
अल्काराजले अब करियर गोल्डेन मास्टर्स पूरा गर्ने लक्ष्य राखेका छन्। नौवटै एटीपी मास्टर्स १००० प्रतियोगिताको उपाधि जित्ने उपलब्धि हासिल गर्न उनलाई क्यानडा र सांघाईमा हुने प्रतियोगिताको उपाधि जित्न बाँकी छ। त्यसपछि ओलम्पिक एकलतर्फको स्वर्ण पदक जितेमा टेनिसका सबै प्रमुख उपलब्धि पूरा गर्नेछन्।
उनका लागि सिनर मुख्य चुनौतीका रूपमा देखिएका छन्। घुँडाको समस्याका कारण विम्बल्डनपछि कोर्टबाहिर रहेका सिनर जनवरीमा हुने अस्ट्रेलियन ओपनबाट फर्कने लक्ष्यमा छन्। अल्काराजले भने त्यहाँ आफ्नो उपाधि रक्षा गर्नेछन्।
उपाधि जितेपछि अल्काराजले आफ्ना हजुरबुबाले कोर्टमा सधैँ तीन कुरा लिएर उत्रिन भन्ने गरेको स्मरण गरे। स्पेनी भाषाका ‘काबेजा, कोराजोन र कोजोनेस’ अर्थात् दिमाग, मुटु र साहसलाई उनले आफ्नो जितको आधार बताए।
‘यो ट्रफी उचाल्नु लामो समयदेखिको मेरो लक्ष्य थियो। यो मेरा लागि निकै ठूलो अर्थ राख्छ,’ उनले भने।