Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुद : ३२ खेलमा ६ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा

Ekantipur •
November 23, 2026 • 03:33 AM
2
2 reads 0 reactions

राखेपका अनुसार मंगलबारदेखि महिला र पुरुष क्रिकेट, पुरुष फुटबल, महिला र पुरुष ह्यान्डबल, टेनिस, पौडीलगायत १० वटा खेलमा प्रतिस्पर्धा सुरु गर्न लागिएको छ ।

दसौं राष्ट्रिय खेलकुद : ३२ खेलमा ६ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा

राखेपका अनुसार मंगलबारदेखि महिला र पुरुष क्रिकेट, पुरुष फुटबल, महिला र पुरुष ह्यान्डबल, टेनिस, पौडीलगायत १० वटा खेलमा प्रतिस्पर्धा सुरु गर्न लागिएको छ ।

सुर्खेत — उद्घाटन हुन ९ दिन बाँकी रहँदा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिताका लागि तीनवटै तहका सरकारले आ–आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएका हुन् । वीरेन्द्रनगरस्थित प्रदेश रंगशालामा मंसिर १६ मा उद्घाटन हुने प्रतियोगिता २७ गते समापन हुनेछ । जसमा झन्डै ६ हजार ५ सय खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा ३२ खेलका ३ सय ८४ इभेन्टमा प्रतिस्पर्धा हुन लागेको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । राखेपका अनुसार प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र एनआरएनएका गरी ११ टिम सहभागी हुनेछन् । जसमा ३२ खेलमध्ये एथ्लेटिक्स, क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, हक्की, भलिबल, कबड्डी, करातेलगायत २३ खेलहरु सुर्खेतमा खेलाइनेछ ।

प्रतियोगिताका लागि सुर्खेतमा प्रदेश रंगशालासहित चिसापानी फुटबल मैदान, कालुंगचोक रग्बी मैदान, प्रदेश रंगशाखा परिसरको क्रिकेट मैदान, सेनाको राजदल गणस्थित खेलमैदानलगायत संरचना तयारी अवस्थामा राखिएको प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले बताए । उनका अनुसार दैलेख, कालीकोट र रुकुम पश्चिममा एक/एक तथा सल्यानमा दुईवटा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

‘प्रतियोगिताका झन्डै ७० प्रतिशत खेल सुर्खेतमै केन्द्रित गरेका छौं, केही खेल छिमेकी जिल्लामा हुनेछन्,’ उनले भने, ‘उपयुक्त संरचना नभएका केही खेलमात्र बाहिर खेलाइनेछ ।’ चन्दका अनुसार दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो तथा कुस्ती र पश्चिम रूकुममा शारीरिक सुगठनका प्रतियोगिता सञ्चालन हुनेछन् । त्यस्तै पौडी र सुटिङका खेल नेपालगन्ज तथा लनटेनिस र खोखो खेल बर्दियामा सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

प्रतियोगिता उद्घाटनको दिन कर्णालीका १० वटै जिल्लाको सांस्कृतिक पहिचान झल्काउने गरी विभिन्न झाँकी, नाच, गीत र परम्परागत पोसाक प्रदर्शन गर्ने आयोजकको तयारी छ । उद्घाटनको अवसरमा राउटे समुदायको नाचसमेत प्रस्तुत गरिने परिषद्का सदस्यसचिव चन्दले बताए । ‘कर्णालीको कला, संस्कृति, रितिरिवाज र पहिचानलाई चिनाउने मेलोको रुपमा पनि प्रतियोगितालाई लिएका छौं,’ उनले भने, ‘सबै जिल्लाका नाच र झाँकीलाई ३ मिनेटसम्मको समय दिने तयारी गरेका छौं ।’

प्रतियोगिताका लागि आयोजक प्रदेशको तर्फर्बाट सुरक्षा, आवास व्यवस्थापन, खेलस्थल व्यवस्थापन र स्वास्थ्यको जिम्मेवारी लिइएको कर्णालीका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले बताए । ‘संघीय व्यवस्थापछि कर्णालीमा हुन लागेको यो सबैभन्दा ठूलो इभेन्ट हो, योसँग हाम्रो प्रतिष्ठा पनि जोडिएको छ,’ उनले भने, ‘त्यसैले यो महाकुम्भलाई अविस्मरणीय बनाउन सबैखाले तयारीलाई अन्तिम चरणमा पुर्‍याएका छौं ।’

मल्लका अनुसार प्रतियोगिता सञ्चालन हुने प्रदेश रंगशालासहितका खेल मैदान र कभर्ड हल तयारी अवस्थामा राखिएका छन् । ‘प्रदेश रंगशालालाई मुख्य स्थान मानेर आवश्यक व्यवस्थापनका कामहरु गरिएको छ,’ उनले भने, ‘जिल्लाका खेल मैदानहरु पनि  खेल्न तयार अवस्थामा छन् ।’

झन्डै एक अर्ब ५९ करोड रुपैयाँको लगानीमा करिब १० हजार दर्शक अट्ने गरि निर्माण गरिएको प्रदेश रंगशालामा एथलेटिक्स, फुटबल, भलिबल, करातेलगायतका झन्डै एक दर्जन प्रतियोगिता सञ्चालन हुनेछन् । रंगशाला फिफा र आईएएफको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको हो । जसमा ८ लेनको सेन्थेटिक ट्रयाक निर्माण गरिएको छ भने भीआईपी प्यारापिटसहित रेफ्री, चेन्जिङ, रिफ्रेस र मेडिकल कक्ष, फिजियोथेरापी, भीआईपी वेटिङ कक्षलगायत अन्डरग्राउन्ड पार्किङको समेत व्यवस्था गरिएको छ ।

‘टीभी लाइभ ब्रोडकास्ट प्लेटफर्मको व्यवस्था रहेको रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड र स्वीमिङ पुललगायत अत्याधुनिक संरचना निर्माण गरिएका छन्,’ कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले भने, ‘रंगशालाभित्र १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण भएको छ, जसमा भलिबल, ह्यान्डबललगायतका खेल खेल्न सकिन्छ ।’

खेलाडीको बसोबासका लागि झन्डै ५ हजार ५ सयवटा बेडको व्यवस्था गरिएको सामाजिक विकासमन्त्री मल्लले जानकारी दिए । उनका अनुसार प्रदेशभरिका झन्डै एक सय ५० होटलहरुमा खेलाडीको बसोबासको व्यवस्था गरिएको छ । उनले नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी बलको विभागीय टोलीलाई भने सम्बन्धित सुरक्षा निकायका ब्यारेक, इकाइ र कार्यालयमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

‘बसोबासमा केही समस्या हुने भएपछि उद्घाटन अघि नै केही खेल खेलाउने तयारी गरेका छौं,’ उनले भने, ‘दुई चरणमा प्रतियोगिता सञ्चालन गर्दा खेलाडीहरुको बसोबास, खानपान र आन्तरिक अभ्यासमा सहयोग पुग्नेछ ।’ उनले उद्घाटनअघि १० खेल सञ्चालन गर्दा झन्डै ३ हजार ५ सय खेलाडी कर्णाली आइपुग्ने र उनीहरुलाई बसोबासका लागि होटलहरु पर्याप्त हुने जानकारी दिए । ‘त्यसपछि आउने खेलाडी, प्रशिक्षक, पदाधिकारीलगायतलाई पनि पुग्नेगरि आवासीय व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘सबै होटलहरुको म्यापिङ गरी आवश्यक सुरक्षा व्यवस्था पनि मिलाइएको छ ।’

राखेपका अनुसार मंगलबारदेखि महिला र पुरुष क्रिकेट, पुरुष फुटबल, महिला र पुरुष ह्यान्डबल, टेनिस, पौडीलगायत १० वटा खेलमा प्रतिस्पर्धा सुरु गर्न लागिएको छ । ती खेलहरु मुख्य रंगशाला र सेनाको राजदल ब्यारेकस्थित खेल मैदानमा सञ्चालन हुनेछन् । जसका लागि खेलाडी आउने क्रम सुरु भएको राखेप सदस्यसचिव रामचरित्र मेहताले बताए । ‘खेलाडी आउजाउ तथा बसोबास व्यवस्थापनलाई सहज बनाउन उद्घाटनअघि केही खेल सञ्चालन गर्न खोजेका हौं,’ उनले भने, ‘यसले अन्य बन्दोबस्तीका काममा पनि सहज हुने अपेक्षा छ ।’

प्रतियोगितामा ३ सय ८४ स्वर्ण, ३ सय ८४ रजत र ५ सय ६९ कांस्य गरी १ हजार ३ सय ३७ पदक निर्धारण गरिएको छ । राखेपका अनुसार व्यक्तिगततर्फ स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कांस्य पदक विजेताले ८ हजार रुपैयाँ पुरस्कार पाउँनेछन् । टिमतर्फ स्वर्ण पदक विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्यलाई ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको राखेप सदस्यसचिव मेहताले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन हुने मुख्य सहर वीरेन्द्रनगरले पनि आवश्यक तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । देशैभरिका खेलाडीहरुको महाकुम्भ हुने भएपछि सडक सुरक्षा, सरसफाइ, सहरको सौन्दर्यीकरण, पर्यटकीय स्थलको व्यवस्थापनलगायत काम भइरहेको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । ‘यत्रो ठूलो उत्सव आयोजना हुनु हाम्रो लागि पनि गौरवको कुरा हो,’ उनले भनिन्, ‘त्यसैले स्थानीय सरकारका तर्फबाट आतिथ्यसहित विभिन्न पूर्वाधारका काम गरिएका छन् ।’

ढकालका अनुसार दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि प्रदेश रंगशालासहित विभिन्न खेलमैदान जोड्ने १४ वटा सडकको स्तरोन्नति गरिएको छ भने पार्क तथा खुला स्थान व्यवस्थापनको कामसमेत भएका छन् । जसका लागि करिब १० करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिइन् ।

प्रतियोगिताको सुरक्षाका लागि झन्डै २ हजार सुरक्षाकर्मी परिचालन गर्न लागिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए । उनका अनुसार १५ खेलस्थलमा सीसीटीभीमार्फत निगरानी गर्ने तयारी गरिएको छ भने विशिष्ट पाहुनाको सुरक्षा, एस्कर्टिङ, होटल गार्ड तथा खेलाडी बस्ने आवासस्थलको सुरक्षाका लागि पनि छुट्टाछुट्टै टोली परिचालन हुने उनले जानकारी दिए । ‘प्रतियोगिता अवधिभरका लागि एकीकृत सुरक्षा योजना निर्माण गरेका छौं,’ उनले भने, ‘सोहीअनुसार गस्ती, पेट्रोलिङ, सुरक्षा चेकजाँचलगायतका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन हुनेछन् ।’

प्रतियोगिताको तयारीका लागि गठन गरिएका १४ वटा  उपसमितिहरुले आ–आफ्नो तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव मेहताले खेलाडीको स्वास्थ्य उपचारका लागि रंगशाला र खेल मैदानहरुमा विशेषज्ञ चिकित्सकसहित ‘हेल्थ डेस्क’ स्थापना गरिएको जानकारी दिए । उनका अनुसार एम्बुलेन्सलगायत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिनेछ ।

परिषद्का सदस्यसचिव मेहताले प्रतियोगिताका लागि आवश्यक पर्ने खेल सामग्री, पोसाकलगायत बन्दोबस्तीका सामग्रीहरु कर्णालीमा पुगिसकेको बताए । प्रतियोगिताका लागि संघीय सरकारले २०८१/८२ मा ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । तर उक्त रकम खर्च हुन नसकेपछि चालु आर्थिक वर्षमा ५४ करोड रुपैयाँ छुट्याएको छ ।

पाँचौं पटक मिति निर्धारण भएपछि मात्रै प्रतियोगिता सञ्चालन हुन लागेको हो । कर्णाली प्रदेश सरकारले अहिलेसम्म झन्डै ६ करोड ५० लाख रुपैयाँ खर्च भएको जनाएको छ । प्रदेश सरकारले बन्द प्रशिक्षणका लागि एक करोड, प्रतियोगिता आयोजनाका लागि ५ करोड र पूर्वतयारीका लागि ५० लाख रूपैयाँ विनियोजन गरेको थियो ।

कृष्णप्रसाद गाैतम कान्तिपुरकाे सुर्खेत संवाददाता हुन् । उनी सुर्खेतमा बसेर कर्णाली प्रदेशका सामाजिक र राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ।

#प्रतिस्पर्धा #खेलकुद
Compare →
Onlinekhabar
3d ago
१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र …

#प्रतिस्पर्धा #खेलकुद
Compare →
Hamro Patro News
3d ago
दशौँ राष्ट्रिय खेलकुदमा ३८४ स्वर्णसहित १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

दशौँ राष्ट्रिय खेलकुदमा ३८४ स्वर्णसहित १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

दशौँ राष्ट्रिय खेलकुदमा ३८४ स्वर्णसहित १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकु...

#खेलकुद #प्रतिस्पर्धा
Compare →

Related Stories

Sports
Build #2612