महाकाली सन्धि भारतको ठूलो जित थियो । किनकि यसैका आडमा उसले उसले एकतर्फी रूपमा बनाएको टनकपुर बाँधलाई नेपालले स्वीकार गर्न पुग्यो । तर, महाकालीको सन्धिको ३० वर्ष नाघ्दा पनि नेपाललाई बराबरी फाइदा हुने पञ्चेश्वर बहुउद्देश्यीय परियोजना भने अघि बढेन ।
७ मंसिर, काठमाडौं । श्री ३ चन्द्र शमशेरले नेपालको शासन सम्हालेको दुई दशक पुग्न लागेको थियो । उनले २३ अगस्ट १९२० मा नेपालस्थित बेलायती दूत कर्णेल केनियनलाई एउटा पत्र लेखे । पत्रमा श्री ३ चन्द्रले भारतमा शासन गरिरहेको अंग्रेज सरकारलाई महाकाली नदीमा शारदा बाँध बनाउने अनुमति दिन नेपालले अघि सारेका सर्त उल्लेख गरेका थिए ।
झन्डै दुई महिनापछि अक्टोबरमा ती सर्त स्वीकार्दै कम्पनी सरकारले पठाएको पत्र कर्णेल केनियनले चन्द्र शमशेरलाई प्रदान गरे । पत्र आदानप्रदानसँगै शारदा बाँध सन्धि सम्पन्न भयो ।
सन्धिमा मुख्यगरी तीन कुरा थिए । शारदा बाँध बनाउन नेपालले भारतलाई ४ हजार एकड जमिन दियो । सन्धि अघिसम्म महाकाली नदीको एउटा किनार नेपाल थियो भने अर्को किनार भारत । तर, सन्धिपछि ब्यारेजको दुवै किनार भारतको भयो । सट्टामा विभिन्न ठाउँका चरन र वन क्षेत्र गरेर त्यति नै जमिन भारतले नेपाललाई दियो ।
दोस्रो, ब्यारेज र नहर निर्माणको सम्पूर्ण खर्च ब्रिटिश भारतले बेहोर्ने भयो । बदलामा निर्मित संरचनामा उसको पूर्ण नियन्त्रण रह्यो ।
तेस्रो, शारदा नहरबाट वर्षामा ४६० क्युसेक र हिउँदमा १५० क्युसेक पानी भारतले नेपाललाई उपलब्ध गराउने भयो । वर्षायाममा पानी उब्रिएमा १ हजार क्युसेकसम्म नेपालले पाउने सर्त पनि थियो ।
सन्धिमा नेपालले पाउने पानीको परिमाण तोकिएको थियो । तर, भारतले पाउने पानीको कुनै सीमा थिएन । त्यसैले महाकालीको पानीमा उसको एकलौटी कायम भयो । सोही पानीबाट उसले उत्तर प्रदेशको विशाल भूभागमा सिँचाइ पुर्यायो ।
नेपाल ठगिएको शारदा ब्यारेज सन् १९२८ मा निर्माण सम्पन्न भयो । अर्को वर्ष चन्द्र शमशेरको मृत्यु भयो । शारदा ब्यारेजको म्याद पनि दशकौँअघि सकिइसकेको छ । तर, १०६ वर्षपछि पनि नेपालको नियति फेरिएको छैन । महाकालीको पानीमा भारतको एकलौटी रोकिएको छैन । बरु एकपछि अर्को बाँध र असमान सन्धि–सम्झौताले नेपालको हात झनझन् तल पार्दै लगेको छ ।
१९७४ मा भारतले आफ्नै भूमिमा तल्लो शारदा ब्यारेज बनायो । त्यसको पानी पनि उसले आफूखुसी उपयोग गर्दै आएको छ । तल्लो र माथिल्लो शारदा ब्यारेजसमेत गरी भारतले महाकालीको सबै पानी उपभोग गरिरहेको छ । तर नेपालले भने शारदा र टनकपुर गरी ११ सय ३६ क्युसेक पानी मात्र पाएको छ ।
त्यसैले महाकाली नदी साझा भए पनि बगरमा मात्र नेपालको आधा हक कायम भएको छ । पानीमा त भारतले पूरै एकलौटी गर्दै आएको छ ।
नेपाललाई सोध्दै नसोधी बनाइएको टनकपुर
शारदा बाँधभन्दा करीब ७ किलोमिटर माथि टनकपुर छ । १९८८ मा त्यहाँ भारतले आफूखुसी बाँध बनाउन थाल्यो ।
महाकाली नदीमा ४७५ मिटर लामो ब्यारेज बनाएर भारतले १२० मेगावाट बिजुली निकाल्यो । र, पानी फेरि घुमाएर शारदा ब्यारेजभन्दा केही माथि महाकाली नदीमै खसायो ।
पानीमा आधा हिस्सेदारी भएको नेपालसँग समझदारी गर्नुपर्ने आवश्यकता पनि भारतले देखेन । नेपालले जनाएको आपत्तिलाई पनि उसले खास वास्ता गरेन । किनकि ब्यारेजको मुख्य हिस्सा भारततिरै थियो । तर, ब्यारेज निर्माणका क्रममा त्यसको पूर्वी तटबन्ध नेपालतर्फ जोड्नुपर्ने भयो । त्यसका लागि कञ्चनपुरको जिमुवामा भारतलाई नेपालको २.९ हेक्टर जमिन चाहिने भयो । अनि मात्र उसले यो परियोजनामा नेपालको सहमति खोज्यो ।
भारतको यो मनलाग्दीबारे नेपालमा असन्तुष्टि थियो । त्यहीबेला प्रजातन्त्र पुनस्थार्पनापछि पहिलो पटक निर्वाचित सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा गएका थिए । कोइरालाले समकक्षी पीभी नरसिंह रावसँग अन्य सम्झौतासँगै टनकपुरमा त्यो २.९ हेक्टर जग्गा दिने सन्धिमा पनि हस्ताक्षर गरे ।
नेपालमा त्यसको चर्को विरोध भयो । प्रधानमन्त्री कोइरालाले भने सन्धि नभई समझदारीमा हस्ताक्षर गरेको दाबी गरे । यसबारे मुद्दा पनि पर्यो । अर्को वर्ष १९९२ मा प्रधानमन्त्री राव नेपाल आउँदा पनि यही सहमतिलाई निरन्तरता दिइयो । अन्तत: १९९३ मा सर्वोच्च अदालतले यो सम्झौता सन्धि नै भएको ठहर गर्दै संसद्बाट अनुमोदन हुनुपर्ने फैसला गर्यो ।
पञ्चेश्वर परियोजनाको गर्भाधान भने नेपालमा राजा महेन्द्रले गद्दी आरोहण गर्दाताकै भएको थियो । सन् १९५६ मा भारतले चम्पावत जिल्ला र नेपालको बैतडीको पञ्चेश्वरको सीमामा यो विशाल परियोजनाको अध्ययन सुरु गरेको थियो । लामो समय चर्चामा मात्र रहेको यो परियोजनाका लागि महाकाली नदीमा ३१५ मिटर अग्लो बाँध बनाउने प्रस्ताव छ । यो परियोजनाका तीन पक्ष छन् । पहिलो बिजुली । जसअन्तर्गत मुख्य बाँधबाट नेपाल र भारत दुवैतिर गरी ६ हजार ४८० मेगावाट निकाल्ने योजना थियो । २०१६ मा यसलाई परिमार्जन गरेर ५ हजार मेगावाट विद्युत् निकाल्ने बताइएको छ । त्यस्तै, रूपालीगाडमा ८३ मिटरको बाँध बाँधेर २४० मेगावाट बिजुली निकाल्ने योजना थियो ।
दोस्रो, आयोजनाबाट कञ्चनपुर र कैलालीको १ लाख ३० हजार हेक्टर र भारतको १६ लाख हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य थियो । यसका अलावा जलाशयले बाढीको जोखिम पनि कम गर्ने थियो । यही बहुउद्दे श्यीय परियोजना नेपाल र भारतबीच महाकाली सन्धिको कारक बन्न पुग्यो ।
मनमोहनले दिल्लीमा राखेको ‘प्याकेज’को प्रस्ताव
टनकपुर सम्झौतालाई अदालतले सन्धिको मान्यता दिएपछि त्यसलाई संसद्को दुईतिहाइ मतले अनुमोदन गर्नुपर्ने भयो । तर, त्यो सम्भव थिएन । किनभने टनकपुर सम्झौता राष्ट्रघात भएको मूलतः एमाले सांसदहरूको ठहर थियो ।
तर आफ्नो सरकार बन्नासाथ प्रधानमन्त्री मनमोहन अधिकारीलाई टनकपुरको विवाद साम्य पार्नुपर्ने बाध्यता आइलाग्यो । प्रस्तावित पञ्चेश्वर परियोजनासँगै टनकपुरलाई पनि गाँस्न पाए यो विवाद साम्य हुनसक्ने तत्कालीन एमाले सरकारको हिसाबकिताब थियो । किनकि पञ्चेश्वरमा नेपाललाई आधा बिजुली र आधा पानी प्राप्त हुनेवाला थियो । जुन त्यसअघि गरिएका असमान सन्धिसम्झौताको तुलनामा नेपालका लागि फाइदाजनक थियो ।
त्यसैले १९९५ को अप्रिलमा भारत भ्रमणमा जाँदा प्रधानमन्त्री अधिकारी र उपप्रधान तथा परराष्ट्रमन्त्री माधवकुमार नेपालले टनकपुरको विवाद मात्र समाधान गर्न असम्भव रहेको बताउँदै ‘प्याकेज’मा सहमति गर्नुपर्ने प्रस्ताव राखे । सो प्याकेजमा शारदा ब्यारेज, टनकपुर र पञ्चेश्वर पनि सामेल थिए । त्यसैले संयुक्त विज्ञप्तिमा टनकपुरको नाम परेन ।
तर, ९ महिनामै अधिकारीको सरकार ढल्यो र एमाले प्रतिपक्षमा पुग्यो । कांग्रेसका शेरबहादुर देउवा राप्रपाको साथ लिएर प्रधानमन्त्री भए । उनी प्रधानमन्त्री भएको चार महिनामै एकीकृत महाकाली सन्धिको प्रारम्भिक दस्ताबेजमा हस्ताक्षर भएको थियो । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी र भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले हस्ताक्षर गरेका थिए । १२ फेब्रुअरीमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी पीभी नरसिंह रावले सन्धिमा हस्ताक्षर गरे ।
नेपालमा महिनौँ लामो बहसपछि २० सेप्टेम्बर १९९६ मा संसदले सो सन्धि अनुमोदन गर्यो । सन्धिको पक्षमा २२० र विपक्षमा ८ मत परेको थियो । सोही दिन बिहान एमाले केन्द्रीय कमिटीमा पनि यसबारे मतदान भएको थियो । खुला मतदान पक्ष र विपक्षमा १७–१७ मत परेको थियो । पछि गोप्य मतदानमा १७ पक्षमा र १६ विपक्षमा पर्यो । एक मतको अन्तरले सन्धि अनुमोदनको निर्णय भएसँगै पक्षमा भोट हाल्न एमालेले ह्विप लगायो । तर, संसद्मा भएको मतदानमा एमालेका २६ सांसद अनुपस्थित रहे भने ३ जनाले विपक्षमा मत दिए ।
यही विवाद बल्झिँदै जाँदा १९९८ मा एमाले फुट्यो । वामदेव गौतमको नेतृत्वमा नेकपा माले गठन भयो ।
नेपाललाई पनि लाभ हुने परियोजना चाहिँ बन्दै बनेन
महाकाली सन्धि भारतको ठूलो जित थियो । किनकि यसैका आडमा उसले उसले एकतर्फी रूपमा बनाएको टनकपुर बाँधलाई नेपालले स्वीकार गर्न पुग्यो । तर, महाकालीको सन्धिको ३० वर्ष नाघ्दा पनि नेपाललाई पनि फाइदा हुने पञ्चेश्वर बहुउद्देश्यीय परियोजना भने अघि बढेन ।
प्रधानमन्त्री बालेन शाहको जारी भारत भ्रमणमा पनि यसबारे सहमति नहुने निश्चितप्राय: छ ।
महाकाली सन्धिमा दुई देशले लाभ पाउने गरी पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण गर्ने उल्लेख छ । पञ्चेश्वर परियोजना निर्माण गर्दा ऊर्जा, सिँचाइ र बाढी नियन्त्रणको लाभ बराबरी बाँडिने सन्धिमा उल्लेख छ । सन्धि कार्यान्वयनमा गएको ६ महिनाभित्र डीपीआरमा सहमति गरिने त्यसबेला सहमति भएको थियो ।
तर, सन्धि भएको तीन दशकसम्म परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सहमति हुन सकेको छैन ।
यसबीचमा दुवै देशले आ–आफ्नो अध्ययन गरेपछि संयुक्त डीपीआर मस्यौदा समेत तयार भइसकेको छ । तर, आयोजनाबाट प्राप्त हुने लाभ मूल्यांकन, लगानी बाँडफाँट र तल्लो तटीय लाभ बाँडफाँट विषयमा नेपालको प्रस्तावमा भारत सहमत भएको छैन ।
उसो त महाकाली सन्धिको मूल्यमा नेपालले स्वीकारेको टनकपुरबाटै पनि सन्धिअनुसारको पानी भारतले नेपाललाई दिएको छैन । वर्षामा १ हजार र हिउँदमा ३०० क्युसेक पानी पाउनुपर्नेमा नेपालले त्यो पनि पाएको छैन । अहिले पानी छाडिदिन आग्रह गर्दा भारतले यसको पञ्चेश्वर परियोजनाको समग्र प्याकेजमै पानीबारे पनि सहमति हुनुपर्छ भन्ने अडान राखेको ऊर्जा मन्त्रालय स्रोतले बतायो ।
त्यसबाहेक, दोधारा–चाँदनी क्षेत्रमा सिँचाइका लागि भारतले थप ३५० क्युसेक पानी शारदाको क्यानलबाट छाड्ने कुरा सन्धिमा उल्लेख छ । शारदाको नहरको कुन बिन्दुबाट पानी दिने हो, त्यो कुरा भारतले भनेपछि नेपालले नहर बनाउनुपर्नेमा यी दुवै काम हुन नसकेको मन्त्रालय स्रोतको भनाइ छ ।
महाकाली सन्धिपछि पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतबीच नमिलेका मुख्य दुई कुरा छन्– लगानी र पानी बाँडफाँट ।
टनकपुर ब्यारेजभन्दा माथिल्लो क्षेत्रमा बनाइने पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सञ्चालन एकीकृत रूपमा गरिने सन्धिमा उल्लेख छ । तर, लागत भने यो परियोजनाबाट जसलाई बढी लाभ हुन्छ, त्यही अनुपातमा बेहोरिने सहमति छ ।
खासगरी शारदा ब्यारेज र टनकपुर ब्यारेजबाट भारतले जुन मात्रामा पानीको उपयोग गरिरहेको छ र नदी नियन्त्रण गरिरहेको छ, त्यसको लाभ हिसाब गर्दा भारतले परियोजनाको ७० प्रतिशत लागत बेहोर्नुपर्ने नेपालको अडान छ । पञ्चेश्वर परियोजनाबाट भारतले विशाल सिँचाइ सुविधा (२ लाख ४० हजार हेक्टर) र बाढी नियन्त्रणको ठूलो लाभ पाउने भएकाले नेपालले ३० प्रतिशत र भारतले ७० प्रतिशत लगानी गर्न नेपालले प्रस्ताव गरेको हो ।
भारत भने अहिलेसम्म ६५ प्रतिशत लागत बेहोर्न तयार देखिएको छ । परियोजनाका अन्य कुरा मिले लागतको विषय पनि मिल्ने अधिकारीहरू बताउँछन् ।
त्यसका साथै, पञ्चेश्वरमा उत्पादित बिजुली नेपालले भारतलाई बेच्न सक्ने प्रावधान पनि सन्धिमा छ । तर, बिजुलीको भाउ पनि तय हुन सकेको छैन । यद्यपि, विषय पनि प्रमुख नभएको अधिकारीहरूको भनाइ छ ।
महाकाली सन्धिको धारा ३ मा सन्धि हुँदाको बखत जुन देशले जति पानी उपभोग गरिरहेको छ, त्यसमा प्रतिकूल असर नपर्ने गरी दुवै देश पानीको समान हकदार हुने उल्लेख छ ।
अहिले दुई देशबीच भइरहेको विवाद भनेको यही कुराको व्याख्यामा हो । महाकाली सन्धि हुँदा भारतले शारदा ब्यारेज र टनकपुर ब्यारेज गरी दुईवटा परियोजना निर्माण गरिसकेको थियो र ती संरचनाबाट पानी उपयोग गरिरहेको थियो । ती दुई परियोजनाबाट भारतले गरिरहेको पानीको उपभोगलाई ‘विद्यमान उपभोग’ मानिदिन नेपाल तयार छ ।
तर, भारत भने शारदा ब्यारेजभन्दा करिब १६३ किलोमिटर तल भारतकै भूभागमा रहेको तल्लो शारदा ब्यारेजमार्फत उपयोग भइरहेको पानीको अधिकार पनि सुरक्षित हुनुपर्ने अडान राखिरहेको छ । भारतले सन् १९७५ देखि उक्त ब्यारेजमार्फत पानी उपयोग गर्दै आएको छ ।
नेपाल भने तल्लो शारदा ब्यारेजमा महाकाली नदीसँगै कर्णाली नदीको पानी पनि मिसिने भएकाले त्यहाँबाट उपयोग भइरहेको सम्पूर्ण पानीलाई महाकालीको विद्यमान उपभोग मान्न नसकिने तर्क गर्छ ।
डीपीआर टुंग्याउन नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव र भारतको सेन्ट्रल वाटर कमिसनको नेतृत्वमा ‘टिम अफ एक्स्पर्ट’ गठन गरिएको छ । उक्त टोलीले चार–पाँच पटक बैठक गरे पनि निष्कर्षमा पुग्न सकेको छैन ।
‘लाभको हिस्सा कति–कति राख्ने भन्नेबारे पर्याप्त अध्ययन र विश्लेषण भइसकेकाले त्यसैमा एउटा ठोस सहमति जुटाउन सके आयोजना चाँडै अघि बढ्न सक्छ, जुन कुरा कर्मचारीको तहबाट हुँदैन, राजनीतिक तहबाटै गर्नुपर्छ,’ पूर्वऊर्जासचिव तथा पञ्चेश्वर प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी चटौत भन्छन् ।
यसपटक पनि नेपालले यो परियोजना अघि बढाउने हो भने बृहत् राजनीतिक सहमति निर्माण गर्नुपर्ने अडान राखेको स्रोतहरूको भनाइ छ ।
राजनीतिक प्रतिबद्धता हुन्छ, प्रगति हुँदैन
२०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग भएका समझदारीमध्ये पञ्चेश्वर आयोजनालाई अघि बढाउने विषय पनि थियो । त्यसबेला २०७१ कात्तिकभित्र डीपीआर तयार पार्ने प्रतिबद्धता जनाइएको थियो ।
नेपालको संसद्मा सम्बोधन गर्दै मोदीले एक वर्षभित्र आयोजनाको काम सुरु हुने बताएका थिए । सन् २०१४ मा पञ्चेश्वर विकास प्राधिकरण गठन गरियो । २०१६ मा भारतीय सरकारी परामर्शदाता कम्पनी वाप्कोसले एकीकृत डीपीआरको मस्यौदा बुझायो । तर, त्यसलाई अन्तिम रूप दिने विषयमा अझै सहमति जुट्न सकेको छैन ।
त्यसपछि २०७४ भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण क्रममा एक महिनाभित्र डीपीआरलाई अन्तिम रूप दिने सहमति भयो । त्यो समयसीमामा पनि सहमति जुट्न सकेन ।
त्यसपछि भएका उच्चस्तरीय भ्रमण र छलफलमा समेत पञ्चेश्वरको विषय उठे पनि आयोजनालाई निर्माणमा लैजाने गरी ठोस निर्णय हुन सकेन । सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा पनि परियोजनाको डीपीआर तीन महिनाभित्र सम्पन्न गर्ने सहमति भएको थियो । त्यो डेडलाइन पनि पूरा हुन सकेन ।
महाकाली नदी (जसलाई भारतमा शारदा भनिन्छ) मा उच्च बाँधसहित बन्ने पञ्चेश्वर परियोजना लिएर भारतमा ठूलो विरोध हुँदै आएको छ । ३ सय ११ मिटर अग्लो बाँध बन्दा भारत र नेपालतर्फ ठूलो मात्रामा जमिन डुब्ने, उत्तराखण्डका ३० हजारभन्दा बढी मानिस विस्थापित हुने तथा ठूलो वातावरणीय विनाश हुने भन्दै उत्तराखण्डका क्षेत्रीय दल एवं भारतका वातावरणवादीले यसविरुद्ध भारतमा उतै प्रदर्शन गर्दै आएका थिए ।
खासगरी सन् २०१० र २०१७ मा यस क्षेत्रका देहरादून लगायत उत्तराखण्डका धेरै सहरमा यसविरुद्ध प्रदर्शन भएका थिए । त्यसो हुँदा भारतलाई पनि यो परियोजना अघि बढाउन अप्ठ्यारो भएको स्रोतको भनाइ छ ।
‘भारतले आफ्नो अप्ठ्यारो नेपालतिर सार्न बृहत् राजनीतिक सहमतिको कुरा गरेको हुन सक्छ, नेपालमा पनि महाकाली सन्धिकालदेखि नै यसबारे तीव्र राजनीतिक मतभेद भएकाले यसमा सहमति गरेर अघि बढ्दा दुवैतर्फ विरोध हुने जोखिम देखिएकाले पनि यसलाई अहिले नगरौं भनेको हुन सक्छ,’ स्रोतले भन्यो ।