७ मंसिर, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक यात्रा थालेको करिब ५ दशक भयो । गुजरातको मुख्यमन्त्री हुँदै भारतको प्रधानमन्त्रीसम्म बनेका मोदीका लागि सोमबार दिल्लीको हैदरावाद हाउसमा नयाँ संयोग मिल्दैछ ।
मोदीले आफ्नोभन्दा दोब्बर कान्छो उमेर र जम्माजम्मी सक्रिय राजनीति थालेको ५ वर्षमै नेपालको प्रधानमन्त्री भएका बालेन्द्र शाह (बालेन)लाई स्वागत र द्विपक्षीय भेटवार्ता गर्दैछन् ।
दुई दिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली उत्रेका नेपालका प्रधानमन्त्री बालेनको भ्रमणको मुख्य कार्यसूची नै मोदीसँगको शिष्टाचार, संवाद र सहमतिमा केन्द्रित हुनेछ ।
८ वर्ष अघिसम्म बालेन भारतको कर्नाटक राज्यस्थित विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीका विद्यार्थी थिए । त्यहाँबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेर फर्केका उनी त्यही भारतीय भूमिमा ८ वर्षकै बीचमा नेपालको प्रधानमन्त्रीको रुपमा राजकीय भ्रमणमा पुगेका छन् ।
त्यसैले सोमबार मध्याह्न दिल्लीको हैदरावाद हाउसमा हुने शाह र मोदीको भेट नेपाल–भारत सम्बन्धको समीक्षा र सहकार्य विस्तारको मात्र होइन दुई पुस्ताका प्रधानमन्त्रीहरूको सम्मिलन पनि हुनेछ । उनीहरूका हाउभाउ र शिष्टाचारका शैलीहरू पनि चासोको केन्द्रमा रहनेछन् ।
दुई पुस्ताका सरकार प्रमुखका केही समान शैली
बालेन र नरेन्द्र मोदी दुई पुस्ताका सरकार प्रमुखहरू हुन् । उनीहरूको राजनीतिक पृष्ठभूमि र उदयको शैली केही फरक छ । तर जनताको मनोविज्ञानमा खेलेर शक्ति आर्जन र आफ्नो अपरिहार्यता देखाउने शैली चाहिँ केही समान देखिन्छ ।
बालेन नेपालमा भएको जेनजी आन्दोलनको बलमा सडकबाट सत्ताको शिखरमा पुगेको विद्रोही पुस्ताका प्रतिनिधि पात्र हुन् ।
इन्जिनियरिङ पढेका, संगीतमा आफ्नो पहिचान बनाएका र्यापमार्फत सामाजिक विकृति, भ्रष्टाचार तथा राजनीतिक बेथितिमाथि प्रहार गर्ने व्यक्ति हुन् बालेन ।
२०७९ को स्थानीय चुनावमा स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाको मेयर जितेका उनको खास संगठन छैन ।
व्यक्तित्वको लोकप्रियताको बलमा उनी जनताबाट निर्वचित भई संसद्को मतको आधारमा प्रधानमन्त्री बनेका हुन् । उनी गत वर्ष फागुन २१ को चुनावमा रास्वपाबाट चुनाव उठेर जितेका हुन् । अहिले पनि उनी उक्त पार्टीको वरिष्ठ नेता छन् । तर संगठन बनाउने रुचि चाहिँ उनमा देखिन्न ।
तर मोदी भने संगठनको बलमा स्थापति भएका व्यक्ति हुन् । मोदी भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वयंसेवक संघका (आरएसएस) का उत्पादन हुन् । त्यही संगठनको भर्याङ चढेर उनी राष्ट्रिय राजनीतिमा स्थापित भए ।
सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री भएपछि त उनले आफ्नो अपरिहार्यता स्थापित गर्दै तेस्रो कार्यकालको प्रधानमन्त्री बनिरहेका छन् । भारतमा आरएसएसको यस्तो बलियो संगठन छ कि उसले सत्तारुढ भाजपालाई चलाउँछ । आरएसएसको संगठनात्मक आधार भनेको हिन्दूवादी विचारधारा हो ।
बालेन्द्र शाह पुरानो राजनीतिक पुस्ताको असफलताप्रति विद्रोह गर्दै नयाँ नेतृत्व खोज्ने युवा पुस्ताका प्रतिनिधि पात्र हुन् । नरेन्द्र मोदी लामो संगठनात्मक संघर्ष, वैचारिक परिचालन र जनमतको शक्तिबाट आफ्नो राजनीतिक साम्राज्य निर्माण गरेका व्यक्ति हुन् ।
बालेन्द्र कम बोल्छन् । उनको मुख्य शक्ति भनेको अहिले डिजिटल संसार पनि हो । उनी सांकेतिक कुरा गर्छन् । जसले गर्दा उनले के गर्छन् वा गर्दैनन् भन्ने भेउ पाउन मुस्किल छ ।
तर मोदी बोलक्कड छन् । सार्वजनिक अभिव्यक्तिमा अत्यन्त कुशल ठानिन्छन् । मोदी आफ्नो राजनीतिक सन्देशलाई एउटा निश्चित भाष्यमा रूपान्तरण गर्न जान्दछन् ।
तर मोदीको शासनशैलीमाथि आलोचनात्मक प्रश्न पनि छन् । भारतमा हालै कक्रोच पार्टीले ठूलो आन्दोलन गर्यो र त्यसले कुनै राजनीतिक रुप लेला कि भन्ने भय मोदीमाथि पनि छ ।
प्राध्यापक महेन्द्र पी लामाका अनुसार कक्रोचको आन्दोलनले नेपालको जस्तो रुप त लिँदैन तर युवाहरूको असन्तुष्टि कता जाने हो भन्ने भय चाहिँ छ । त्यसैले कतिपय भारतीयहरूले वालेन्द्र शाहलाई विश्वासमा लिएर आफ्नै मुलुकका युवाहरूलाई पनि सन्देश दिने उद्देश्यले यो भ्रमणलाई विशेष महत्त्व दिने अनुमान पनि कतिपयले गरेका छन् ।
हैदरावाद हाउसको वार्ता र भेटघाट दुवैलाई अवसर
नेपालमा रास्वपा नयाँ शक्तिको रुपमा उदाएपछि उसले कस्तो राष्ट्रवादी नीति लिन्छ भन्ने पनि चासो छ । प्रधानमन्त्री आफैं पनि नेपालको हितमा हुने निर्णयहरूको अडानमा कति टिक्छन् भन्ने पनि चासो छ ।
विगतमा मेयर भएका बेला शाहले नेपाल–भारत सीमा विवाद चर्किँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेका थिए । भारतीय फिल्म आदिपुरुषलाई काठमाडौंमा चल्नका लागि रोक लगाएका थिए । यो पृष्ठभूमिबाट आएका बालेन आफू कति स्वाभिमानी छन् भन्ने देखाउने अवसर हैदरावाद हाउसको वार्ता र भेटघाटमा मिल्नेछ ।
यता मोदीलाई पनि यो १२ वर्षमा नेपालसँग बिग्रेको सम्बन्धलाई नयाँ शिराबाट सुधार्ने अवसर मिलेको छ । किनकी उनी सत्तामा आएपछि नाकाबन्दी लगायतका घटनाक्रमले नेपालमा उनको छवि धुमिल भएको छ । त्यसैले सोमबार प्रधानमन्त्री शाह र मोदीबीच हुने सहमति र सम्झौताहरूले दुवै देशका सरकार प्रमुखलाई सम्बन्ध सुधारको ढोका पनि खोल्न सक्छ ।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र महत्त्वपूर्ण पारवहन मार्ग हो । नेपालको अर्थतन्त्र, ऊर्जा व्यापार, आपूर्ति प्रणाली र रोजगारीका अवसरमा भारतको ठूलो भूमिका छ ।
अर्कोतर्फ नेपाल भारतका लागि उत्तरी छिमेकी मात्र होइन । हिमालय क्षेत्रको सुरक्षा, चीनसँगको भौगोलिक सम्बन्ध, जलस्रोत, क्षेत्रीय स्थिरता र जनस्तरको सांस्कृतिक सम्बन्धका दृष्टिले नेपाल रणनीतिक महत्त्व राख्छ ।
नेपालले भारतलाई आफ्नो आवश्यकताको दृष्टिले हेर्छ । भारतले नेपाललाई कहिलेकाहिँ आफ्नो रणनीतिक आवश्यकताको दृष्टिले हेर्ने गरेको छ । यही दृष्टिकोणको अन्तरले पटक–पटक भइरहेको अविश्वासलाई हैदरावाद हाउसमा बालेन्द्र शाह र नरेन्द्र मोदीले कसरी मेटाउँछन् ? चासो छ ।
खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।