ब्याटिङमा रनको वर्षा गर्ने, बलिङमा विपक्षीलाई धराशायी बनाउने र अलराउन्ड प्रदर्शनमार्फत टोलीको नतिजामा प्रभाव पारेका खेलाडीलाई समेटेर ‘टिम अफ द टुर्नामेन्ट’ तयार पार्ने प्रयास गरेका छौं ।
काठमाडौँ — जर्ज मुन्सीले शनिबार लुम्बिनी लायन्सविरुद्ध फाइनलमा खेलेको इनिङ्स नेपाल प्रिमियर लिग (एनपीएल) इतिहासकै उत्कृष्ट इनिङ्स हो । तर कान्तिपुर खेलकुद टिमले तयार पारेको ‘टिम अफ द टुर्नामेन्ट’ उनीबिनै रहेको छ । कारण उनले फाइनल अघि दुई इनिङ्स मात्र खेलेका थिए र त्यसमा सम्झना लायक केही गर्न सकेका थिएनन् ।
मुन्सीको प्रयासमा सुदूरपश्चिम रोयल्सले पहिलो पटक उपाधि जित्दै प्रतियोगिताको सुखद अन्त्य गर्दा व्यक्तिगत प्रदर्शनका आधारमा पनि केही खेलाडीले आफूलाई अब्बल साबित गरे । कप्तान दीपेन्द्रसिंह ऐरीसहित सुदूरपश्चिमका तीन खेलाडीले ‘टिम अफ द टुर्नामेन्ट’ मा स्थान बनाएका छन् ।
ब्याटिङमा रनको वर्षा गर्ने, बलिङमा विपक्षीलाई धराशायी बनाउने र अलराउन्ड प्रदर्शनमार्फत टोलीको नतिजामा प्रभाव पारेका खेलाडीलाई समेटेर ‘टिम अफ द टुर्नामेन्ट’ तयार पार्ने प्रयास गरेका छौं । प्रतियोगिताभरको प्रदर्शन, खेलाडीको भूमिका, टोलीको आवश्यकता र एनपीएलको खेलाडीसम्बन्धी नियमलाई आधार मानेर प्रतियोगिताको उत्कृष्ट प्लेइङ–११ तयार पारेको हो ।
यस टिमको ओपनिङ ब्याटर हुनेछन् पोखरा एभेन्जर्सका युवराज सामराले । क्यानडाका युवा ओपनर सामरा यस सिजनका सर्वाधिक प्रभावशाली ब्याटर हन् । उनले केवल चार खेलमा २ सय ९४ रन बनाउँदै प्लाटिनम क्याप जिते । विस्फोटक ब्याटिङ गरेका सामराले १ शतक र २ अर्धशतक प्रहार गरे ।
उनलाई विराटनगर किङ्सका लोकेश बमले साथ दिए । नेपाली ब्याटरमध्ये सर्वाधिक रन बनाएका बमले सात खेलमा २ अर्धशतकसहित २ सय ४२ रन जोडे । उनले प्रतियोगितामा सर्वाधिक १८ छक्का प्रहार गर्दै आफ्नो आक्रामक क्षमता देखाए । उत्कृष्ट नेपाली ब्याटरको अवार्ड जितेका लोकेश ‘टिम अफ द टुर्नामेन्ट’ का विकेटकिपर पनि हुन् ।
आँकडामा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलका लागि यो सिजन खास हुन सकेन । तर उनको नेतृत्वमा लुम्बिनीले लगातार दोस्रो फाइनल खेल्यो । ८ खेलमा १ सय ५१ रन बनाएका रोहित ‘टिम अफ द टुर्नामेन्ट’ का उपकप्तानसमेत हुन् । र, उनी यस टिमको तेस्रो नम्बरका ब्याटर हुन् ।
चितवन राइनोजका कप्तान रवि बोपाराले सात खेलमा २ सय ३८ रन बनाए । दुई अर्धशतकसहित उनले दबाबको अवस्थामा पनि संयमित ब्याटिङ गरे । मध्यक्रममा इनिङ्स सम्हाल्न सक्ने भएकाले उनी चौथो नम्बरमा उपयुक्त देखिन्छन् । उनी एनपीएल इतिहासकै सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।
सुदूरपश्चिम रोयल्सलाई पहिलो पटक एनपीएल च्याम्पियन बनाएका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । ब्याटिङमा २ सय १७ रन बनाएका उनले बलिङमा ७ विकेट लिए भने फिल्डिङमा पनि महत्त्वपूर्ण योगदान दिए । तीनै क्षेत्रमा प्रभाव पार्न सक्ने दीपेन्द्र यस टिमका कप्तानसमेत हुन् ।
अलराउन्डरका हिसाबमा कर्णाली याक्सका हुसैन तलात टोलीमा रहेका छन् । कर्णालीले खास प्रदर्शन गर्न नसके पनि यी पाकिस्तानी खेलाडीले ६ खेलमा १ अर्धशतकसहित १ सय १९ रन बनाए भने आफ्नो तीव्र बलिङको दममा १० विकेट पनि हात पारे । काठमाडौं गोर्खाजका राशिद खानले यस सिजन ब्याटिङ र बलिङ दुवैमा योगदान दिए । तल्लो मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै २ अर्धशतकसहित १ सय ९८ रन बनाएका राशिदले मिडियम फास्ट बलिङबाट पनि टोलीलाई विकल्प दिए ।
लुम्बिनी लायन्सका प्रमुख स्पिनर शेर मल्लले ८ खेलमा ११ विकेट लिए । पावर प्ले र मध्य ओभरमा विपक्षी ब्याटरलाई दबाबमा राख्न सक्ने उनको क्षमताले लुम्बिनीको बलिङलाई बलियो बनाएको थियो । स्पिन बलिङका लागि उनलाई टोलीमा समावेश गरिएको छ । सुदूरपश्चिम रोयल्सका अनिल खरेलले प्रतियोगितामा १० विकेट लिए । करिब ६.४० को इकोनोमीमा बलिङ गरेका उनले मध्य ओभरमा विपक्षीको रन गति नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेले । शेर मल्लसँगै स्पिन आक्रमण सम्हाल्ने जिम्मेवारी उनलाई दिइएको छ ।
न्युजिल्यान्डका स्कट कुगेलेइनले सुदूरपश्चिम रोयल्सलाई च्याम्पियन बनाउन १० खेलमा १५ विकेट लिए । नयाँ बल र डेथ ओभरमा प्रभावकारी बलिङ गरेका उनी प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडीमध्ये दोस्रो स्थानमा रहे । तल्लो क्रममा ब्याटिङ गर्न सक्ने क्षमतासमेत भएकाले उनी टोलीका महत्त्वपूर्ण विदेशी खेलाडी हुन् ।
चितवनका रिजन ढकालले आठ खेलमा १७ विकेट लिँदै प्रतियोगिताको गोल्डेन क्याप जिते । उनी प्रतियोगिताका सर्वाधिक विकेट लिने बलर बने । स्विङ र सटीक लाइन–लेन्थमार्फत विपक्षी ब्याटरलाई समस्यामा पारेका उनी यस टिमका मुख्य फास्ट बलर हुन् ।
जनकपुर बोल्ट्सका तीव्र गतिका बलर राहुल यादवले सात खेलमा १२ विकेट लिए । उनले इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्टको उपाधिसमेत जिते । डेब्यु खेलको पहिलो बलमै विकेट लिएका राहुललाई ‘टिम अफ द टुर्नामेन्ट’ को १२औं खेलाडीमा राखेका छौं ।
प्रतियोगिताभरको व्यक्तिगत प्रदर्शन, खेलाडीको भूमिका, टोलीको सन्तुलन र एनपीएलको नियमलाई आधार मानेर तयार गरिएको यस टोलीमा केही उत्कृष्ट प्रदर्शन गरेका खेलाडी भने समावेश हुन सकेनन् । प्लेइङ ११ मा सुदूरपश्चिमका ३, लुम्बिनी र चितवनबाट २–२ तथा पोखरा, विराटनगर, कर्णाली र काठमाडौंका १–१ खेलाडीले स्थान बनाए । जनकपुरका राहुल यादव १२औं खेलाडी रहे ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।
सुबास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।