नेपाली बजारमा पछिल्ला दिनहरुमा सुनको मूल्य लगातार रुपमा घटिरहेको छ । गत साताका सबै दिन उच्च मूल्यमा घटेको सुन यो साताको पहिलो दिन पनि २ हजार ८०० रुपैयाँले घटेर बन्द भएको हो । सुनको मूल्य आज भन्दा १० महिना अघि ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो । २०८२ सालको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै धेरै मूल्य निर्धारण भएको थियो । त्यस पछिका दिनहरुमा सामान्य रुपमा घटेको सुन केही समय अघिसम्म पनि करिब ३ लाखको हाराहारीमा नै रहेको थियो । तर, पछिल्ला भने सुनको मूल्य घटेर २ लाख ५० हजार भन्दा तल झरिसकेको छ ।
कात्तिक १९ गते मात्रै पनि सुनको मूल्य तोलाको २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तिहार पछिको कारोबार दिन देखि भने सुनको मूल्य लगातार रुपमा घटेर तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ पुगेको छ । यो मूल्य २०८२ सालको माघ १५ गतेको भन्दा ९६ हजार ७०० रुपैयाँले कम हो । पछिल्लो समय विश्वमा शान्ति हुने संकेत देखिएकाले बजारमा सुनको मूल्य घटेको व्यवसायीहरुको भनाइ छ । उनीहरुले अहिले रसिया–युक्रेन तथा इराजन–इजरायल बीचको युद्ध रोकिने संकेतका कारणले गर्दा सुनको मूल्यमा गिरावट आएको हो । शान्ति हुँदा लगानीकर्ताहरु अन्य क्षेत्रमा लगानी गर्ने भएकाले अहिले सुनको मूल्यमा गिरावट आइरहेको जनाइएको छ ।
त्यस्तै अमेरिकी केन्द्रीय बैंकको ब्याजदर बढेकाले पनि लगानीकर्ताहरु सुनभन्दा अरु क्षेत्रको लगानीमा आकर्षित भइरहेको अवस्था छ । सुनमा गरिएको लगानीले प्रतिफल नदिने र अन्य सेयर तथा बण्डमा गरिएको लगानीमा बोनस आउने भएकाले लगानीकर्ताहरु त्यता आकर्षित भएको व्यवसायीहरुको भनाइ छ ।
२ लाख भन्दा कम हुन सक्छ सुनको मूल्य
नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ भन्दा पनि कम हुन सक्ने व्यवसायीहरुले बताउने गरेका छन् । विश्व गोल्ड काउन्सिलका अनुसार सुनको मूल्य २ हजार ५०० डलरसम्म पुग्ने अनुमान गरिएको छ । यदि २ हजार ५०० रुपैयाँ पुगेमा सुन अहिले भन्दा पनि निकै कम हुने तर ३ हजार डलर मात्रै भयो भने पनि सुनको मूल्य २ लाख भन्दा कम हुने व्यवसायीहरुको भनाइ छ ।
अहिले अमेरिकी केन्द्रीय बैंकको ब्याजदर बढेर ४ प्रतिशत पुगेको अवस्था छ । महंगिका कारण यो ब्याजदर अझै बढ्ने सम्भावना रहेकाले सुनमा लगानीकर्ताको आकर्षण घट्ने र मूल्यमा गिरावट आउने अवस्था रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले पनि अहिले मूल्य घट्नुको कारण अमेरिकाको केन्द्रीय बैंकले बढाएको ब्याजदर र ऋणपत्रमा बढी ब्याजदर भएकाले सुनको मूल्य घट्न पुगेको बताए । उनका अनुसार सनुको मूल्य अधिकतम तल्लो विन्दुमा पुग्यो भने १ लाख ८५ हजार रुपैयाँसम्म पुग्न सक्छ । ‘अहिले सुनको मूल्य घट्ने अन्तिम विन्दुसम्म पुगेको छ । यो अधिकतम तल गयो भने १ लाख ८५ हजार रुपैयाँसम्म जान सक्ने प्राविधिक विश्लेषण गरिएको छ,’ उनले भने । शाक्यले सुनको मूल्य २ लाख २५ हजार बाट फर्किएर २ लाख ५० हजार देखि २ लाख ६० हजारसम्ममा पुग्ने सम्भावना पनि रहेको बताए ।