बेपत्ता आफन्तको खोजीका लागि परिवार तथा पर्यटक आउने क्रम जारी रहेपछि प्रहरीले डीएनए परीक्षण, बेवारिसे शवको विवरण र सम्पर्क अधिकारीहरूको जानकारी सार्वजनिक गरेको छ ।
काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको खोजी र पहिचानका लागि नेपाल प्रहरीले डीएनए नमुना संकलन तथा डिजिटल सूचना प्रणालीको व्यवस्था गरेको छ।
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड परिसरमा रहेको पर्यटक प्रहरी कार्यालयमा बेपत्ता आफन्तको खोजीका लागि परिवार तथा पर्यटक आउने क्रम जारी रहेपछि प्रहरीले डीएनए परीक्षण, बेवारिसे शवको विवरण र सम्पर्क अधिकारीहरूको जानकारी सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार बाढीपछि फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगको पहिचान गर्न अटोसोमल एसटीआर डीएनए परीक्षण विधि अपनाइएको छ । बेपत्ता व्यक्तिका नेपालमा रहेका नजिकका आफन्त (बाबु, आमा, छोरा वा छोरी) मध्ये एक जनाले दुई प्रति पासपोर्ट आकारको फोटोसहित महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्याथोलोजी प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी ताजा रगतको नमुना दिन सक्नेछन् ।
विदेशमा रहेका आफन्तले भने आफ्नै देशको आधिकारिक प्रयोगशालाबाट डीएनए परीक्षण गराएर त्यसको विद्युतीय प्रति नेपाल प्रहरीको आधिकारिक इमेल ठेगाना मा पठाउन सक्नेछन्। यसका लागि प्रहरीले सम्पर्क अधिकारीका मोबाइल नम्बरसमेत सार्वजनिक गरेको छ ।
बाढीमा फेला परेका पहिचान नखुलेका तथा बेवारिसे शवको विवरण अनलाइनबाट हेर्न सकिने व्यवस्था पनि गरिएको छ। पर्यटक प्रहरी कार्यालयमा राखिएको क्यूआर कोड स्क्यान गरेर वा नेपाल प्रहरीको वेबसाइटमा गएर शवसम्बन्धी विवरण हेर्न सकिने प्रहरीले जनाएको छ। त्यसका लागि प्रहरीले सार्वजनिक गरेको वेबसाइट https://udb.nepalpolice.gov.np/dead-bodies रहेको छ । बेपत्ता, उद्धार गरिएका, घाइते वा पहिचान नखुलेका विदेशी नागरिकबारे जानकारी लिन प्रहरीले चौबीसै घण्टा सम्पर्क गर्न सकिने व्यवस्था पनि मिलाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक नन्तीराज गुरुङसहित विभिन्न समयमा खटिने अधिकारीहरूको सम्पर्क विवरण सार्वजनिक गरिएको छ। विदेशी नागरिकसम्बन्धी सोधपुछका लागि इमेल गर्न सकिने प्रहरीले जनाएको छ। बाढीमा बेपत्ता भएका नागरिकका परिवारलाई आधिकारिक माध्यमबाट आफन्तको अवस्थाबारे जानकारी लिन र पहिचान प्रक्रियामा सहयोग पुर्याउन यस्तो व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीपछि हालसम्म १ हजार ४५७ जनाको शव फेला परेको छ भने ५ हजार २ सय ८५ जना अझै बेपत्ता छन् । नदी किनारमा फेला परेका शवमध्ये १ हजार १ सय ४८ वटालाई पहिचान खुल्ने गरी डीएनए नमुना संकलन गरेर सुरक्षित राख्ने उद्देश्यले गाडिएको छ ।