इटालीको विदेश मन्त्रालयले साउदी अरबको सुरक्षा अवस्था निरन्तर बिग्रँदै गएको भन्दै त्यहाँको सबैखाले यात्रा स्थगित गर्न नागरिकलाई पुनः आग्रह गरेको छ।
काठमाडौँ — इटालीको विदेश मन्त्रालयले साउदी अरबको सुरक्षा अवस्था निरन्तर बिग्रँदै गएको भन्दै त्यहाँको सबैखाले यात्रा स्थगित गर्न नागरिकलाई पुनः आग्रह गरेको छ। पछिल्ला केही दिनयता इरानी समर्थित हुथी विद्राेहीले साउदी अरबमा आक्रमण गरिरहेका छन् ।
बुधबार बिहान साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको थियो ।
इटाली सरकारले नागरिकलाई ‘साउदी अरबको सबै यात्रा स्थगित गर्न’ र ‘साउदी भूमिमा रहेका विमानस्थल प्रयोग नगर्न’ आग्रह गरेको छ। त्यसको सट्टा छिमेकी मुलुकका विमानस्थल प्रयोग गर्न सुझाव दिइएको छ।
मन्त्रालयले साउदी अरबभित्र वा त्यहाँबाट अन्य देशमा अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्थामा हवाई यातायातको विकल्प अपनाउन पनि यात्रुहरूलाई सुझाव दिएको छ।
हाल साउदी अरबमा रहेका इटालीका नागरिकलाई अत्यन्तै सतर्कता अपनाउन र स्थानीय अधिकारीका निर्देशन पालना गर्न भनिएको छ। विशेषगरी आपत्कालीन अवस्था उत्पन्न हुँदा सुरक्षित स्थानमै आश्रय लिन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले सैन्य तथा सुरक्षा निकायका प्रतिष्ठान, ऊर्जा तथा यातायात पूर्वाधार र सैन्य गतिविधिबाट प्रभावित क्षेत्रमा नजान पनि नागरिकलाई सचेत गराएको छ।
यमनसँगको सीमा आसपासका क्षेत्रलाई विशेष जोखिमपूर्ण मान्दै साउदी अरबका दक्षिणी प्रान्त जाजान, नजरान र असीरको यात्रा नगर्न मन्त्रालयले पुनः आग्रह गरेको छ। अन्तर्राष्ट्रिय एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे