Trending
Prev Story
Next Story

किराना पसलको समस्याबाट जन्मिएको एप, एक महिनामै डेढ लाख डाउनलोड

Ekantipur •
November 22, 2026 • 04:32 AM
3
3 reads 0 reactions

‘पेमेन्ट स्पिकर नेपाल’ले ईसेवा, खल्ती र समर्थित बैंकिङ एपका नोटिफिकेसनलाई आवाजमा बदल्दै पसलेको काम सजिलो बनाएको छ।

किराना पसलको समस्याबाट जन्मिएको एप, एक महिनामै डेढ लाख डाउनलोड

‘पेमेन्ट स्पिकर नेपाल’ले ईसेवा, खल्ती र समर्थित बैंकिङ एपका नोटिफिकेसनलाई आवाजमा बदल्दै पसलेको काम सजिलो बनाएको छ।

विराटनगर — ग्राहकले सामान किन्छन्, क्यूआर कोड स्क्यान गर्छन्, भुक्तानी गरेको देखाउँछन् र पसले अर्को ग्राहकलाई सामान दिन व्यस्त हुन्छन् । तर, मोबाइलमा रकम प्राप्त भएको सूचना आयो कि आएन भन्ने हेर्न पसलेले फेरि फोनको स्क्रिन खोल्नुपर्ने झन्झट हुन्छ । डिजिटल कारोबार बढ्दै जाँदा यही सामान्य झन्झट विराटनगरका- २५ वर्षीय रोहितकुमार गुप्ताका लागि एप बनाउने आधार बन्यो । आमाबुवालाई मोबाइलमा भुक्तानी आएको जाँच्नुपर्ने झन्झट देखेपछि उनले बनाएको एप अहिले देशभरका व्यवसायीमाझ लोकप्रिय बन्दै गएको छ ।

परिवारको किराना पसलमा आमाबुवाले ग्राहकको भुक्तानी आएको वा नआएको पुष्टि गर्न मोबाइल बारम्बार जाँचेको देखेका उनले त्यसलाई सहज बनाउने जुक्ति निकाले । छुट्टै भुक्तानी स्पिकर किन्ने विकल्प पनि उनीसँग नभएको होइन । तर, एउटा सामान्य किराना पसलका लागि थप उपकरण खरिद गर्नुभन्दा मोबाइलमै उपलब्ध सुविधालाई उपयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ उनी एप बनाउने काममा जुटे ।

‘आमाबुवाले पसलमा ग्राहकले पैसा तिरेपछि मोबाइलमा चेक गरिरहनुभएको देख्थें । त्यही समस्यालाई सहज बनाउन केही गर्न सकिन्छ भन्ने लाग्यो,’ गुप्ताले भने, ‘छुट्टै स्पिकर किन्नुभन्दा मोबाइलबाटै पैसा आएको सूचना आवाजमा सुनाउने एप बनाउन सकिन्छ कि भनेर प्रयास गरें ।’

त्यही प्रयासबाट बनेको ‘पेमेन्ट स्पिकर नेपाल’ नामक एप सार्वजनिक भएको करिब एक महिनामै गुगल प्ले स्टोरमा डेढ लाखभन्दा बढी पटक डाउनलोड भएको छ । परिवारको पसलमा देखिएको दैनिक समस्याबाट सुरु भएको उनको प्रयास अहिले देशभरका पसले तथा व्यवसायीले प्रयोग गर्न थालेका छन् ।

नयाँ भुक्तानी प्रणाली बनाउनु होइन, विद्यमान डिजिटल भुक्तानी प्रणालीबाट आउने सूचना व्यवसायीलाई सहज हुने ढंगले प्रस्तुत गर्नु नै रोहितले विकास गरेको एपको विशेषता हो । ‘ग्राहकले ईसेवा, खल्ती वा समर्थित मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्दा मोबाइलमा आउने नोटिफिकेसनलाई एपले पहिचान गर्छ,’ रोहित सुनाउँछन्, ‘त्यसपछि प्राप्त रकम नेपाली आवाजमा गुन्जिन्छ ।’

एप सञ्चालनका लागि मोबाइलमा नोटिफिकेसन पहुँचको अनुमति दिनुपर्छ । समर्थित भुक्तानी एपबाट सूचना आएपछि त्यसलाई आवाजमा रूपान्तरण गर्ने भएकाले पसलेलाई हरेक कारोबारमा मोबाइलको स्क्रिन हेर्नुपर्ने झन्झट कम हुन्छ । ग्राहकको चाप हुने किराना पसल, खुद्रा बिक्री केन्द्र तथा दैनिक धेरै साना कारोबार हुने व्यवसायमा यस्तो सुविधा उपयोगी हुन सक्ने उनको दाबी छ ।

भुक्तानी प्राप्त भएको सूचना तत्काल सुनाउने भौतिक उपकरण बजारमा उपलब्ध छन् । तर, त्यस्ता उपकरण खरिद गर्न नसक्ने वा अतिरिक्त उपकरण राख्न नचाहने साना व्यवसायीका लागि मोबाइलमै आधारित एप विकल्प बन्न सक्ने रोहित बताउँछन् ।

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि एप निःशुल्क उपलब्ध छ । यसले भुक्तानी प्रक्रिया आफैं गर्दैन, न त बैंक वा डिजिटल वालेटको आधिकारिक कारोबार पुष्टि गर्ने प्रणाली हो । मोबाइलमा प्राप्त भुक्तानीसम्बन्धी नोटिफिकेसनलाई आवाजमा सुनाउने माध्यम मात्र हो । कारोबारको वास्तविक पुष्टि भने सम्बन्धित बैंक वा भुक्तानी एपबाटै गर्नुपर्ने हुन्छ ।

रोहितले बनाएको यो दोस्रो मोबाइल एप हो । यसअघि उनले रक्तदाता खोज्न सहयोग पुग्ने उद्देश्यले ‘ब्लड सेभ नेपाल’ नामक एप बनाएका थिए । सामाजिक उपयोगिताका लागि प्रविधि प्रयोग गर्ने सोचबाट सुरु भएको उनको एप विकास यात्रा अहिले व्यावसायिक आवश्यकतासँग जोडिएको उत्पादनसम्म पुगेको छ ।

कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) अध्ययन गरेका रोहितले हालै हिमालय दर्शन कलेज, विराटनगरबाट स्नातक तह पूरा गरेका हुन् । आईटी क्षेत्रमा थप अध्ययन गर्ने उनको योजना छ । उच्च शिक्षा हासिल गर्न भारत वा अन्य विदेश जाने सोचमा रहेको उनले बताए ।

एप सार्वजनिक भएपछि प्रयोगकर्ताको संख्या बढ्दै गएको र यसबाट केही व्यावसायिक सम्भावना पनि देखिन थालेको उनी बताउँछन् । एपमा राखिएका गुगल विज्ञापनबाट हालसम्म करिब दुई सय अमेरिकी डलर आम्दानी भएको उनको भनाइ छ । ठूलो व्यावसायिक योजना वा लगानीबिना सुरु गरिएको एपबाट प्राप्त यो आम्दानीले प्रविधि उत्पादनलाई उपयोगी बनाउँदै प्रयोगकर्ता विस्तार गर्दा आम्दानीको सम्भावना पनि खोज्न सकिने उनले जनाए ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612