मंसिरभित्रै सेवा अवरोध नहुनेगरी सबै सेवा नयाँ भवनमा सार्ने तयारी रहेको गुल्मी अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डाक्टर विभव बस्यालले जानकारी दिए ।
गुल्मी — गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृह प्रवेश गरिएको छ । शुभसाइत अनुसार आइतबार बिहान विधि अनुसार गृह प्रवेश गरिएको हो ।
मंसिरभित्रै सेवा अवरोध नहुनेगरी सबै सेवा नयाँ भवनमा सार्ने तयारी रहेको गुल्मी अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डाक्टर विभव बस्यालले जानकारी दिए । उनले प्रशासनिक, ओपिडी हुँदै इमरजेन्सी लगायतका सेवा चरणबद्ध तरिकाले नयाँ भवनमा सारिने उनले बताए ।
गुल्मी अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले नयाँ सेवनबाट सेवा प्रारम्भ भएपछि सहजता हुने बताए । उनले निर्माणमा ढिलासुस्ती र ठेक्का तोड्ने लगायतका समस्या हुँदै गृह प्रवेशसम्म आइपुगेको बताए ।
दुई वर्षमा निर्माण सक्नेगरी स्वच्छन्द/बानिया जे.भी. मकवानपुरले ५० शय्याको भूकम्प प्रतिरोधी पाँच तलाको गुल्मी अस्पताल भवन लिफ्टहितको अपाङ्गमैत्री भवन २०७८ असार १८ गते स्वच्छन्द/बानिया जे.भी. मकवानपुरले भ्याट बाहेक कुल २५ करोड ९४ लाख रुपैयाँमा २०८० असार १७ गते सक्ने गरी सम्झौता भएको थियो ।
सघन सहरी तथा भवन निर्माण आयोजना पाल्पाबाट निर्माण कार्यान्वयन भइरहेको यो भवन निर्माण कम्पनीले पहिलो पटक ६ महिना, दोस्रो पटक १ वर्ष र ६ महिना म्याद नथपिकन काम, तेस्रो पटक ६ महिना र चौथो पटक म्याद थप गरी काम भइरहेको छ । काम अहिले बाहिरी मात्रै बाँकी रहेको छ । भवनभित्रको काम सकिएको छ ।
गृह प्रवेशमा रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले पटकपटकको ताकेतापछि निर्माण सकिने र गृह प्रवेशको अवस्था आएको बताए । 'नागरिकलाई छिटो, सहज, सुलभ र विश्वासिलो सेवा विस्तार गर्ने हाम्रो लक्ष्य हो', उनले भने, 'अब लगत्तै गुल्मी अस्पतालमा नयाँ भवनबाट सेवा प्रारम्भ भएपछि सहजता आउनेछ ।'
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले गुल्मी अस्पतालको अत्याधुनिक भवनबाट सेवा प्रारम्भ भएपछि बिरामीका लागि सहजता हुने बताए । उनले स्वास्थ्य क्षेत्रको यो पूर्वाधारले सेवा लिन र दिनका लागि सुधार आउने विश्वास व्यक्त गरे ।