६ मंसिर, धनकुटा । वर्षभरि आफन्त गुमाउँदाको शोक र पीडालाई धार्मिक तथा सांस्कृतिक विधिबाट बिसाएर नयाँ उत्साहका साथ जीवन अघि बढाउने मौलिक परम्परा बोकेको आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड वडाङ्मेट (मंसिरे) पर्व सुरु भएको छ ।
धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई आत्मसात् गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ पर्व मनाउन थालेको हो ।
वडाङ्मेट पर्वका अवसरमा वर्षभरि आमाबुबा वा परिवारका सदस्य गुमाएका समुदायका सदस्य शोकबाट मुक्त हुने धार्मिक परम्परा पूरा गर्न धनकुटाबाट सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलासम्मको पैदल यात्रामा निस्किएका छन् । शनिबार धनकुटाबाट यात्रा सुरु गरेका उनीहरू चार दिनको पैदल यात्रापछि बराहक्षेत्र पुगेर पुनः धनकुटा फर्किने परम्परालाई निरन्तरता दिइरहेका छन् ।
आठपहरिया समुदायमा आफन्त गुमाउँदाको शोकबाट मुक्त हुने र वर्षभरि लागेको जुठोबाट चोखिने विशेष धार्मिक मान्यता छ । सोही मान्यताअनुसार परिवारका सदस्य गुमाएका व्यक्तिहरू बराहक्षेत्र नजिकैको कोकाहा खोलामा पुगेर कपाल र दाह्री खौरिने तथा स्नान गरी दुःख बगाउने गर्छन् ।
चारदिने पैदल यात्रामा निस्किएका आठपहरियाहरू पहिलो दिन धनकुटाको आहालेमा बास बसेका छन् । दोस्रो दिन आइतबार बराहक्षेत्रस्थित कोकाहा खोला पुगेर कपाल र दाह्री खौरिने, स्नान गर्ने तथा बराह भगवानको दर्शन गरी त्यहीँ बास बस्ने कार्यक्रम रहेको आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले जानकारी दिए । धार्मिक विधि पूरा गरेपछि देवता घरमा ल्याउने परम्परासमेत रहेको उनले बताए ।
तेस्रो दिन सोमबार बराहक्षेत्रबाट फर्किने उनीहरू बेलुका धनकुटा नगरपालिकाको बगुवा खोलामा बास बस्नेछन् । मंगलबार धनकुटा आइपुग्ने उनीहरूको यात्राका क्रममा खुला आकाशमुनि नै बास बस्नुपर्ने चलन छ । अरूले बनाएका पार्टीपौवा तथा चौतारामा बास बस्न नहुने मान्यता रहेको छ ।
बुधबार धनकुटा नगरपालिकाका विभिन्न स्थानमा रहेका २२ वटा मार्गा थान मन्दिरमा भेला भएर विधिपूर्वक पूजा गर्ने परम्परा छ ।
वडाङ्मेट पर्व आफन्त गुमाउँदाको शोकबाट मुक्त हुने अवसर मात्र होइन, परिवारमा नयाँ खुसी र उपलब्धिको उत्सव मनाउने पर्वसमेत हो । मार्गा पूजा सम्पन्न भएपछि समुदायका सदस्यले घरघरमा दुःखको कर्म फुकाउने परम्परा पूरा गर्छन् । यस क्रममा वर्षभरि परिवारका सदस्य गुमाएका घरपरिवारले शोकसम्बन्धी परम्परागत विधि सम्पन्न गर्छन् । साथै, घरमा जेठो सन्तान जन्मिएको वा नयाँ घर निर्माण भएको अवसरमा हर्षबढाइ गर्दै आफन्त तथा छरछिमेकीलाई बोलाएर भोज खुवाउने र सामूहिक नाचगान गर्ने चलन छ ।
यो क्रम करिब १५ दिनसम्म चल्ने पुजारी उमेश आठपहरियाले जानकारी दिए । उनका अनुसार समुदायभित्रका हुम्बारक, छिर्लिङे र खावाडो गरी तीन पाछाका पुस्तागत डल्ले नाच तथा मारुनी नाच प्रदर्शन गरिन्छ । मारुनी नाच्ने कलाकारलाई पैसाको माला दान गर्ने चलनसमेत रहेको छ ।
धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले वर्षभरि तीनवटा प्रमुख चाड मनाउँछन् । वैशाखमा विशु, भदौमा न्वागी र कात्तिक वा मंसिरमा वडाङ्मेट पर्व मनाउने गरिन्छ । यी तीनवटै चाड मनाउन विश्वका जुनसुकै ठाउँमा पुगेका भए पनि मूल बसोबास क्षेत्र धनकुटा नै फर्किनुपर्ने मान्यता छ । समुदायले वडाङ्मेटलाई सबैभन्दा ठूलो र महत्वपूर्ण चाडका रूपमा लिने गरेका छन् । भाइटीकापछि उपयुक्त साइत जुराएर माङ्ला उठाएपछि वडाङ्मेट पर्व सुरु गर्ने चलन छ ।
धनकुटा नगरपालिकामा करिब ६ हजार आठपहरिया समुदायका मानिसको बसोबास छ । वडाङ्मेट पर्वका अवसरमा नगरपालिकाले मंसिर ८ र ९ गते सार्वजनिक बिदा दिएको छ ।
सहिदभूमिमा वाढाङ्मी (पापानी) को तयारी
धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोबास गर्ने राई समुदायको पापानी चाड पनि सुरु हुँदैछ । नयाँ बाली भित्र्याएको खुसीयालीमा मनाइने यो पर्व कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मंगलबार सहिदभूमि गाउँपालिका–३ स्थित साकेन्वा थानमा पूजा गरेपछि सुरु हुने परम्परा छ ।
यस वर्ष कात्तिक पूर्णिमा मंसिर ८ गते मंगलबार परेकाले सोही दिनदेखि पापानी चाड सुरु हुने स्थानीयवासी नरेन्द्र कश्चित राईले जानकारी दिए ।
पापानी पर्वमा किरात राई समुदायले कुलदेवताको पूजाआराधना गर्दै ढोल र झ्याम्टा बजाएर छ दिन छ रातसम्म नाचगान गर्छन् । एकअर्कासँग कुम जोडेर गोलो घेरामा खुट्टा तीन कदम अगाडि र पछाडि सार्दै नाच्नु यस पर्वको विशेषता हो । नयाँ बाली भित्र्याएको खुसी साटासाट गर्दै इष्टदेवताको पूजा र सामूहिक नाचगानका साथ पर्व मनाइन्छ ।
पर्वको पहिलो दिन गाउँभरिका गढी घरका ढोलहरू मूल पुजारीको घरमा भेला गरी पूजा गरेपछि पापानी सुरु हुन्छ । दोस्रो दिन घरघरमा देवीदेवता भित्र्याएर पूजा गर्ने र माङ्ला अर्थात् जोखाना हेर्ने चलन छ ।
पर्वको अन्तिमतिर इष्टदेवता फुढाहाङ (बुढाहाङ) को प्रतीक ङाङसुबाथिङको घर हुँदै गढी घर, पथ्थरे र मझियाको गढी घरमा पूजा गर्ने परम्परा छ । पापानी पर्वका अवसरमा सहिदभूमि गाउँपालिकाले मंसिर १३ र १४ गते सार्वजनिक बिदा दिएको छ ।
सहिदभूमि गाउँपालिकाका अधिकांश क्षेत्रमा वाढाङ्मी (पापानी) मनाउने राई समुदायको बसोबास छ ।