Trending
Prev Story
Next Story

आठपहरियाको ठूलो चाड वडाङ्मी सुरु, जन्मदेखि मृत्युसम्मका सबै कर्म एउटै चाडमा

Ekantipur •
November 20, 2026 • 06:32 AM
4
4 reads 0 reactions

माङ्लाङ उठाएपछि सुरु भएको पर्वमा शोकबाट उक्सिने बराहक्षेत्र यात्रा, भोज, नाचगान र मौलिक संस्कृतिका कार्यक्रम एक महिनासम्म चल्नेछन्।

आठपहरियाको ठूलो चाड वडाङ्मी सुरु, जन्मदेखि मृत्युसम्मका सबै कर्म एउटै चाडमा

माङ्लाङ उठाएपछि सुरु भएको पर्वमा शोकबाट उक्सिने बराहक्षेत्र यात्रा, भोज, नाचगान र मौलिक संस्कृतिका कार्यक्रम एक महिनासम्म चल्नेछन्।

धनकुटा — धनकुटामा मुख्य बसोबास रहेको किराँत आठपहरिया समुदायको सबैभन्दा ठूलो तथा महत्त्वपूर्ण चाड वडाङ्मी (मङ्सिरे चाड) सुरु भएको छ ।

मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको यो पर्व विभिन्न विधि र परम्पराअनुसार करिब एक महिनासम्म मनाइने गरिन्छ ।

धनकुटा नगरपालिका–५ स्थित आठपहरिया समुदायको मुख्य थलो ठूलो घर अर्थात् ५२ चुलो घरमा बिहिबार बेलुका माङ्लाङ उठाएपछि पर्व औपचारिक रूपमा सुरु भएको वडा ५ का अध्यक्ष तथा आठपहरिया अगुवा धनकुमार आठपहरियाले बताए । उनका अनुसार वर्षभरि दिवङ्गत भएका आफन्तको शोकबाट उक्सिने, परिवारमा नयाँ सन्तान जन्मिएको तथा नयाँ घर निर्माण गरेको खुसीयाली मनाउने यस पर्वको विशेष महत्त्व छ ।

आठपहरिया समुदायले वैशाखे, भदौरे र मङ्सिरे गरी वर्षमा तीनवटा प्रमुख चाड मनाउने गरे पनि वडाङ्मीलाई सबैभन्दा ठूलो पर्वका रूपमा लिने गरेका छन् । यो पर्व दुःख र खुसी दुवैलाई सामूहिक रूपमा बाँड्ने अवसरसमेत हो।

वडाङ्मीको महत्त्वपूर्ण परम्परामध्ये वर्षभरि परिवारका सदस्य गुमाएका आफन्त शोकबाट उक्सिने विधि हो । यसका लागि मृतकका परिवारका सदस्य धनकुटाबाट पैदल यात्रा गर्दै सुनसरीको बराहक्षेत्र पुग्ने गर्छन् । बराहक्षेत्रको यात्रा भोलिबाट सुरु गर्ने परम्परा भए पनि शनिबार परेकाले यस वर्ष शुक्रबार नै यात्रा सुरु गरिएको आठपहरिया अगुवा कोमल आठपहरियाले बताए ।

परम्पराअनुसार उनीहरू बराहक्षेत्रस्थित कोकाहा खोलामा स्नान गरी कपाल र दाह्री खौरिन्छन् । काटिएको कपाल खोलामा बगाएपछि बराह भगवान्को दर्शन गरी शिला अर्थात् देउता लिएर घर फर्कने चलन छ । यात्राका क्रममा साँगुरीगढी गाउँपालिकामा पर्ने आहाले र भञ्ज्याङ (सिमलबाँस) क्षेत्रमा बास बस्ने गरिन्छ ।

फर्कने क्रममा तमोर नदी किनारको मूलघाटस्थित भगुवा खोलामा बास बसेर पूर्णिमाका दिन घर आइपुग्ने परम्परा रहेको आठपहरिया समुदायका पुजारी बताउँछन् । घर फर्किएपछि परिवारको शोकसम्बन्धी कर्म फुकाइन्छ । यसरी वडाङ्मीलाई आफन्त गुमाउँदाको पीडाबाट बाहिर निस्केर पुनः सामाजिक तथा सांस्कृतिक जीवनमा फर्किने अवसरका रूपमा लिने गरिएको आठपहरिया युवा सरोज आठपहरियाले बताए ।

शोकबाट उक्सिने परम्परासँगै यस पर्वमा खुसीयाली र उत्सवका कार्यक्रम पनि हुन्छन् । घरमा जेठो छोरो जन्मिएको वा नयाँ घर निर्माण गरेको अवसरमा आफन्त तथा इष्टमित्रलाई बोलाएर भोज खुवाउने र परम्परागत बाजागाजासहित नाचगान गर्ने चलन छ ।

आठपहरिया समुदायको मौलिक भेषभूषामा सजिएर ढोल, मारुनीलगायत सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरिन्छ। समुदायभित्रका हुम्वारक, छिर्लिङे र खावाडो गरी तीन पाछाको पुस्तागत पहिचान झल्काउने डल्ले नाच पर्वको अर्को आकर्षण हो । पर्वका क्रममा समुदायका सदस्य घरघरमा पुगेर नाचगान गर्ने गर्छन् । यस्तो सांस्कृतिक गतिविधि औँसीसम्म जारी रहने परम्परा छ ।

वडाङ्मीका अवसरमा आफ्नै मौलिक परिकार, भेषभूषा र रीतिरिवाजलाई विशेष महत्त्व दिइन्छ । यसले आठपहरिया समुदायको पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सहयोग पुर्‍याउँदै आएको छ । यसैबीच, धनकुटा नगरपालिकाले वडाङ्मी पर्वका अवसरमा मङ्सिर ८ र ९ गते दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले जारी गरेको सूचनाअनुसार उक्त दिन नगर क्षेत्रका सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द रहनेछन् । अत्यावश्यक सेवा भने नियमित सञ्चालन हुनेछन् ।

धनकुटा नगर क्षेत्रमा मुख्य बसोबास रहेको आठपहरिया समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्मानका लागि नगरपालिकाले हरेक वर्ष वडाङ्मीका अवसरमा स्थानीय बिदा दिँदै आएको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Related Stories

Education & Youth
Build #2612