Trending
Prev Story
Next Story

युद्धको असर उजागर गर्न हर्मुज जलमार्गमा पौडी

Ekantipur •
November 22, 2026 • 01:32 AM
3
3 reads 0 reactions

नजिकै तेल ट्यांकरमाथि आक्रमण र विस्फोट भइरहेका बेला लामो दूरीका पौडीबाज लुइस पगले हर्मुज जलमार्गका विभिन्न क्षेत्रमा तीन दिन पौडी खेलेका छन्।

युद्धको असर उजागर गर्न हर्मुज जलमार्गमा पौडी

नजिकै तेल ट्यांकरमाथि आक्रमण र विस्फोट भइरहेका बेला लामो दूरीका पौडीबाज लुइस पगले हर्मुज जलमार्गका विभिन्न क्षेत्रमा तीन दिन पौडी खेलेका छन्।

लन्डन — वातावरण संरक्षणका मुद्दामा विश्वको ध्यानाकर्षण गराउन बेलायती लामो दूरीका पौडीबाज लुइस पगले उत्तरी ध्रुवदेखि अन्टार्कटिकासम्मका समुद्रमा पौडी खेलिसकेका छन् । तर यस पटकको उनको चुनौती फरक थियो । नजिकै तेल ट्यांकरमाथि आक्रमण र विस्फोट भइरहेका बेला उनले हर्मुज जलमार्गमा पौडी खेले ।

संयुक्त राष्ट्रसंघका महासागरसम्बन्धी सद्भावना दूतसमेत रहेका पगले यो साता तीन दिन लगाएर उक्त जोखिमपूर्ण समुद्री मार्गका विभिन्न क्षेत्रमा पौडी खेले । इरानसँगको युद्धले त्यहाँको समुद्री पारिस्थितिक प्रणाली र वन्यजन्तुमा पारेको जोखिमबारे ध्यानाकर्षण गराउनु उनको उद्देश्य थियो ।

पौडी खेल्ने कट्टु, चस्मा र संयुक्त राष्ट्रसंघको लोगो अंकित टोपी लगाएर उनी जलमार्गको दक्षिणी छेउमा रहेको मुसन्दम प्रायद्वीपबाट पानीमा प्रवेश गरेका थिए । त्यहाँबाट हर्मुज तटीय भागको फन्को लगाउँदै उनले करिब १५ किलोमिटर (९.३ माइल) दूरी पार गरे । युद्ध सुरु भएयता उक्त क्षेत्रमा लामो दूरीको पौडी खेल्ने उनी पहिलो व्यक्ति भएको विश्वास गरिएको छ । पगका अनुसार सोमबार पानीमा प्रवेश गरेको केही मिनेटमै उनले समुद्र थर्काउने गरी दुई वटा ठूलो विस्फोटको आवाज सुने ।

लन्डन फर्किएपछि एसोसिएटेड प्रेससँग उनले भने, ‘मैले माथि हेर्दा करिब चार किलोमिटर टाढा रहेको एउटा तेल ट्यांकरमा आक्रमण भएको देखें । विस्फोटको आवाज निकै ठूलो थियो । दुई पटक धमाका भयो र त्यसपछि लडाकु विमानहरू त्यतातिर आए । त्यही क्षण मैले महसुस गरें— म तत्कालै यहाँबाट निस्कनुपर्छ ।’ ५६ वर्षीय पगले पटकपटक रोकिँदै र पुनः पौडी खेल्दै आफ्नो चुनौती पूरा गरे ।

यस क्रममा आक्रमणमा परेको अर्को पानीजहाज पनि उनले पार गरे । आक्रमणपछि उक्त जहाजबाट आगोका ठूला लप्का आकाशतिर उठेका थिए । ‘धेरै मानिसले हर्मुज जलमार्गलाई पानीजहाज आवतजावत गर्ने मार्गका रूपमा मात्रै बुझ्छन्,’ उनले भने, ‘तर यो मैले अहिलेसम्म देखेका सबैभन्दा सुन्दर ठाउँमध्ये एक हो । प्राकृतिक संसारको एउटा अमूल्य सम्पदा पनि हो ।’ उनले थपे, ‘यति धेरै पानीजहाज डुबिरहेका बेला यो क्षेत्र गम्भीर जोखिममा छ । यसलाई पुरानै अवस्थामा फर्काउन वर्षौं, दशकौं लाग्नेछ ।’

तेल चुहावटले डल्फिन र म्यान्ग्रोभ वन जोखिममा

क्षतिग्रस्त भएका दर्जनौं तेल ट्यांकरबाट चुहिने तेलले त्यस क्षेत्रका वन्यजन्तु, समुद्री तट, म्यान्ग्रोभ वनमा दीर्घकालीन असर पार्न सक्ने पौडीबाज पगको चेतावनी इरानले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयासस्वरूप आफूले अनुमति नदिएको मार्गबाट आवतजावत गरेको दाबी गरिएका पानीजहाजमाथि आक्रमण बढाएको छ । अमेरिकाले इजरायलसँग मिलेर फेब्रुअरी २८ मा युद्ध सुरु गर्नुअघि विश्वभर कारोबार हुने कुल तेलको पाँच भागको एक भाग यही समुद्री मार्ग हुँदै ओसारपसार हुन्थ्यो ।

तेहरानले समुद्रमा बिछ्याएका बारुदी सुरुङमा ठोक्किएर पनि केही तेल ट्यांकर दुर्घटनामा परेका छन् । तीमध्ये केहीमा विस्फोट भएर आगलागी भएको थियो । गत महिना मात्रै २० लाख ब्यारेलभन्दा बढी तेल बोकेको एउटा ट्यांकर पनि त्यस्तो दुर्घटनामा परेको थियो ।

फेब्रुअरीयता क्षतिग्रस्त भएका दर्जनौं तेल ट्यांकरबाट चुहिने तेलले यस क्षेत्रका वन्यजन्तु, समुद्री तट, म्यान्ग्रोभ वनमा दीर्घकालीन असर पार्न सक्ने पगले चेतावनी दिएका छन् । समुद्री यात्राका क्रममा आफ्नो डुंगाको पछिपछि ठूलो संख्यामा डल्फिन आएको उनले देखेका थिए ।

त्यस्तै, कछुवा र ओस्प्रे (माछा मार्ने एक प्रजातिको चरा) पनि देखेका थिए । युद्ध सुरु हुनुअघि ओमानको तटीय क्षेत्रमा पौडी खेल्दा देखेका सयौं कछुवाको दृश्यले पनि उनलाई प्रभाव पारेको थियो । ‘तेल वा रासायनिक प्रदूषण समुद्रमा मिसिएपछि त्यसलाई सफा गर्न निकै कठिन हुन्छ,’ उनले भने, ‘यसको असर पुस्तौंसम्म रहन्छ ।’

पगले यसअघि अत्यधिक चिसो तापक्रम र ठूला सार्कजस्ता खतरनाक समुद्री जीवको सामना गरिसकेका छन् । तर युद्धग्रस्त क्षेत्रमा पौडी खेल्नु उनका लागि बिल्कुलै नयाँ र जोखिमपूर्ण अनुभव थियो । सुरक्षालाई ध्यानमा राख्दै उनले तीन दिनमा विभिन्न चरणमा पौडी खेले । यस क्रममा कुल साढे छ घण्टाजति पानीमा बिताए । दोस्रो दिन पौडी सकेर बन्दरगाह फर्किने क्रममा एउटा ग्यासवाहक पानीजहाजमाथि आक्रमण भएको उनले देखेका थिए ।

‘त्यो ग्यासवाहक जहाजको छेउबाट गुज्रिएको क्षण म कहिल्यै बिर्सने छैन । त्यहाँ रसायनको गन्ध थियो । आगोका लप्का आकाशतिर उडिरहेका थिए । ती साँच्चिकै आगोका गोलाजस्ता देखिन्थे । जहाज वरिपरिको पानीमै आगो लागेको थियो,’ पगले भने । उनले थपे, ‘यस्तो दुर्घटनाले प्रकृतिमा पार्ने असर सम्झिँदा त्यसको गम्भीरता निकै भयावह लाग्छ ।’

वातावरण संरक्षणका लागि खेलकुदको उपयोग

पगले समुद्री वातावरणलाई जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको ह्रासबाट जोगाउन थप पहल गर्न दबाब सिर्जना गर्ने उद्देश्यले करिब ४० वर्षदेखि विभिन्न समुद्री क्षेत्रमा पौडी खेल्दै आएका छन् । उनको अभियान अन्टार्कटिकादेखि लालसागर र इंग्लिस च्यानलसम्म फैलिएको छ ।

उनी उत्तरी ध्रुव पार गरेर पौडी खेल्ने पहिलो खेलाडी हुन् । विश्वका सबै महासागरमा लामो दूरीको पौडी पूरा गर्ने खेलाडी पनि उनी नै हुन् । सन् २०२३ मा स्वच्छ नदीको महत्त्वबारे ध्यानाकर्षण गराउन उनले अमेरिकाको हड्सन नदीमा ३१५ माइल (५०७ किलोमिटर) पौडी खेलेका थिए । लामो दूरीको पौडी र राजनीतिक पैरवीलाई एकसाथ अघि बढाउने उनको शैलीलाई कतिपयले ‘स्पिडो कूटनीति’ नाम दिएका छन् ।

‘खेलकुदले नयाँ ढोका खोल्छ, संवादको वातावरण बनाउँछ र मानिसलाई महत्त्वपूर्ण मुद्दाबारे सोच्न प्रेरित गर्छ,’ पगले भने, ‘मेरो सन्देश एकदमै सरल छ । हामीले युद्ध रोक्नुपर्छ, जलमार्ग खुला गर्नुपर्छ र प्रदूषण हटाउनुपर्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुज जलमार्गको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ।

#हर्मुज #जलमार्ग
Compare →
Hamro Patro News
2d ago
चीनमा सी–ट्रम्पबिच द्विपक्षीय बैठक : युक्रेन युद्धदेखि हर्मुज स्ट्रेटसम्म संवाद

चीनमा सी–ट्रम्पबिच द्विपक्षीय बैठक : युक्रेन युद्धदेखि हर्मुज स्ट्रेटसम्म संवाद

चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार द्विपक्षीय बैठक सम्पन्न भएको छ। बैठकको सुरुमा ट्रम्पले व्यापार, हर्मुज स्ट्रेट,...

#हर्मुज #युद्ध
Compare →
Arthasansar
1w ago
मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्वमा चर्किएको युद्ध र विश्वव्यापी ऊर्जा संकटको प्रभाव म्यानमारको गृहयुद्धमा समेत देखिन थालेको छ । इरानमाथि अमेरिका र इजरायलको युद्धका...

#युद्ध #असर
Compare →

Related Stories

World News
Build #2612