विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको नित्य पूजा आराधना तथा मूर्त, अमूर्त सांस्कृतिक क्रियाकलाप रोकिँदा यसको महत्वमाथि नै प्रश्न उठ्न सक्ने भन्दै विद्वान्हरूले पशुपतिनाथको नित्य र नैमित्तिक पूजा, आराधना तथा परम्परालाई विधिवत् र पूर्ववत् रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
पशुपति अर्चना सुव्यवस्था प्रतिष्ठान, विद्वत् परिषद्को आजको बैठकमा विद्वान्हरूले उक्त जोड दिएका हुन्।
बैठकले पशुपतिनाथको पूजा तथा आराधनाको पद्धतिबारे जानकारी दिने गरी प्रकाशन गर्दै आएको पुस्तकलाई समेत निरन्तरता दिने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद चापागाइँले राससलाई जानकारी दिए। त्यस्तो अवस्था नआई पशुपतिनाथको महत्व निरन्तर स्थापित भइरहोस् भनी छलफल आयोजना गरिएको उनले सुनाए।
कार्यक्रममा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा विधिपूर्वक नियमित भएको छ वा छैन भनी बुझेर यथोचित गराउने उद्देश्यले २०६६ सालमा प्रतिष्ठान स्थापना भएको जानकारी गराइएको थियो। पशुपतिनाथको पाँच दिन र बासुकीनाथको १७ दिन नित्य पूजा रोकिएपछि प्रतिष्ठान स्थापना भएको उल्लेख गरियो।
विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्र पशुपतिनाथसम्बन्धी उक्त कार्यक्रममा प्रा. दीर्घराज घिमिरे, प्रा. डा. ऋषिराम पोखरेल, प्रा. विद्यानाथ उपाध्याय भट्ट, प्रा. डा. विनुबाबा अर्याललगायत विद्वान् एवं विदुषीहरूको उपस्थिति थियो।
प्रकाशित: ५ मंसिर २०८३ २२:१३ शनिबार