बैंकिङ र केही जलविद्युत् कम्पनीका सेयरमा तुलनात्मक आकर्षण देखिए पनि दैनिक कारोबारमा आएको गिरावट र कमजोर आर्थिक वृद्धिको सम्भावनाले बजारको सुधारलाई सीमित पारेको छ ।
काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १–४ मंसिरसम्मका चार कारोबार दिनमा ३३.९३ अंक अर्थात् १.२८ प्रतिशतले घटेर २६२१.२९ विन्दुमा पुगेको छ । परिसूचकमा देखिएको तुलनात्मक रूपमा सामान्य गिरावटले कारोबारमा आएको ठूलो सुस्ततालाई भने छोपेको छ । यसले बैंकिङ र जलविद्युत् कम्पनीका केही सेयरमा आकर्षण देखिए पनि समग्रमा लगानीकर्ता अझै सतर्क रहेको संकेत गर्छ ।
यो तुलना १६–२० कात्तिकसम्मको अघिल्लो पूर्ण पाँच कारोबार दिनको अवधिसँग गरिएको हो । उक्त अवधिको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६५५.२२ विन्दुमा बन्द भएको थियो । तिहार बिदापछि बजार २७ कात्तिकमा एक दिन मात्रै खुलेको थियो । त्यसैले उक्त एक दिनलाई अर्थपूर्ण साप्ताहिक तुलनाको आधार मान्न सकिँदैन ।
गत साता ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.११ अंक अर्थात् ०.६५ प्रतिशतले घटेर ४७७.०१ विन्दुमा झरेको छ । फ्लोट इन्डेक्स पनि १.६७ अंक अर्थात् ०.९१ प्रतिशतले घटेर १८२.३७ विन्दुमा पुगेको छ । बजारको कुल पुँजीकरण ६० अर्ब रुपैयाँ अर्थात् १.३१ प्रतिशतले घटेर ४५ खर्ब १० अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो तुलनायोग्य अवधिमा यो ४५ खर्ब ७० अर्ब रुपैयाँ थियो ।
चार कारोबार दिनमा कुल १६ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो पूर्ण पाँच कारोबार दिनमा २८ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो । कारोबार रकम ४३.०२ प्रतिशतले घटेको हो । दैनिक औसत कारोबार रकम पनि ५ अर्ब ६५ करोडबाट ४ अर्ब २ करोड रुपैयाँमा झरेको छ । यो २८.७८ प्रतिशतको गिरावट हो । यसले कारोबार दिन कम भएकाले मात्रै कारोबार रकम घटेको नभई बजारमा समग्र गतिविधि नै सुस्ताएको देखाउँछ ।
समीक्षा अवधिमा १३ मध्ये ११ वटा उपसमूहका सूचक घटेका छन् । यसले बजारलाई टेवा दिने क्षेत्र सीमित रहेको देखाउँछ । बैंकिङ उपसमूह ०.३० प्रतिशतले बढेर १५८५.९१ विन्दुमा पुगेको छ । म्युचुअल फन्ड उपसमूह पनि ०.२५ प्रतिशतले बढेर २०.०६ विन्दुमा कायम भएको छ । अन्य उपसमूह सबैभन्दा धेरै ३.४० प्रतिशतले घटेर १८२४.६६ विन्दुमा झरेको छ । जीवन बिमा ३.०५ प्रतिशतले घटेर ११,५३५.५६, व्यापार २.८१ प्रतिशतले घटेर ३१३१.०३ विन्दुमा झरेको छ । वित्त र लघुवित्त उपसमूह क्रमशः २.१७ र १.९७ प्रतिशतले घटेका छन् ।
बजार विश्लेषकहरूका अनुसार जीवन बिमा कम्पनीका वित्तीय विवरण अपेक्षाअनुसार नआएपछि लगानीकर्ताले आफ्नो लगानीबारे पुनर्विचार गर्न थालेका छन् । लाभांश पनि अपेक्षाभन्दा कम हुने अनुमानमा बैंकहरूले जीवन बिमा कम्पनीका सेयर बेच्न थालेका छन् । क्षेत्रगत परिसूचकको प्रदर्शनले लगानीकर्ताहरू कमजोर नाफा र बजार मनोविज्ञानको जोखिममा रहेका अन्य क्षेत्रभन्दा बैंकिङ सेयरप्रति आकर्षित भएको देखाउँछ । तर, बैंकिङ समूहको झिनो वृद्धि समग्र बजार उकालो लाग्न पर्याप्त देखिएको छैन ।
समग्र कारोबार घटे पनि केही कम्पनीका सेयरमा उल्लेख्य कारोबार भएको छ । कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स पहिलो स्थानमा रह्यो । कम्पनीको ५९ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भए पनि मूल्य १.६८ प्रतिशतले घटेर प्रतिकित्ता ५८९ रुपैयाँ ९० पैसा कायम भएको छ । रिलायन्स स्पिनिङ मिल्सको ५८ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । यसको सेयर मूल्य २.२५ प्रतिशतले बढेर प्रतिकित्ता २,७३० रुपैयाँ पुगेको छ । ग्लोबल आईएमई बैंकको ४६ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । उक्त बैंकको सेयर मूल्य १.६९ प्रतिशतले बढेर प्रतिकित्ता २७० रुपैयाँ ४० पैसा कायम भएको छ ।
जलविद्युत् कम्पनी घलेम्दी हाइड्रो र पिपुल्स हाइड्रोपावर पनि सर्वाधिक कारोबार हुने पाँच कम्पनीभित्र परेका छन् । यी कम्पनीको क्रमशः ४५ करोड ३९ लाख र ४० करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा ग्लोबल आईएमई बैंक पहिलो स्थानमा छ । बैंकका १७ लाख ३७ हजार कित्ता सेयर किनबेच भएका छन् । त्यसपछि घलेम्दी हाइड्रोका १३ लाख ८३ हजार, एनआईसी एसिया बैंकका ११ लाख ३५ हजार, पिपुल्स हाइड्रोपावरका ११ लाख १० हजार र श्वेतगंगा हाइड्रोपावरका ११ लाख १ हजार कित्ता सेयर कारोबार भएका छन् ।
समीक्षा अवधिमा बोटलर्स नेपाल (तराई) सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनी बनेको छ । यसको सेयर मूल्य ७.८४ प्रतिशतले बढेर प्रतिकित्ता १२ हजार ८३३ रुपैयाँ पुगेको छ । अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य ६.५४ प्रतिशत र डोल्टी पावरको ६.१७ प्रतिशतले बढेको छ । एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १५.९३ प्रतिशतले घटेर प्रतिकित्ता १०५० रुपैयाँमा झरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ११.९० प्रतिशत र पाल्पा सिमेन्ट इन्डस्ट्रिजको १०.५५ प्रतिशतले मूल्य घटेको छ । कम्पनीपिच्छे सेयर मूल्यमा देखिएको भिन्नताले लगानीकर्ताले समग्र बजारमा लगानी फैलाउनुभन्दा छानिएका कम्पनीमा मात्रै चासो देखाएको संकेत गर्छ ।
चार्टर्ड एकाउन्टेन्ट तथा बजार विश्लेषक मनीष अर्यालले सरकारको सकारात्मक दृष्टिकोण र नीतिगत वातावरणका कारण आफू बजारप्रति आशावादी रहेको बताए । उनका अनुसार नेप्से लामो समयदेखि साइडवेजमा रहे पनि बोनस सेयर र हकप्रद सेयर निष्कासनबाट बजारमा थपिएको आपूर्तिलाई ठूलो गिरावटबिना थेग्न सक्नु सकारात्मक हो । ठूला संस्थागत लगानीकर्ताको उपस्थिति नभए पनि बजारले यस्तो आपूर्ति धानिरहेको उनले बताए ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जा करिब १ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । यसले बजारको तरलतालाई टेवा दिन सक्ने अर्यालको भनाइ छ । बैंकिङ क्षेत्रका सेयर र बलिया वित्तीय आधार भएका केही जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको उनले बताए ।
अर्यालले आगामी साता बैंकिङ क्षेत्रका सेयर सकारात्मक रहने अपेक्षा गरेका छन् । नेप्सेमा बैंकिङ क्षेत्रको भार तुलनात्मक रूपमा ठूलो भएकाले बैंकका सेयरको मूल्य बढ्दा समग्र परिसूचकलाई पनि टेवा पुग्न सक्छ । बैंकहरूले आगामी बुल रनको नेतृत्व गर्न सक्ने उनको आकलन छ । तर बजारमा दिगो वृद्धि हुन दैनिक कारोबार कम्तीमा ६ अर्ब रुपैयाँ पुग्नुपर्ने उनको भनाइ छ । अहिलेको दैनिक औसत कारोबार ४ अर्ब २ करोड रुपैयाँ मात्रै छ ।
बजार विश्लेषक अजयसिंह थापाले नेप्से ३००० विन्दुसम्म पुग्न सक्ने भए पनि अर्थतन्त्रमा सुधार नभएसम्म दिगो वृद्धि कठिन हुने बताए । नेपालको आर्थिक वृद्धिको सम्भावना कमजोर देखिएको छ । एसियाली विकास बैंकले चालु आर्थिक वर्षमा ४.१ प्रतिशत र विश्व बैंकले ३.७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका छन् । दुवै संस्थाको प्रक्षेपणमा १० भदौको बाढीको आर्थिक प्रभाव समेटिएको छ ।
थापाका अनुसार बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि लगानीकर्ता अझै हिचकिचाइरहेका छन् । व्यवसायीले ऋण लिन इच्छा नदेखाउँदा बैंकहरूलाई कर्जा विस्तार गर्न कठिन भएको छ । नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङसहित नयाँ वित्तीय उपकरण ल्याउने योजनाले पनि लगानीकर्ता र कारोबार गर्नेहरूमा अन्योल थपेको उनले बताए ।
प्राविधिक रूपमा नेप्से अहिले साँघुरो दायरामा सीमित भएर चलिरहेको छ । कात्तिकको सुरुतिर २७०० विन्दु आसपास पुगेको परिसूचकले त्यसलाई कायम राख्न नसकेपछि बजार यस्तो अवस्थामा पुगेको हो । नेप्से २६२१.२९ विन्दुमा बन्द हुँदा २० दिने र ५० दिने एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) दुवैभन्दा तल छ । यसले अल्पकालीन रूपमा बजारमा प्रतिरोध रहेको संकेत गर्छ ।
यद्यपि, पछिल्ला कारोबार दिनमा देखिएका साना आकारका क्यान्डल र घट्दो बिक्री चापले लगानीकर्तामा तीव्र रूपमा सेयर बेच्ने दबाब नरहेको देखाउँछ । १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४६.०५ मा छ, जुन तटस्थ अवस्था हो ।
तत्कालका लागि २६०० देखि २६१५ विन्दुलाई बजारको टेवा क्षेत्र मानिएको छ । कारोबार रकम बढ्दै जाँदा परिसूचक २६३० देखि २६३६ विन्दुको मुभिङ एभरेज क्षेत्रभन्दा माथि उक्लिएमा बजारमा पुनः सकारात्मक गति आउन सक्छ । तर मनोवैज्ञानिक आधार मानिएको २६०० विन्दुभन्दा तल निर्णायक रूपमा झरेमा परिसूचक २५६० विन्दुसम्म पुग्न सक्ने देखिन्छ ।
नेप्सेको स्थिरता र छानिएका सेयरमा देखिएको खरिद आकर्षणले बजारलाई केही टेवा दिए पनि घट्दो कारोबार, कमजोर आर्थिक वृद्धिको सम्भावना र सीमित लगानीकर्ता सहभागिताले बजार अझै समेकनको चरणमा रहेको संकेत गर्छ । दिगो सुधारका लागि लगानीकर्ताको व्यापक सहभागिता, कम्पनीहरूको वित्तीय नतिजामा सुधार र बैंकिङ प्रणालीको तरलतालाई लगानी तथा व्यावसायिक गतिविधिमा रूपान्तरण गर्न सक्ने आर्थिक पुनरुत्थान आवश्यक हुनेछ ।
प्रितम भट्टराई काठमान्डु पोस्टका पत्रकार हुन् ।