दाङमा होटलका दुई कोठा भाडामा लिएर अनलाइन सट्टेबाजी गराउने एक नेपालीसहित पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चार भारतीय नागरिकसमेत रहेका छन्। प्रहरीका अनुसार उनीहरूले नेपाल प्रिमियर लिग (एनपीएल) लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सट्टेबाजी गराउँदै आएका थिए।
लमही नगरपालिका-५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजमा सट्टेबाजीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। शुक्रबार साँझ करिब ७:३० बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले होटलको तेस्रो तलामा रहेका २०३ र २०४ नम्बरका कोठामा खानतलासी गरेको थियो।
त्यसक्रममा उनीहरूले कुश ७७७ लगायतका अनलाइन प्लेटफर्ममार्फत सट्टेबाजी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनास्थलबाट सट्टेबाजीमा प्रयोग भएका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल गरी १८ वटा विद्युतीय उपकरण बरामद गरेको छ।
पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ मंसिर २०८३ १७:५१ शनिबार