कीर्तिपुरमा लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएपछि सुदूरपश्चिमले उपाधिका लागि यो लक्ष्य पछ्याउनेछ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जित्न १ सय ५६ रनको लक्ष्य पाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस हारेपछि ब्याटिङमा आएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५५ रन बनायो ।
नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेखले पुनः लुम्बिनीलाई निराश बनाए । उनी १ रनमात्र बनाई स्कट कुग्लेनको बलमा एलबीडब्ल्यू आउट भए । अर्का ओपनर डीआरसी शर्टले १८ बलमा २१ रन बनाए । उनले चार चौका प्रहार गरे । पहिलो पावरप्लेको अन्तिम ओभर लिएर आएका कप्तान दीपेन्द्रसिंह ऐरीले शर्टलाई बोल्ड गरे ।
निरोशन डिकवेलाले १७ बलमा २८ रन जोडे । उनले १ चौका र २ छक्का प्रहार गरे । अर्का श्रीलंकाली खेलाडी थारिन्दु रथ्नायकेले उनलाई बोल्ड गरे । कप्तान रोहित पौडेलले ३० रन बनाए । दिलीप नाथको कलमा रनआउट हुन पुगेका रोहितले ३१ बल खेल्दै २ चौका प्रहार गरे ।
सन्दीप जोरा ४ रनमै आउट भए । दिलीप र अली शेखले छैटौं विकेटमा १९ बलमा ३३ रनको साझेदारी गरेपछि लुम्बिनीले १ सय ५० रनको स्कोर पार गरेको थियो । अमेरिकी ब्याटर अलीले १२ बल खेली समान २ चौका र छक्का प्रहार गर्दै २४ रन बनाए । उनको स्थानमा आएका रुबेल ट्रम्पलम्यान २ बलमा ४ रन बनाई अविजित रहे ।
दिलीपले सर्वाधिक ३९ रन बनाई अविजित रहे । ३१ बल खेलेका उनले ३ छक्का प्रहार गरे । सुदूरपश्चिमबाट कुग्लेनले २ विकेट लिँदै प्रतियोगितामा आफ्नो विकेट संख्या १५ पुर्याए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चितवन राइनोजका रिजन ढकालभन्दा २ विकेटले पछाडि छन् । कुग्लेनले ४ ओभरमा २५ रनमात्र खर्चे । हेमन्त धामी, रत्नायके र दीपेन्द्रले १–१ विकेट लिए ।
लुम्बिनी उपाधि रक्षा गर्ने अभियानमा छ भने सुदूरपश्चिम पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ । गत वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई नै एकतर्फी फाइनलमा पराजित गरेको थियो । लगातार तेस्रो वर्ष फाइनल खेलिरहेको सुदूरपश्चिम पहिलो सिजनको फाइनलमा पनि जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।