लुम्बिनी लायन्सका ओपनर आसिफलाई स्कट कुग्लेनले एलबीडब्ल्यू आउट गरेपछि लिइएको डीआरएसमा पनि बलले स्टम्प हिर्काएको देखियो।
काठमाडौँ — नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेखले शनिबार नेपाल प्रिमियर लिगको फाइनलमा पनि निराश बनाएका छन् । लुम्बिनी लायन्सका यी ओपनरले फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध १ रनमात्र बनाउन सके ।
सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगेलेइनको बलमा उनी बिट हुन पुगेका थिए र बल प्याडमा लागेको थियो । सुदूरपश्चिम रोयल्सले अपिल गरेपछि आसिफलाई अनफिल्ड अम्पायरले एलबीडब्ल्यू आउट दिएका थिए । जवाफमा आसिफले डीआरएस लिएका थिए । तर टेलिभिजन रिप्लेमा बलले स्टम्प हिट गरेको देखाइएपछि उनी पेभेलियन लागेका थिए ।
उनी यस प्रतियोगितामा तेस्रो पटक १ रनमा आउट भएका हुन् । सुदूरपश्चिम रोयल्ससँगको क्वालिफायर १ मा उनले १ रनमात्र बनाउन सकेका थिए । आसिफले लुम्बिनी लायन्सबाट ८ खेलमा १ सय १२ रनमात्र बनाउन सके । उनको औसत १४ रह्यो भने स्ट्राइक रेट १ सयमुनि रह्यो ।
सुदूरपश्चिमसँग ३२ रन बनाउँदै उनले प्रतियोगितामा राम्रो सुरुआत गरेका थिए । तेस्रो खेलमा आफ्नो पूर्वटोली जनकपुर बोल्ट्सविरुद्ध उनले २१ रन बनाएका थिए । विराटनगर किंग्सविरुद्धको लिग चरणको अन्तिम खेलमा उनले ४५ रन बनाएका थिए, जुन आसिफको प्रतियोगितामा उच्च स्कोर रह्यो ।
पहिलो सिजनमा जनकपुरलाई उपाधि दिलाउने क्रममा आसिफ फाइनलमा टोलीका कप्तान थिए । अर्को सिजन पनि जनकपुरबाट खेलेका आसिफ यसै सिजन लुम्बिनी आएका हुन् । मिनी अक्सनमा आसिफलाई सबै ८ टोलीले अधिकतम २० लाख रुपैयाँको बोली लगाएका थिए । लक्की ड्रपछि उनी लुम्बिनी पुगेका थिए ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।