मनमा बढ्दो हिंसा र मानवीय सहायता पुर्याउन लगाइएका कडा प्रतिबन्धका कारण सर्वसाधारण नागरिकले निरन्तर कठिनाइ भोगिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता निकायहरूले जनाएका छन्
काठमाडौँ — यमन र आसपासका क्षेत्रमा सैन्य गतिविधि तथा आक्रमण तीव्र बन्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका उपप्रवक्ता फरहान हकले शुक्रबार साउदी नेतृत्वको गठबन्धनले होदाइदा बन्दरगाहमा हवाई आक्रमण गरेको, साना, सादा र ताइज प्रान्तमा सैन्य कारबाही जारी रहेको तथा हुथी विद्रोहीले साउदी अरबमाथि निरन्तर आक्रमण गरिरहेको विवरणप्रति राष्ट्रसंघले चासो राखेको बताए ।
उनले यमन र आसपासका क्षेत्रमा जारी सैन्य तनावप्रति राष्ट्रसंघ गम्भीर रूपमा चिन्तित रहेको उल्लेख गर्दै लालसागर क्षेत्रमा रहेका यमनका बन्दरगाहहरूको सञ्चालन निरन्तर कायम राख्नुपर्नेमा जोड दिए ।
ती बन्दरगाह लाखौँ यमनी नागरिकका लागि जीवनरेखाका रूपमा रहेको उनको भनाइ थियो। हकले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गतका दायित्व पालना गर्न आग्रह गरे ।
सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्न नपाइने व्यवस्था पालना गर्न र सर्वसाधारण तथा नागरिक सम्पत्तिलाई क्षति हुनबाट जोगाउन निरन्तर सावधानी अपनाउन उनले आग्रह गरे ।
यमनको द्वन्द्वको समाधान सैन्य माध्यमबाट सम्भव नरहेको उल्लेख गर्दै उनले सबै पक्षलाई राजनीतिक वार्तामा फर्कने बाटो खोज्न आह्वान गरे ।
यसैबीच, यमनमा बढ्दो हिंसा र मानवीय सहायता पुर्याउन लगाइएका कडा प्रतिबन्धका कारण सर्वसाधारण नागरिकले निरन्तर कठिनाइ भोगिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता निकायहरूले जनाएका छन्।