५ मंसिर, सुर्खेत । दैलेखमा श्रीमान्को बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी श्रीमती मनिषा सलामी मगरको पनि मृत्यु भएको छ ।
आफ्नै श्रीमती र तीन सन्तानमाथि चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोला गाउँका अम्बर सलामी मगरले बञ्चरो प्रहार गरेका थिए ।
उक्त घटनामा उपचारका क्रममा १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीको मृत्यु भएको थियो । दुवैलाई तत्काल नगर अस्पताल दुल्लु पुर्याइए पनि चिकित्सकले बिहान ११:१० बजे मृत घोषणा गरिएको थियो ।
सोही आक्रमणमा गम्भीर घाइते भएकी श्रीमती मनिषाको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दिउँसो २ बजेर १० मिनेटमा प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा उपचारका क्रममा मनिषाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका ६ वर्षीय छोरा मिलन सलामीको भने उपचार भइरहेको छ ।
घरभित्रै भएको यो घटनाले चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोला गाउँ शोकमा डुबेको छ ।
शनिबार बिहान करिब ९:३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन सन्तानमाथि दाउरा काट्ने बञ्चरो प्रहार गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।