घटनाको अडियो सार्वजनिक भएलगत्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जिल्ला प्रहरी कार्यालय रौतहटको गौर सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतोमाथि छानबिन प्रक्रिया अघि बढाएको छ ।
रौतहट — छठ पर्व मनाउन राजधानीबाट घर आएका छोरा अचानक हराएको जानकारी गराउन फोन गरेका एक प्रहरी हवल्दारलाई ‘जय नेपाल’ नगरेको भन्दै गाली गर्ने अर्का हवल्दारमाथि छानबिन सुरु भएको छ ।
नेपाल प्रहरीको जनकपुर गणबाट थप मद्दतका लागि रौतहटको चन्द्रपुर–९, डुमरिया इलाका प्रहरी कार्यालयमा आएका प्रहरी हवल्दार सुरेश यादवका १७ वर्षीय छोरा चन्दनकुमार यादव दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट बेपत्ता भएका थिए । चन्दन एसईई सकेर अध्ययनका लागि राजधानीमा बस्दै आएका थिए ।
घटनाको जानकारी गराउन हवल्दार यादवले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा सम्पर्क गरेका थिए । त्यहाँबाट सञ्चार शाखामा जानकारी टिपाउन भनेपछि फोन गर्दा आफूलाई 'सञ्चारको सइ' बताउने व्यक्तिले अपमानजनक गालीगलौज गरेको उनको भनाइ छ ।
'मेरो छोरा हराएको पीडाले म राम्ररी सुत्नसमेत पाएको छैन । मैले जानकारी गराउन फोन गर्दा उल्टै गालीगलौज गर्नुभयो,' उनले भने, 'यो अवस्थामा के भनौं ? मैले कुनै गल्ती गरेको छैन । मलाई अपमानजनक गाली गर्ने काम भयो ।'
तर, गाली गर्ने सइ नभई जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतो भएको खुलेको छ । घटनाको अडियो सार्वजनिक भएलगत्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले हवल्दार महतोलाई निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको बताए । 'हामीले दुवैबीच के भएको हो भन्ने अनुसन्धान सुरु गरेका छौं,' उनले भने, 'दुवै जनालाई प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ ।'
अडियोमा हवल्दार यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दारसाहेब कि असइसाहेब’ भन्दै परिचय सोधेको सुनिन्छ । त्यसपछि आफूलाई सइ बताउँदै महतोले बोल्ने शैलीप्रति प्रश्न गर्दै झपारेको र आफ्नो दर्जा बताउन नमिल्ने जवाफ दिएको सुनिन्छ ।
छोरा बेपत्ता भएको घटनाको जानकारी गराउन तथा खोजी र उद्धारका लागि फोन गरेका व्यक्तिमाथि नै दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि रौतहट प्रहरीको आलोचना भएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले विज्ञप्ति जारी गर्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच भएको संवादमा सुनिएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।