नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले विस्तृत शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न सबै राजनीतिक दल, सरकार, सम्बन्धित निकाय र सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।
विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिनको स्मरण गर्दै दाहालले संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्याउनुपर्ने बताएका हुन्।
२०६३ मंसिर ५ गते आजकै दिन तत्कालीन नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्षका रूपमा आफूले सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै दाहालले यसलाई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या गरेका छन्।
उनले शान्ति सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको उल्लेख गरेका छन्। शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएको उनको भनाइ छ।
तर शान्ति सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको दाहालले बताएका छन्। विशेषगरी द्वन्द्वपीडितलाई न्याय दिने, सत्य निरूपण तथा मेलमिलापको प्रक्रिया टुंग्याउने, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने दायित्व रहेको उनले उल्लेख गरेका छन्।
‘शान्ति सम्झौताको मर्म भनेको द्वन्द्वको अन्त्य मात्र होइन, पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण पनि हो,’ उनले भनेका छन्।
दाहालले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्। साथै शान्ति प्रक्रियामा योगदान पुर्याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति आभार व्यक्त गरेका छन्।
उनले शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
प्रकाशित: ५ मंसिर २०८३ ०९:३६ शनिबार