चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले जनताले दिएको मत र विश्वास स्थायी नहुने बताएका छन्।
उनले जनताको अपेक्षाअनुसार काम गरेर परिणाम दिन सके मात्रै जनविश्वास कायम राख्न सकिने बताएका हुन्।
चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूबिच भएको अनौपचारिक राजनीतिक छलफलको भिडियो सार्वजनिक भएपछि न्यौपानेले यस्तो स्पष्टीकरण दिएका हुन्।
सार्वजनिक भएको संवादमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतलगायत नेताको राजनीतिक अवस्थाबारे टिप्पणी गरिएको थियो।
कांग्रेसको आधिकारिकता विवाद टुंगिँदा देउवा नै नेतृत्वमा रहनुपर्ने र त्यसबाट रास्वपालाई फाइदा पुग्न सक्ने टिप्पणी गरिएको थियो। त्यस्तै, ओली र बस्नेतलाई स्थानीय तहको निर्वाचनसम्म रोक्न नहुने र उनीहरू आक्रामक रूपमा प्रस्तुत भए त्यसको राजनीतिक लाभ रास्वपाले लिन सक्ने तर्क गरिएको थियो।
उक्त संवाद सार्वजनिक भएपछि न्यौपानेले पुराना राजनीतिक दलका नेताहरूको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाका कारण रास्वपाले ठुलो जनमत पाएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देउवा, ओली र प्रचण्डको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकपटकका लागि मत परिवर्तन गर्दै जनताले अत्यधिक मत दिएका हुन्।
न्यौपानेले अगाडि लेखेका छन्, ‘जनताले दिएको यो अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिन सक्नुपर्छ। जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्याउन सकेनौँ भने आगामी निर्वाचनमा हामीले पनि विगतका राजनीतिक दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने अवस्था आउन सक्छ।’
उनले थप भनेका छन्, ‘हाम्रो अनौपचारिक छलफल र संवादको मूल निष्कर्ष यही थियो- जनताले दिएको मत र विश्वास स्थायी होइन; त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्छ। यथार्थ पनि यही नै हो।’
न्यौपानेले अनौपचारिक छलफलको मुख्य निष्कर्ष नै जनताले दिएको मत र विश्वासलाई काम, इमानदारी तथा परिणामबाट प्रमाणित गर्नुपर्ने रहेको दाबी गरेका छन्।
प्रकाशित: ४ मंसिर २०८३ २३:१५ शुक्रबार