Trending
Prev Story
Next Story

नेपाललाई फिफा र एएफसीको आश्वासन– एक महिनाभित्र फुकुवा हुन सक्छ फुटबल प्रतिबन्ध

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

४ मंसिर, काठमाडौं । नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको छ । फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का पदाधिकारीसँग भएको छलफलपछि नेपाली फुटबलको विवाद समाधानका लागि सकारात्मक …

1 / 2
Swipe Photos

४ मंसिर, काठमाडौं । नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको छ । फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का पदाधिकारीसँग भएको छलफलपछि नेपाली फुटबलको विवाद समाधानका लागि सकारात्मक संकेत देखिएको हो ।

प्रक्रिया पूरा हुन करिब एक महिना लाग्न सक्ने फिफाबाट संकेत पाएको नेपाली पक्षले अनलाइनखबरसँग बताएको छ ।

एन्फामाथि सुरुमै फिफा र एफसीले प्रतिबन्ध लगाएको भने थिएन । राखेपले लगाएको प्रतिबन्धसमेतलाई आधार मान्दै अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्ध लागेको थियो । राखेप, एन्फा अधिकारीसहित नेपाली फुटबल क्षेत्रका जिम्मेवार पक्षहरुलाई निलम्बन फुकुवाको पहल गर्न लगाए पनि समयमै पर्याप्त र प्रभावकारी पहल हुन नसकेको ठहर सरकारी पक्षको थियो ।

यही पृष्ठभूमिमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त प्रतिबन्ध खुलाउन आफ्नै इमेल ठेगानाबाट एएफसीलाई अनुरोध गरेका थिए ।

त्यसको केही सातापछि उक्त निलम्बन फुकुवाका लागि वातावरण बन्न पुगेको सरकारी पक्षले अनलाइनखबरलाई बताएको छ ।

यससँगै नेपालको फुटबल विवाद समाधानका लागि एएफसीले आवश्यक रोडम्याप तयार गर्ने भएको छ । त्यसैका आधारमा नियमित र तहगत निर्वाचन लगायतका प्रक्रिया अघि बढाउनुपर्नेछ । निर्वाचन गराउन अस्थायी समिति गठन गर्ने वा पुरानै नेतृत्वमार्फत जाने भन्नेबारे टुंगोमा पुगेको छैन ।

मन्त्री पोखरेलका अनुसार एएफसीको अवार्ड समारोहभन्दा एक दिनअघि बुधबार फिफाका महासचिव माटियास ग्राफस्ट्रोमसँग अनौपचारिक भेट गरी नेपालको अवस्थाबारे छलफल गरिएको थियो । त्यसक्रममा निर्वाचन गराउन स्वतन्त्र समिति गठन गर्दा प्रक्रिया सहज हुने धारणा नेपाली पक्षले राखेको थियो । एन्फाले कानुनअनुसार काम नगरेको, तहगत निर्वाचन नगराएको कारण प्रतिबन्ध लगाउनुपरेको जानकारी सरकारी पक्षले फिफा र एएफसी अधिकारीहरुसँग गराएको थियो ।

विषय कानुनी प्रक्रियासँग जोडिएको स्पष्ट पारेपछि एएफसीका पदाधिकारी सकारात्मक बनेको मन्त्री पोखरेलले बताए । त्यसपछि फिफा र एएफसीका अधिकारीसँग छुट्टाछुट्टै छलफल भएको थियो । नेपाली फुटबलसँग काम गर्न दुवै निकाय सकारात्मक रहेको प्रतिक्रिया प्राप्त भएको र निलम्बन फुकुवाको प्रक्रिया सुरु भइसकेको पोखरेलले जानकारी दिए ।

याद गर्नुपर्ने के छ भने यसबीचमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार नै एन्फामाथि लगाएको आर्थिक तथा प्रशासनिक निलम्बन फुकुवा गरिसकेको छ । अब फिफा र एएफसीले तय गर्ने प्रक्रियाअनुसार नेपाली फुटबलको विवाद समाधान र निर्वाचनको बाटो अघि बढ्नेछ ।

पंकज विक्रम नेम्बाङ नेतृत्वको कार्यसमितिको कार्यकाल गत असारबाट सकिएको छ । नयाँ पदाधिकारी चयन नभएकाले पुरानै पदाधिकारीले एन्फा सञ्चालन गरिरहेका थिए । सिधै निर्वाचन गराउन खोज्दा विवाद उत्पन्न भएको र निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन स्वतन्त्र वा अस्थायी समिति गठनको विकल्पमा छलफल भएको थियो । एएफसी र फिफासँगको संवादपछि सम्बन्धित पक्ष पनि सकारात्मक देखिएकाले राखेपले पहिले आफ्नो निलम्बन हटाएको पोखरेलले बताए ।

निलम्बन फुकुवाका लागि एक महिना लाग्न सक्ने संकेत गरेको फिफाले यसबीचमा हुने प्रतियोगितामा नेपालको सहभागिताका लागि सहजीकरण गर्ने विश्वास व्यक्त गरेको छ । सरकारले नेपाली फुटबलमा लगानी गर्न चाहेको विषय पनि अन्तर्राष्ट्रिय फुटबल निकायसमक्ष राखिएको छ । साथै, फिफा अध्यक्षलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिइएको छ । ‘आजभन्दा अगाडि सरकार र फिफाबीचमा सिधा सम्पर्क हुने गरेको थिएन । यसपटक वरिष्ठ अधिकारीहरूसँग सकारात्मक कुरा भएको छ,’ बैंककबाट अनलाइनखबरसँग फोनमा कुरा गर्दै मन्त्री पोखरेलले भने । निलम्बन फुकुवाको प्रक्रिया अघि बढेसँगै नेपाली फुटबलमा काम गर्न सहज हुने सरकारको विश्वास छ ।

नेपाली फुटबलबारे यसअघि मुख्यत तीनवटा विषयमा विवाद थियो । जसको लहरो तन्किँदै राष्ट्रियमात्रै नभई अन्तर्राष्ट्रिय प्रतिबन्धसम्मै पुग्यो । एक– एन्फाको स्वायत्तता के हुन् र निर्वाचन अधिकार कोसँग रहने । दुई– राखेपको नियमनकारी अधिकारलाई एन्फाले सकार्ने कि नकार्ने । तीन– फिफाले फुटबलमा सरकारी हस्तक्षेप हुन नहुने भनी तयार पारेको आफ्नै विधानको कार्यान्वयन कुन रुपमा हुने ।

तर, कार्यकाल सकिनुअघि नै विधानमै नभएको अर्ली इलेक्सन गर्न एन्फाको तत्कालीन कार्यसमिति अग्रसर भयो । एन्फा अध्यक्ष नेम्वाङले त्यसको अगुवाई गरेका थिए । उनी र टिमले त्यसबेला क्लब, जिल्ला र प्रदेश तहको चुनाव नगराई पहिलेकै प्रतिनिधिलाई मान्यता दिएर नेतृत्व चुन्न नहुने अडान लिएका थिए । खेलकुद विकास ऐन विपरित काम गरेको भन्दै राखेपले एन्फालाई पटकपटक चेतावनी दिएको थियो ।

यही विवाद गिजोलिँदै जाने क्रममा राखेपले गत चैतमा एन्फा कार्यसमितिलाई राखेपले निलम्बन ग-यो । राखेपले एन्फामाथि आफ्नो नियमनकारी निर्देशन पालना नगरेको, निर्वाचन प्रकिया अघि बढाउँदा स्वीकृति नलिएको जस्ता आरोप लगाएको थियो । तर, त्यसैबीचमा एएफसी र फिफाले एन्फा आफ्नो स्वतन्त्रता प्रयोग गर्न पाउनुपर्ने भन्दै नेपाललाई सचेत गराइराख्यो ।

राखेपले गत जेठमा एन्फामाथिको निलम्बन फुकुवा गरेको थियो । तर, त्यससँगै उसले विभिन्न सर्त भने कायम राख्यो । त्यसबीचमा एन्फा नेतृत्वमाथि आर्थिक हिनामिनाको विषयमा छानविन पनि भयो । जसका कारण राखेपको सिफारिसमा अध्यागमन विभागले एन्फा नेतृत्वलाई विदेश जान रोक लगायो ।

फिफा भने एन्फालाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने अडानमा रहिरह्यो । फिफा विश्वकप चलिरहेको बेला २४ जुनमा त फिफाले नेपाली फुटबललाई अनिश्चितकालीन निलम्बनमा नै राख्यो ।

त्यस निलम्बनको अर्थ हुन्थ्यो, नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा र एएफसीका प्रतियोगिता खेल्न नपाउने, नेपाली क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने, एन्फाले फिफा र एएफसीबाट प्राप्त गर्ने आर्थिक सहयोग र विकास कार्यक्रम गुमाउने, खेलाडी, प्रशिक्षक र रेफ्रीले अन्तर्राष्ट्रिय अवसर तथा तालिममा पहुँच गुमाउने, नेपाली फुटबलको अन्तर्राष्ट्रिय मान्यता र गतिविधिमै धक्का पुग्ने । फिफा निलम्बनका कारण नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पियनसिप गुमाउन पुग्यो ।

थाइल्यान्डमा फिफा–एएफसी र सरकारी पक्षबीचको छलफलसँगै नेपाली फुटबलमाथि निलम्बन फुकुवा हुँदै लयमा फर्किने आस धेरैले गरेका छन् । स्रोतका अनुसार अहिले निलम्बन फुकुवाका लागि फिफाले आश्वासन दिँदै गर्दा सरकारी पक्षसँग फुटबल क्षेत्रमा राजनीतिक तहको हस्तक्षेप हुँदैन भन्ने सुनिश्चितता खोजेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
21h ago
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको छलफल, एन्फामाथिको प्रतिबन्ध फुकाउन पहल

फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको छलफल, एन्फामाथिको प्रतिबन्ध फुकाउन पहल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेट गरेका छन्। बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा मन्त्री पोखरेलले फिफ...

#फुटबल #फिफा #महासंघ
Compare →
Nagarik News
22h ago
फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ।

#फुटबल #फिफा #महासंघ
Compare →
Ekantipur
1d ago
एन्फामाथि फिफाले लगाएको निलम्बन एक महिनाभित्र हट्ने अनौपचारिक सहमति

एन्फामाथि फिफाले लगाएको निलम्बन एक महिनाभित्र हट्ने अनौपचारिक सहमति

राखेप र एन्फाबीचको निर्वाचनसम्बन्धी विवादपछि फिफाले निलम्बनको निर्णय गरेको थियो। तर, बिहीबार राखेपले एन्फामाथि लगाएका सबै प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएपछि विवाद समाधानतर्फ अघि बढेको छ।

#फिफा #लगाए #महिनाभित्र
Compare →

Related Stories

Sports
Build #2612