ठेक्का अवधि सकिन ६ महिना मात्र बाँकी रहँदा ४२० मिटर लामो 'सिग्नेचर ब्रिज'को निर्माण प्रगति नगण्य छ।
नवलपरासी — नारायणी नदीमा निर्माणाधीन नयाँ पुलको काम महिनौंदेखि ठप्प छ । पुल निर्माणको ठेक्का लिएको तुन्दी कन्स्ट्रक्सनको म्याद सकिन अब ६ महिना मात्र बाँकी रहँदा निर्माणको प्रगति भने नगण्य छ ।
नारायणगढतर्फ पाइलिङ (पुलका खम्बा राख्ने स्थानमा जमिनमुनि प्वाल पार्ने काम) सुरु गरेको एक महिनामै गत चैतदेखि पुल निर्माण रोकिएको हो । पुल सेक्टर पोखराका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) कृष्णराज अधिकारीले निर्माण सुरु हुनासाथ वर्षायाम सुरु भएकाले काम रोकिएको दाबी गरे ।
पुल निर्माणको जिम्मेवारी पाएको तुन्दी कन्स्ट्रक्सनले २०२३ जुलाई २ मा चार वर्षभित्र काम सक्ने गरी सम्झौता गरेको थियो । सम्झौताको अवधि तीन वर्ष ६ महिना पुगिसकेको छ । आगामी जेठमा निर्माणको म्याद सकिँदै छ । तर, अहिलेसम्म पुल निर्माणको कामले गति लिन सकेको छैन । निर्माण सामग्री राखिएको क्याम्प नै डुबेकाले यस वर्ष काम हुन नसकेको पुल सेक्टर कार्यालयको दाबी छ । ‘यो वर्ष बाढी ठूलो आएका कारण समस्या भएको हो,’ उनले भने, ‘आउँदो वर्षायाममा समेत काम भइरहने छ ।’
नारायणीको पुरानो पुलको गैँडाकोटतर्फ नयाँ पुल निर्माणमा प्रयोग हुने एउटा ठूलो मेसिन ठड्याएर राखिएको छ । तर, उक्त मेसिन चलेको आफूले कहिल्यै नदेखेको स्थानीय भागिरथा कुम्हालले बताइन् । पुरानो पुलको मुखमा फलफूल बेच्दै आएकी उनले भनिन्, ‘खै, कहिल्यै काम गरेको देखिँदैन । मेसिन भने सधैं त्यहीँ ठडिएको देखिन्छ ।’
पुल सेक्टर कार्यालय पोखराका प्रमुख अधिकारीले वर्षाका कारण रोकिएको निर्माण छठ सकिएपछि पुनः सुरु हुने दाबी गरे । ‘पुल सुरु गर्नासाथ वर्षा सुरु भएका कारण निर्माणको काम रोकिएको हो । अब छठ पनि सकिएका कारण यही महिनाबाट पुनः पुल निर्माणको काम सुरु हुन्छ,’ उनले भने, ‘त्यसैका बारेमा हामी नारायणगढमा छलफलमै छौं ।’ आफू पनि यही कामका लागि नारायणगढमै रहेको उनले बताए ।
नारायणी नदीमाथि निर्माण हुने यो पुल ४ सय २० मिटर लामो हुनेछ । पुरानो पुलभन्दा केही अग्लो हुने नयाँ पुल गैंडाकोट र नारायणगढबीचको हाल सञ्चालनमा रहेको पुलको पूर्वतर्फ निर्माण गरिनेछ। पुलमुनिबाट दुई हजार टनसम्मका पानीजहाज आवतजावत गर्न सक्ने गरी यसको डिजाइन गरिएको छ । यो नेपालमा निर्माण हुन लागेको अहिलेसम्मकै ठूलो पानीजहाज आवतजावत गर्न मिल्ने पुल हुने दाबी गरिएको छ ।
यो केबल स्टेड ब्रिज मोडलको पुल हो । नेपालमा यस शैलीको पुल पहिलोपटक निर्माण हुन लागेको हो । १ अर्ब ६८ करोड रुपैयाँ लागतमा निर्माण हुने पुल चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, निर्माण अवधि सकिन लाग्दासमेत काम अघि बढ्न सकेको छैन ।
पुल निर्माणको जिम्मा हेर्दै आएको पुल महाशाखाले अब यसको अनुगमन तथा रेखदेखको जिम्मेवारी पुल सेक्टर पोखरालाई दिएको जनाएको छ । ‘हामीले त्यो पुल हेर्ने गरी पुल सेक्टर पोखरालाई हस्तान्तरण गरेका छौं,’ पुल महाशाखाका इन्जिनियर अर्जुन घिमिरेले भने, ‘त्यसको सबै रेखदेख अब पुल सेक्टर पोखराले हेर्नेछ ।’
नयाँ पुलको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पौने तीन वर्षअघि शिलान्यास गरेका थिए । शिलान्यासपछि पुल निर्माण अघि बढ्ने अपेक्षा गरे पनि अहिलेसम्म कामले गति लिन नसकेको नारायणगढका फेन्सी पसल सञ्चालक गोपाल सापकोटाले बताए ।
नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।