काठमाण्डौ । सरकारले बीमा कम्पनीलाई प्रिमियम मूल्यमा सेयर निष्कासन र सहवित्तीयकरण कर्जामा लगानी गर्न दिने गरी बीमा ऐन, २०७९ संशोधनको प्रस्ताव तयार पारेको छ। अध्यादेशको मस्यौदामा सेयर स्वामित्व र संस्थागत सुशासनसम्बन्धी व्यवस्थामा समेत फेरबदल प्रस्ताव गरिएको छ।
मस्यौदामा बीमा कम्पनीका सञ्चालकलाई पदमा रहँदा र पदबाट अलग भएको एक वर्षसम्म सम्बन्धित कम्पनी वा त्यसको सहायक कम्पनीको सेयर कारोबार गर्न रोक लगाउने प्रस्ताव छ। विद्यमान व्यवस्थामा कार्यकारी प्रमुखलगायतका पदाधिकारी समेटिए पनि सञ्चालकलाई स्पष्ट रूपमा समावेश गरिएको थिएन।
प्रिमियममा सेयर निष्कासन गर्दा मूल्याङ्कनको आधार, जोखिम र सम्बन्धित पक्षको स्वार्थ विवरणपत्रमा खुलाउनुपर्ने प्रस्ताव छ। निष्कासन मूल्य र विवरणपत्रको स्वीकृति नेपाल धितोपत्र बोर्डले गर्ने व्यवस्था मस्यौदामा समेटिएको छ।
त्यस्तै, बीमा प्राधिकरणको पूर्वस्वीकृतिमा बैंक तथा वित्तीय संस्थाको नेतृत्वमा प्रवाह हुने सहवित्तीयकरण कर्जामा बीमा कम्पनी सहभागी हुन सक्ने प्रस्ताव गरिएको छ। यस्तो लगानी गर्दा स्वतन्त्र रूपमा कर्जा जोखिम परीक्षण गर्नुपर्ने र बीमितको दाबी भुक्तानी क्षमतामा असर पर्न नहुने सर्त राखिएको छ।
सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएका बीमकबाहेकका सङ्गठित संस्थालाई बीमा कम्पनीमा सेयर लगानी गर्दा लाग्ने १५ प्रतिशत सीमाबाट छुट दिने प्रस्ताव पनि छ।
साथै, संस्थापकको प्रत्यक्ष तथा अप्रत्यक्ष स्वामित्व संयुक्त रूपमा गणना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यी व्यवस्था अध्यादेशको मस्यौदामा समेटिएका प्रस्ताव हुन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।