स्कटल्यान्डका ३८ वर्षीय स्वरोजगार पेन्टर तथा डेकोरेटर सन लिटलले भिडियो गेम ‘ग्र्यान्ड थेफ्ट अटो ६’ शान्तिपूर्ण रूपमा खेल्न श्रीमती र छोरीसँग हस्तक्षेप नगर्ने लिखित सम्झौता गरेका छन्।
एक साताको छुट्टीमा घरको काम, कुकुर डुलाउने र भान्साको जिम्मेवारीबाट जोगिन उनले परिवारका सदस्यलाई ‘साइनिङ फी’ समेत दिएका हुन्।
डम्फ्रिज एन्ड ग्यालोवेको न्युटन स्टुअर्टमा बस्ने लिटलले सम्झौताबापत श्रीमती नतालीलाई ५० पाउन्ड र १३ वर्षीया छोरी सार्लोटलाई २० पाउन्ड दिएका छन्।
साथै, उनले परिवारको साप्ताहिक खर्च योगदान बढाएर ५०० पाउन्ड पुर्याएका छन् भने खाजानास्ताका लागि अतिरिक्त रकमसमेत दिएका छन्।
सम्झौताअनुसार नताली र सार्लोटले लिटललाई एक सातासम्म बैठक कोठामा बसेर निर्बाध गेम खेल्न दिनुपर्नेछ। उनलाई भाँडा माझ्न नभनोस् भनेर लिटलले कागजका प्लेटसमेत किनेर राखेका छन्। करारनामामा खेलको स्पोइलर नदिने, अनावश्यक घरायसी काम नअह्राउने र घण्टौं सोफामा बस्दा ‘अल्छी’ भनेर टिप्पणी गर्न नपाइने सर्त राखिएको छ।
सम्झौतामा श्रीमती र छोरीले बोल्न नपाउने केही वाक्यांशहरूसमेत प्रतिबन्धित गरिएका छन्। जसमा ‘तिमी घण्टौंदेखि त्यसमै छौ’, ‘के तिमी साँच्चै अझै त्यही खेलिरहेका छौं ?’ र ‘पहिले यो एउटा काम गरिदिन सक्छौं ?’ जस्ता वाक्य समावेश छन्।
बीबीसी स्कटल्यान्ड न्युजसँग कुरा गर्दै श्रीमती नतालीले सम्झौताअनुसार आफूहरूले उनलाई कुनै पनि घरायसी काम अह्राउन र कति बेर खेलेको भनेर टिप्पणी गर्न नपाउने बताइन्।
‘उनले खाजानास्ता किन्न अतिरिक्त खर्च दिएका छन्, खाना पनि बनाउने छैनन्। उनी पूरै समय यहीँ बसेर गेम मात्र खेल्नेछन्,’ नतालीले भनिन्।
लिटलले सुरुमा टिकटक अकाउन्टका लागि रमाइलोमा उक्त सम्झौता तयार पारेको बताए पनि यसमा सत्यता रहेको स्वीकारेका छन्। मानिसहरूले आफूलाई मूर्ख ठाने पनि वास्ता नभएको उनको भनाइ छ। ‘मेरो परिवार खुसी छ, म खुसी छु। जबसम्म मेरो परिवारको सानो संसार खुसी छ, अरूले के सोच्छन् भन्ने कसलाई मतलव ?’ लिटलले भने।
जीटीए ६ खेल्न एक साताको छुट्टीको तयारीका लागि लिटलले सप्ताहन्तमा समेत दैनिक १३ घण्टा काम गरेर अतिरिक्त पैसा जोगाएका थिए।
बेनिडोर्मजस्तो गन्तव्यमा छुट्टी मनाउनुभन्दा गेमको काल्पनिक सहर ‘भाइस सिटी’ मा रमाउनु नै धेरै राम्रो हुने उनको तर्क छ। ‘म अन्य छुट्टीमा जाँदाजस्तै उत्साहित छु, फरक यति हो म बैठक कोठामा बसेर गेम खेल्नेछु,’ उनले भने, ‘बेनिडोर्मभन्दा भाइस सिटी नै राम्रो छ, सरी बेनिडोर्म।’
किशोरावस्थामा जीटीएको पहिलो संस्करण खेलेका लिटल जीटीए ५ सार्वजनिक हुँदा २० वर्षको दशकको मध्यतिर थिए। १३ वर्षको प्रतीक्षापछि आउन लागेको नयाँ संस्करणका लागि उनी उत्साहित छन्। ‘यही समयतालिकाअनुसार चल्ने हो भने जीटीए ७ आउँदा म ५१ वर्षको हुनेछु, तर मनले सायद अझै किशोर नै रहनेछु,’ उनले भने।
उमेर बढ्दैमा कुनै चिजप्रतिको लगाव नघट्ने तर्क गर्दै लिटलले आफूलाई सन् १९७० को दशकमा पहिलो फिल्म हेरेका ‘स्टार वार्स’ का प्रशंसकसँग तुलना गरे।
‘सन् २०२६ मा नयाँ स्टार वार्स फिल्म आयो भने ६० वर्ष पुगेकै कारण कोही स्वतः प्रशंसक हुन छाड्दैन,’ उनले भने, ‘तपाईं कहिल्यै पनि कुनै कुराको प्रशंसक हुनबाट बुढो हुनुहुन्न।’
प्रकाशित: २ मंसिर २०८३ १६:२३ बुधबार