सरकार गठनका लागि प्रदेश प्रमुखले तोकेको समय घर्किँदै, दलका नेताहरू काठमाडौंमा ।
जनकपुर — प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समय घर्किन लागे पनि मधेश प्रदेशमा सरकार गठनको अन्योल कायमै छ । अर्को सरकार बनाउन ‘गठबन्धन’ गर्ने वा अन्य विकल्प अपनाउने विषयमा दलहरूबीच औपचारिक छलफल नहुँदा सत्तारोहण अनिश्चित बनेको हो ।
एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार बाहिरिएसँगै अर्को सरकार गठनका लागि प्रदेश प्रमुख कर्णले शुक्रबारसम्मको समय तोकेका छन् । प्रदेश प्रमुख कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवले गत शनिबार दिएको राजीनामा स्वीकृत गर्दै आगामी शुक्रबारसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुखले दाबी पेस गर्न तोकेको समय अब दुई दिन मात्र बाँकी छ । तर, मधेश प्रदेशमा अर्को सरकार बनाउने दाबी गरिरहेका चार दल जसपा नेपाल, एमाले, नेकपा र जनमतबीच औपचारिक छलफल नभएको ती दलकै नेताहरू स्वीकार्छन् । एमालेका प्रदेश सांसद राजकुमार लेखीले सरकारमा सहभागी हुने वा अरू दललाई समर्थन गर्ने विषयमा छलफल नभएको बताए । ‘अहिले केही टुंगो लागेको छैन,’ लेखीले कान्तिपुरसँग भने, ‘तीन दल र दुई दलबीच यसअघि भएको भेटघाटमा कुराकानी भएको थियो । त्यहीँ सबै मामिला अड्किएको छ । काठमाडौंमै छु, बिहीबार साँझसम्म केही प्रगति हुन सक्छ ।’
मधेश प्रदेशमा नयाँ सरकार बनाउन ‘सहयोगी भूमिका’मा रहन तयार रहेको नेकपाका संसदीय दलका नेता युवराज भट्टराईले जानकारी दिए । ‘म काठमाडौंमै छु । अहिलेसम्म केही खिचडी पाकेको छैन,’ भट्टराईले भने, ‘जसपा नेपालले सरकारबारे निर्णय नगरेकाले अन्योल बढेको हो । जे पनि हुन सक्छ । सोचेकोभन्दा फरक मुख्यमन्त्री पनि आउन सक्छ ।’
नेकपाका संसदीय दलका नेता भट्टराईले बिहीबार अबेरसम्म सरकार गठनबारे प्रस्टता आउने र शुक्रबार नै सरकारका लागि दाबी प्रस्तुत गरिने बताए । एमाले र नेकपा भने मधेश प्रदेशमा अर्को सरकार जसपा नेपालको नेतृत्वमा बनाउन खोजिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि मधेशमा जसपा नेपाललाई सरकारको नेतृत्व दिन तयार छन् ।
तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने एमाले, कांग्रेस र नेकपाकै कारण मधेश प्रदेशमा लगालग सरकार फेरिने र संघीयताप्रति नै नकारात्मक सन्देश गएको भन्दै चुनावको मुखमा प्रदेश सरकारको नेतृत्व सम्हाल्न नहुने अडानमा छन् ।
जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव (बारा) भने सरकारको नेतृत्व लिनुपर्ने भन्दै अध्यक्ष यादवको लाइनविपरीत लबिङ गरिरहेका छन् । ‘मधेशमा अर्को सरकार गठनका लागि पार्टीको शीर्ष तहमा काठमाडौंमा छलफल भइरहेको छ । म पनि यतै नै छु,’ जसपा नेपालका संसदीय दलका नेता यादवले भने, ‘सरकारका विषयमा निर्णय लिन अध्यक्षजीलाई सबै जिम्मेवारी दिइएको छ । उहाँले जे निर्णय लिनुहुन्छ, त्यहीअनुसार हामी अगाडि बढ्छौं ।’
मधेश प्रदेशमा सरकार बनाउन आवश्यक संख्या कुनै दलसँग छैन । मधेश प्रदेशसभामा एमाले यसअघि २४ सांसदसहित ठूलो दल रहे पनि जसपा नेपाल र लोसपाको एकीकरणपछि २८ सांसदसहित जसपा नेपाल ठूलो दल बनेको छ । कांग्रेससँग २२ जना सांसद छन् । नेकपाका १५, जनमत पार्टीका १२ तथा नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका एक–एक जना सांसद छन् । दोस्रो कार्यकालमा मधेश प्रदेशमा जसपा नेपाल, जनमत पार्टी, लोसपा, एमाले र कांग्रेसको नेतृत्वमा सरकार बनिसकेको छ ।
मधेशमा कांग्रेस सरकारको बहिर्गमनपछि अर्को सरकार कुन समीकरणमा बन्ने भन्नेबारे दलहरूबीच औपचारिक निर्णय भएको छैन । तर, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव (बारा), जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंह र एमालेका संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) बीच एकखाले सहमति भएको ती दलका नेताहरूले बताइरहेका छन् । यी नेताहरूबीच भएको सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘लालमोहर’ लगाइदिए पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भने ‘तयार छैनन्’ ।
जनमतका अध्यक्ष राउतले आगामी निर्वाचनसम्म जनमत पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने बताइसकेका छन् । ‘जनमत पार्टीका सबै सांसदले राजीनामा दिउन् कि पार्टी छोडेर जाउन्, हाम्रो दल मधेश प्रदेश सरकारमा सहभागी हुन्न,’ राउतले भनेका छन्, ‘मुख्यमन्त्री नै दिए पनि, पुरै मन्त्रिमण्डल नै दिए पनि हामी सरकारमा जान्नौं ।’
काठमाडौंमै रहेका जनमत पार्टीका संसदीय दलका नेता सिंहका अनुसार बिहीबार अबेरसम्म मधेश प्रदेशमा अर्को सरकार गठनबारे स्पष्टता आउनेछ । ‘दलका शीर्ष तहमा छलफल र कुराकानी भइरहेको छ, अलि समय लाग्ला,’ उनले भने, ‘हामी छलफलमै छौं । केही समय कुर्नुस् । सबै चिजबिज क्लियर भएर आउँछ ।’
जसपा नेपाल र जनमत पार्टीका शीर्ष नेता तयार नदेखिएपछि यी तीनै दलका संसदीय दलका नेताहरूले भने मधेश प्रदेशमा अर्को सरकार बनाउन दुई विकल्पमा कसरत गरिरहेका छन् । पहिलो, जसपा नेपाल, एमाले, नेकपा र जनमतबीच सहमति भए दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन दाबी पेस गर्ने । यो सम्भव नभए प्रदेश प्रमुखले सरकार बनाउन दिएको शुक्रबारको समय घर्काएर दोस्रो विकल्पका रूपमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलका संसदीय दलका नेतालाई स्वतः मुख्यमन्त्री नियुक्त गराउने दाउ छ । त्यसअनुसार ठूलो दलको हैसियतले जसपा नेपालका संसदीय दलका नेता यादव मुख्यमन्त्री बन्नेछन् ।
तर, नेकपाका संसदीय दलका नेता भट्टराईले भने दलहरूबीच कुराकानी भइरहेकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै मधेश प्रदेशमा सरकार गठन हुने दाबी गरे । ‘संविधानको धारा १६८ को २ बमोजिम नै मधेश प्रदेशमा सरकार गठन हुन्छ, ३ मा जान्न,’ उनले भने ।
अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।