बागलुङ अदालतले अनुसन्धानका प्रमाण र अभियोग दाबीको विस्तृत विश्लेषणपछि मात्रै बचतकर्ताहरूको वास्तविक दायित्व निर्धारण हुने जनाएको छ।
बागलुङ — इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक एवं ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले वास्तविक बचत रकम यकिन गरिपाऊँ भनी दिएको निवेदनमा जिल्ला अदालत बागलुङले मागबमोजिम आदेश दिन अस्वीकार गरेको छ। अदालतले अन्तिम फैसलालाई असर पर्ने गरी जाहेरवालाहरूको बिगो छुट्याउन नमिल्ने जनाएको हो।
मुद्दाको फैसला हुँदाका बखत जाहेरवालाहरूको अभियोग दाबी तथा अनुसन्धानका क्रममा संकलित प्रमाणको विस्तृत विश्लेषण गरी निष्कर्षमा पुगिने भएकाले तत्काल नेपालीको निवेदनअनुसार बिगो छुट्याउन अस्वीकार गरिएको हो। बुधबार जिल्ला अदालतमा उनको निवेदनमाथि सुनुवाइ भएको थियो।
हाल जिल्ला अदालत बागलुङमा नेपालीविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणका मुद्दा विचाराधीन छन्। यसअघि कास्की जिल्ला अदालतले पोखराको इमेज सहकारी ठगी मुद्दामा नेपालीलाई आठ वर्ष कैद, १ करोड २६ लाख रुपैयाँ जरिवाना र १८ करोड ९६ लाख रुपैयाँ बिगो भराउने फैसला गरिसकेको छ।
नेपालीले बागलुङ जिल्ला अदालतमा बचतकर्ताको रकम यकिन गरिपाऊँ भनी निवेदन दिएका थिए। उनीविरुद्धको सहकारी ठगीको मूल मुद्दा फैसला नभइसकेको अवस्थामा अदालतले निवेदनको मागबमोजिम आदेश दिन अस्वीकार गरेको हो।
नेपाली सहकारी ठगी मुद्दामा दुई वर्षदेखि बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा छन्। २०८१ असोज १२ गते उनी भारतको नयाँदिल्लीबाट पक्राउ परेका थिए। जिल्ला अदालत बागलुङले २०८१ असोज १५ गतेको आदेशबाट उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। बागलुङका बचतकर्ताको झन्डै दुई अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो।
नेपालीविरुद्ध बागलुङका १ हजार ५ सय ४३ बचतकर्ताले जाहेरी दिएका थिए। १ अर्ब ३० करोड ७६ लाख ९८ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता भएको थियो। त्यसपछि नेपालीले १ अर्ब ५ करोड ३० लाख रुपैयाँ बिगोको मिलापत्रसमेत गरिसकेका छन्। अब २५ करोड ३० लाख रुपैयाँ मात्रै दायित्व बाँकी रहेको अवस्थामा उनको मुद्दा जिल्ला अदालत बागलुङमा विचाराधीन छ।
नेपालीविरुद्ध १ अर्ब ५८ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८२ भदौ २३ गते दर्ता भएको सम्पत्ति शुद्धीकरणको मुद्दासमेत विचाराधीन छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १३ मा भएको व्यवस्थाबमोजिम मुद्दा दर्ता गरिएको हो। मुद्दा दर्ता भएपछि नेपालीका नाममा रहेको सम्पत्ति रोक्का गरिएको छ।
२०८० वैशाखमा तरलता अभाव देखाउँदै सहकारी बन्द गरेपछि पीडित बचतकर्ताले आफूहरू ठगिएको थाहा पाएका थिए। त्यसै वर्षको जेठदेखि नेपाली फरार भएका थिए। उनीविरुद्ध रेडकर्नर नोटिस जारी भएको थियो। भारतमा पक्राउ परेर नेपाल ल्याइएका नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि कारागार पठाएको थियो।
२०७४ सालअघि नेपाली नेकपा माओवादीमा आबद्ध थिए। नगर प्रमुखको टिकट नपाएपछि एमाले प्रवेश गरेर टिकट लिएका उनी निर्वाचित भएका थिए। पहिलो कार्यकाल पूरा गरेपछि दोस्रो कार्यकालमा पनि एमालेबाटै नगर प्रमुख निर्वाचित भएका थिए।
प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।