Trending
Prev Story
Next Story

पर्यटकको रोजाइँमा पर्दै तीनजुरे पाथीभरा

Onlinekhabar •
November 18, 2026 • 09:31 AM
3
3 reads 0 reactions

२ मंसिर, तेह्रथुम । पहाडको अग्लो टाकुरामा अवस्थित मन्दिर । मन्दिर परिसरबाट देखिने चारैतिरका हिमशृङ्खला, हरियाली पहाड र टाढाटाढासम्म प्रकृतिक सुन्दरता । तेह्रथुम र संखुवासभा जिल्लाको संगमस्थलमा रहेको तीनजुरेको पाथीभरा मन्दिर धार्मिक आस्था र प्राकृतिक आकर्षणको …

पर्यटकको रोजाइँमा पर्दै तीनजुरे पाथीभरा

२ मंसिर, तेह्रथुम । पहाडको अग्लो टाकुरामा अवस्थित मन्दिर । मन्दिर परिसरबाट देखिने चारैतिरका हिमशृङ्खला, हरियाली पहाड र टाढाटाढासम्म प्रकृतिक सुन्दरता ।

तेह्रथुम र संखुवासभा जिल्लाको संगमस्थलमा रहेको तीनजुरेको पाथीभरा मन्दिर धार्मिक आस्था र प्राकृतिक आकर्षणको संगम बनेको छ ।

मनोकांक्षा पूरा हुने विश्वासका साथ यहाँ पुग्ने तीर्थालुको संख्या हरेक वर्ष बढ्दै गएको छ । तर, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस स्थलसम्म पुग्ने सडकको कठिनाइ र आवश्यक भौतिक पूर्वाधारको अभाव रहेको छ ।

तीनजुरेको पाथीभरा मन्दिरलाई स्थानीयले ‘सानो पाथीभरा’ का रूपमा चिन्ने गरेका छन् । तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सिमाना क्षेत्रनजिक रहेको यो मन्दिर पूर्वी पहाडी क्षेत्रको एक महत्त्वपूर्ण धार्मिक गन्तव्य हो ।

विशेषगरी चैत र वैशाख महिनामा यहाँ तीर्थालु तथा पर्यटकको चहलपहल बढ्ने गर्दछ । माघ र फागुनमा तुलनात्मक रूपमा कम आगन्तुक आउने भएपनि उभौली पर्वको समयसँगै यहाँ दर्शन गर्न आउनेको संख्या बढ्ने गरेको छ ।

गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले क्षेत्रको आसपासमा रहेको यस मन्दिरको धार्मिक महत्त्व आफ्नै किसिमको छ । मन्दिरमा पुगेर दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ । यही विश्वासका कारण तेह्रथुमसहित पूर्वी तराईका विभिन्न जिल्लाबाट भक्तजन यहाँ पुग्ने गरेका छन् ।

मन्दिरमा दर्शन गर्न आएका इटहरीका सन्तोष बस्नेतले पनि यहाँ दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास रहेको बताए । कतिपय दर्शनकै लागि यहाँ पुग्छन् भने कतिपय धार्मिक आस्थासँगै प्राकृतिक दृश्यावलोकनका लागि पनि मन्दिर आउने गर्दछन् ।

मन्दिरको अर्को आकर्षण यहाँबाट देखिने प्राकृतिक दृश्य हो । अग्लो पहाडको टुप्पोमा रहेको मन्दिर परिसरबाट मौसम खुलेका बेला चारैतिरका हिमाल र पहाडी भूभागको मनोरम दृश्य देख्न सकिन्छ । पूर्वी पहाडका विभिन्न भूभागको अवलोकन गर्न सकिने भएकाले धार्मिक यात्रामा निस्किएका तीर्थालुसँगै घुमफिरका लागि आउने पर्यटकको पनि रोजाइमा यो क्षेत्र पर्ने गरेको छ ।

बिदाको दिन परिवार र साथीभाइसँग घुम्न आउनेहरूको चहलपहल बढी हुने गरेको छ भने अन्य दिनमा विशेषगरी मन्दिर दर्शनकै लागि भक्तजन आउने गरेको पुजारी मोहन ढकालले बताए । मन्दिरको धार्मिक विश्वाससँग जोडिएको अर्को विशेषता प्रवेशमार्गमा डोरी टाँग्ने परम्परा पनि हो ।

आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ दर्शनार्थीहरूले मन्दिर प्रवेश गर्ने स्थानदेखि डोरी टाङ्दै मन्दिरसम्म पु‍र्‍याउने गर्दछन् । यसरी टाँगिएका डोरीले मन्दिर परिसरलाई थप विशिष्ट स्वरूप दिएका छन् ।

बसन्तपुर बजारबाट सवारीसाधनमार्फत मन्दिर क्षेत्रसम्म पुग्न सकिने भए पनि सडकको अवस्था भने सहज छैन । आरआर गार्डेनदेखी कच्ची तथा साँघुरो सडक, उकालो–ओरालो र वर्षायाममा हुने हिलाम्मे अवस्थाले यात्रुलाई समस्या हुने गरेको छ ।

सडक सहज नहुँदा वृद्धवृद्धा, बालबालिका र टाढाबाट आउने तीर्थालुलाई मन्दिरसम्म पुग्न कठिन हुने गरेको छ । निजी सवारीसाधन लिएर पुग्नेहरूलाई समेत सडकको अवस्थाले यात्रा असहज बनाउने गरेको सुनसरीबाट आएकी एलिसा कटुवालले बताइन् । उनले मन्दिरसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नतिमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

धार्मिक आस्थाका कारण कठिन बाटो पार गरेर मन्दिर पुग्ने भक्तजनको संख्या बढ्दै गए पनि सडक सुधारमा पर्याप्त ध्यान पुग्न सकेको छैन । सडकको स्तरोन्नति, नियमित मर्मतसम्भार र आवश्यक स्थानमा सुरक्षित यात्रा गर्न मिल्ने संरचना निर्माण गर्नसके यस क्षेत्रको धार्मिक पर्यटन थप विस्तार हुन सक्ने स्थानीयको अपेक्षा छ । सहज सडक पहुँच नहुँदा मन्दिरको प्रचारप्रसार र पर्यटकीय सम्भावनाअनुसार आगन्तुकको आवागमन बढाउन पनि चुनौती बन्दै आएको छ ।

मन्दिर क्षेत्रमा पुग्ने तीर्थालुका लागि आवश्यक भौतिक संरचनाको समेत अभाव छ । दर्शनार्थीलाई विश्राम गर्ने स्थान, व्यवस्थित शौचालय, खानेपानी, फोहोर व्यवस्थापन र अन्य आधारभूत सुविधा विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

धार्मिक विश्वास, प्राकृतिक सुन्दरता र तीनजुरे क्षेत्रको पर्यटकीय सम्भावना बोकेको तीनजुरेको पाथीभरा मन्दिर प्रचारप्रसार र पूर्वाधार विकासको पर्खाइमा छ ।

आस्थाको डोरीले मन्दिरसम्म पुग्ने बाटो जोडिरहेका भक्तजनलाई अब सहज सडक र आवश्यक सुविधाले जोड्नसके यो क्षेत्र पूर्वी पहाडकै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ । त्यसका लागि स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले समेत यसको विकासमा चासो दिन आवश्यक देखिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
21h ago
कात्तिक महिनामा पाथीभराबाट उठ्यो ५० लाख भेटी

कात्तिक महिनामा पाथीभराबाट उठ्यो ५० लाख भेटी

ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ।

#मन्दिर #पाथीभरा
Compare →
Hamro Patro News
1d ago
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री

एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री

• ताप्लेजुङको पाथीभरा मन्दिरमा कात्तिक महिनामा ६४ हजार १०६ तीर्थयात्री पुगेका छन्। • शनिबार मात्र ११ हजार २७२ भक्तजनले मन्दिरको दर्शन गरेका छन्, जुन पछिल्लो तीन वर्षको सबैभन्दा ठूलो संख्या हो। • पा…

#मन्दिर #पाथीभरा
Compare →
Ekantipur
1d ago
कात्तिकमा ६४ हजार तिर्थयात्री पुगे पाथीभरा

कात्तिकमा ६४ हजार तिर्थयात्री पुगे पाथीभरा

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गतवर्षको कात्तिक महिनामा ४२ हजार २६१ जना पुगेका थिए । त्यसको तुलनामा २१ हजार ८४५ जनाले वृद्धि भएको हो ।

#पाथीभरा
Compare →
Bizshala
2d ago
पर्यटक बढे तर होटल कम्पनीको नाफा बढेन, लगानीकर्ता मूल्यको भ्रममा पर्दैछन् ?

पर्यटक बढे तर होटल कम्पनीको नाफा बढेन, लगानीकर्ता मूल्यको भ्रममा पर्दैछन् ?

काठमाण्डौ । नेपालमा विदेशी पर्यटकको आगमन बढ्दै गए पनि सेयरबजारमा सूचीकृत होटल तथा पर्यटन समूहका अधिकांश कम्पनीको...

#पर्यटक #पर्दै
Compare →

Related Stories

Science & Climate
Build #2612