हलिउड अभिनेत्री तथा अस्कर विजेता एनी ह्याथवे ४३ वर्षको उमेरमा पुनः आमा बनेकी छिन्।
४३ वर्षीया अभिनेत्री र उनका पति एडम शुलम्यानले आफ्नो तेस्रो सन्तानलाई परिवारमा स्वागत गरेका हुन्। हालै अभिनेत्री न्यूयोर्क सहरमा बेबी क्यारियरमा नवजात शिशुलाई बोकेर हिँडिरहेको अवस्थामा देखिएकी थिइन्। मंगलबार उनी आफ्नो बच्चा र एक साथीसँग घुमिरहेको तस्बिरहरू सामाजिक सन्जालमा सार्वजनिक भएको थियो।
दम्पतीले अहिलेसम्म नवजात शिशुबारे केही पनि सार्वजनिक गरेका छैनन्। नयाँ सदस्यको आगमनसँगै उनीहरूको परिवार पाँच जनाको बनेको छ। साथै, उनीहरूका जोनाथन र ज्याक नामका दुई छोरा छन्।
एनी ह्याथवेले गत जुन महिनामा सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो तेस्रो गर्भावस्थाबारे जानकारी दिएकी थिइन्।
उनको गर्भावस्थाको घोषणाले प्रशंसकहरूलाई आश्चर्यमा पारेको थियो। विशेषगरी, आगामी चलचित्रहरूको प्रचारप्रसारका क्रममा उनले आफ्नो गर्भावस्थाबारे गोप्य राखेकी थिइन्।
अक्टोबरमा कार्यक्रममा सहभागी हुँदा ह्याथवेले तेस्रो सन्तानको आगमनका लागि आफ्नो परिवार तयारी गरिरहेको बताएकी थिइन्।
उनले भनेकी थिइन्, 'हामी निकै खुसी र उत्साहित छौँ। तर अहिले हाम्रो मुख्य ध्यान चार सदस्यीय परिवारका रूपमा बिताइरहेको समयलाई अझै राम्रोसँग महसुस गर्नुमा छ।'
उनले नयाँ सदस्यको आगमनले परिवारमा ठूलो परिवर्तन ल्याउने र विशेषगरी आफ्ना दुई छोराहरूको जीवनमा धेरै बदलाव आउने बताएकी थिइन्।
एनी ह्याथवे र एडम शुलम्यानले सन् २०१२ मा विवाह गरेका थिए। उनीहरूले आफ्नो पारिवारिक जीवनलाई सधैँ निजी राख्दै आएका छन्।
प्रकाशित: २ मंसिर २०८३ १३:०१ बुधबार