असम्भवप्रायः मैदानी औद्योगिक ढाँचा अपनाएर थला परेको नेपाली कृषि पछिल्ला वर्षहरूमा गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। जलवायु परिवर्तनको अनपेक्षित र तीव्र प्रभावले तापमान वृद्धि, असमयमा हुने वर्षा, लामो खडेरी, बाढीपहिरो, नयाँनयाँ रोगकिरा र मिचाहा प्रजातिको प्रकोपले कृषिलाई अस्तव्यस्त बनाइदिएको छ। परम्परागत ज्ञान, रैथाने बीउ र रैथाने प्रविधि हराउँदै गएको अवस्थामा किसानहरू रासायनिक मल, महँगो बीउ र आयातित प्रविधिको भारी बोक्न बाध्य छन्।
यसैमाथि विश्व तथा क्षेत्रीय प्रभुत्व विस्तारलाई नियमन गर्न नसक्ने निरीहताले हाम्रो कृषि उपजको बजार चरम अनिश्चितताबाट गुज्रिरहेको छ। यी सबै झेल्न नसक्ने निष्कर्षमा पुगेका युवाहरूको विदेश पलायनले नेपाली कृषि प्रणालीलाई थप कमजोर बनाएको छ। ‘यस्तै भए भविष्यमा खेतीपाती कसले गर्छ ? यसो नगरे हाम्रो राष्ट्रिय औकात के रहन्छ ?’ भन्ने गम्भीर प्रश्न उठिरहेको छ।
यद्यपि, यस्ता बहुआयामिक सङ्कटहरूका बीचमा पनि नेपाली किसानले हरेस खाएका छैनन्। नेपाली समाज र राज्यले साथ दिएमा कृषिकर्म गर्ने स्वाभिमानी किसानहरू आफ्नो जीविका चलाउँदै सबै नेपालीलाई खानाको बन्दोबस्त गर्न सक्षम छन्। जैविक पुनरुत्पादनको अविरल यात्रामा रहेका उनीहरूलाई राम्ररी थाहा छ— जीवन चलाउनु छ भने सङ्कटको सामना गरेर पुनः उभिन सक्नुपर्छ।
यो गम्भीर सङ्कटपछि पनि आफ्नो जीवन, स्वास्थ्य र खाद्य सुरक्षा बचाउन निरन्तर लडिरहनुको विकल्प छैन। जसरी आँधीबेहरी चल्दा बाँस भुइँसम्म झुक्छ, तर जरा र डाँठ बलियो भएकाले भाँचिँदैन र आँधी थामिएपछि पुनः सीधा हुन्छ; ठीक त्यसैगरी नेपाली कृषि प्रणाली र किसानहरू पनि उत्थानशील बन्नु आवश्यक छ। यही उत्थानशीलता र दृढ सङ्कल्पलाई आत्मसात् गरेर मात्रै नेपालमा कृषिको पुनर्जीवन सम्भव छ। यसका लागि केही प्रमुख तथा आधारभूत स्तम्भहरूलाई आत्मसात् गर्नु आजको अपरिहार्य आवश्यकता हो :
पहिलो, स्वस्थ माटो नै कृषिको प्राण हो
कृषिको पुनर्जीवनको सबैभन्दा ठूलो र पहिलो आधार स्वस्थ माटो हो। माटो मर्न थाल्यो भने किसानले जति नै मिहिनेत गरे पनि उत्पादन दिन सक्दैन। आज हाम्रो कृषियोग्य माटो बिरामी भइसकेको छ। विगत लामो समयदेखि रासायनिक विष र मल मात्रै प्रयोग गर्दा माटोको जैविक तथा भौतिक गुण बिग्रिएको छ। माटो अत्यधिक अम्लीय र कडा बन्दै गएको छ। माटोमा पानी सोस्ने क्षमता घटेको छ र सूक्ष्म जीवहरू नष्ट भएका छन्। यस्तो मृतप्रायः माटोमा अलिकति सुक्खा हुँदा बाली सुक्छ भने अलिकति भारी वर्षा हुँदा बाढीले बगाएर लैजान्छ।
माटोलाई बचाउन अब प्राङ्गारिक मल, गाईवस्तुको गोठको मल र कम्पोस्ट प्रयोगलाई बढाउँदै जानुपर्छ। माटोमा नाइट्रोजन, फस्फोरस र पोटास मात्र होइन, सूक्ष्म पोषक तत्त्व र जीवाणुहरूको सन्तुलन आवश्यक हुन्छ। बालीचक्र परिवर्तन गरेर, हरियो मल प्रयोग गरेर र रासायनिक मलको अन्धाधुन्ध प्रयोग घटाएर मात्र माटोको उत्पादकत्व दिगो रूपमा जोगाउन सकिन्छ।
दोस्रो, पानीको विवेकपूर्ण व्यवस्थापन
नेपालमा पानीको अपार प्राकृतिक भण्डार त छ, तर उचित व्यवस्थापनको अभावमा खेतीयोग्य जमिन प्रायः सुक्खा रहन्छ। आकाशे पानीको भरमा मात्र खेती गर्ने परम्परा अब फेर्नुपर्छ। धानबालीका बेला खडेरी पर्ने र हिउँदमा सिँचाइको अभाव हुने समस्याले कृषकहरूलाई सधैँ पिरोल्छ। त्यसैले, कृषिको पुनर्जीवनका लागि पानीको विवेकपूर्ण व्यवस्थापन अपरिहार्य छ।
यसका लागि बहुआयामिक चिस्यान प्रविधिको विकास गर्नुपर्छ। पहाडी क्षेत्रमा पोखरी निर्माण, वर्षाको पानी सङ्कलन र थोपा चिस्यान प्रविधिहरूको विस्तार गर्नुपर्छ। तराई क्षेत्रमा भूमिगत जलभण्डार विस्तार गर्न चुरे तथा भावर क्षेत्र संरक्षण गरी उपलब्ध पानीको विवेकपूर्ण र दिगो उपयोग गर्नुपर्छ।
पानीको व्यवस्थापन भनेको सिँचाइका नाममा धेरै पानी बगाएर खेर फाल्नु मात्र होइन, बोटबिरुवालाई चाहिने जति मात्र पानीको बन्दोबस्त मिलाउने कला हो। उदाहरणका लागि, धान खेतीमा सघन धान खेती विधि वा तरकारीमा थोपा सिँचाइ प्रविधि अपनाउँदा ५० प्रतिशतसम्म पानी बचत गर्न सकिन्छ।
तेस्रो, रैथाने बीउको संरक्षण र प्रवर्द्धन
यदि किसान स्वयम् शारीरिक वा मानसिक रूपमा कमजोर वा रोगी भयो भने सम्पूर्ण खेतबारी बाँझो बन्न पुग्छ। त्यसैले किसानको स्वास्थ्य, शिक्षा, पोषण र सामाजिक सुरक्षा पनि कृषि प्रणालीकै अभिन्न अङ्ग हुन्।
आज हाम्रो कृषि प्रणाली एउटै वर्णशङ्कर बीउमा अत्यधिक निर्भर छ। बजारबाट खरिद गरेर ल्याइएको विकासे बीउबाट सुरुमा राम्रो उत्पादन त हुन्छ, तर त्यसका लागि अत्यधिक रासायनिक मल, पानी र विषादीको आवश्यकता पर्छ।
यदि अलिकति मात्र रोग वा प्रतिकूल मौसमको सामना गर्नुपर्यो भने यिनबाट उत्पादन लिन सकिँदैन, किनकि यी स्थानीयतामा अनुकूलित भएका हुँदैनन्। यो परनिर्भरताको मात्र प्रश्न होइन, यो त अनुकूलित बीउ बन्ने प्रक्रियाको नियोजन हो। यो नै अहिलेको कृषि प्रणालीको सबैभन्दा ठूलो कमजोरी हो।
यसको सट्टा, स्थानीय रैथाने बीउहरूको संरक्षण र प्रवर्द्धन गर्नु आजको आवश्यकता हो। हाम्रा पुर्खाले जोगाएर राखेका स्थानीय धानका जातहरू, कोदो, मकै, फापर, जौ, तोरी, दलहन र विभिन्न तरकारी तथा फलफूलका रैथाने बीउहरू जलवायु परिवर्तनको मार झेल्न सक्षम हुन्छन्।
यी बालीहरू स्थानीयतामा निरन्तर अनुकूलित भइरहेका हुन्छन्। त्यसैले यी बालीहरूमा प्राकृतिक रूपमै रोग र खडेरी सहन सक्ने क्षमता हुन्छ। प्रत्येक गाउँमा सामुदायिक बीउ भण्डार बनाएर मात्र बाह्य बहुराष्ट्रिय कम्पनीहरूको बीउमाथिको निर्भरता अन्त्य गर्न सकिन्छ। बीउमा आत्मनिर्भरता नै कृषिको पुनर्जीवनको मेरुदण्ड हो।
जलवायु परिवर्तन अब भविष्यको कुनै काल्पनिक कथा होइन। यो हाम्रो दैनिक जीवनको कठोर यथार्थ बनिसकेको छ। असारमा पानी नपर्ने, पुस–माघमा बाढी आउने, अत्यधिक तापक्रम वृद्धि हुने र नयाँनयाँ रोग तथा किराहरूको प्रकोप देखिने क्रम बढेको छ। यस्तो अवस्थामा पुराना र पारम्परिक मौसमी पात्रोको भरमा मात्र खेती गरेर ढुक्क हुन सकिँदैन।
हामीले जलवायुको बदलिँदो स्वरूपसँग मेल खाने गरी खेतीपातीको ढाँचा बदल्नुपर्छ। मौसमको पूर्वानुमान र तथ्याङ्क हेरेर बाली लगाउने, छोटो अवधिमा पाक्ने उन्नत जात छान्ने, पहिरो जान सक्ने भिरालो जमिनमा रुख तथा घाँस प्रजाति लगाउने र कृषिवन प्रणाली अपनाउने गर्नुपर्छ। खेतबारीको कान्लामा फलफूल वा डालेघाँसका रुखहरू लगाउँदा माटोको बहाव रोकिन्छ, हावाको वेग कम हुन्छ र किसानलाई अतिरिक्त काठ, घाँस तथा फलफूलसमेत प्राप्त हुन्छ। रुखले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न ठूलो भूमिका खेल्छ।
पाँचौँ, चक्रीय कृषि प्रणालीको अवलम्बन
बाली तथा उत्पादनलाई एकीकृत चक्रीय प्रणालीमा ढाल्नु बुद्धिमानी हुन्छ। बाली उत्पादनसँगै पशुपालन, माछापालन, कुखुरापालन र मौरीपालनलाई सँगै जोड्दा एक क्षेत्रको सहउत्पादन अर्को क्षेत्रको मुख्य आहार वा मल बन्न पुग्छ। उदाहरणका लागि, गाईभैँसीको गोबरले खेतको माटोलाई मल प्रदान गर्छ भने खेतमा उत्पादित घाँस र पराल गाईवस्तुको चारामा सदुपयोग हुन्छ। यस प्रकारको चक्रीय कृषि प्रणालीले किसानको आर्थिक जोखिमलाई कम गर्छ। यदि कुनै कारणवश एउटा बालीमा नोक्सानी बेहोर्नुपरे पनि पशुपन्छी वा अन्य सहउत्पादनबाट त्यसको परिपूर्ति हुन सक्छ।
छैटौँ, सङ्गठित किसान र प्रविधिको ज्ञान
कृषिको पुनर्जीवनको सबैभन्दा ठूलो शक्ति स्वयं किसान र उनीहरूको प्रकृतिसम्मत विवेकपूर्ण ज्ञान हो। यो नभएसम्म प्रविधिले मात्र खेतीपाती दीर्घकालसम्म टिक्न सक्दैन। आज धेरैजसो किसानलाई बजारभाउ, माटोको अवस्था, मौसमको पूर्वानुमान र नयाँ रोगको उपचारबारे तथ्यगत जानकारी छैन। उनीहरू पूर्ण रूपमा एक्लाएक्लै सङ्घर्ष गरिरहेका छन्।
असङ्गठित किसान कमजोर हुन्छ भने सङ्गठित किसान सधैँ बलियो हुन्छ। त्यसैले किसान समूह, कृषि सहकारी, महिला समूह र बचत समूहहरूको गठन गर्नु अपरिहार्य छ। सहकारीमार्फत किसानहरूले सजिलै सामग्री लेनदेन गर्न सक्छन्, आफ्ना उत्पादनहरू सामूहिक रूपमा बजारमा बिक्री गर्न सक्छन् र भण्डारणको व्यवस्था मिलाउन सक्छन्।
यसैगरी, युवा पुस्तालाई कृषि शिक्षा र प्रविधिसँग जोड्नुपर्छ। कृषि भनेको गरिब र अशिक्षितको काम हो भन्ने गलत मानसिकता समाजबाट हटाएर यसलाई विज्ञान, प्रविधि र उद्यममा आधारित सम्मानित पेसा बनाउनुपर्छ। मौसमको जानकारी, बजारको मूल्य, रोग पहिचानसम्बन्धी ज्ञान तथा कृषि विज्ञहरूको सेवा प्रत्येक किसानसम्म पुर्याउनुपर्छ। साथै, हाम्रा बाआमाले आकाश हेरेर र हावाको चाल बुझेर गर्ने गरेको परम्परागत ज्ञानलाई विज्ञानसँग जोड्न सके हाम्रो कृषि अझ बढी सबल र भरपर्दो बन्छ।
सातौँ, व्यवस्थित बजार र आर्थिक सुरक्षा
धेरैजसो किसानहरूले वर्षभरि कडा परिश्रम गरेर प्रशस्त अन्न तथा तरकारी उत्पादन गरे पनि उचित मूल्य नपाएर नोक्सानी बेहोर्न बाध्य छन्। खेतमा गोलभेँडा कुहिएर जाने तर सहरमा बिचौलियाले अत्यधिक मुनाफा कमाउने प्रवृत्तिको अन्त्य नभएसम्म कृषि सङ्कट टर्दैन। कृषिको स्थायित्वका लागि व्यवस्थित स्थानीय बजार र आर्थिक सुरक्षा पहिलो सर्त हो।
उत्पादित वस्तुलाई सकेसम्म स्थानीय बजारमा बेच्न र अन्य सहर तथा प्रशोधन केन्द्र पठाउन व्यवस्थित यातायातको सञ्जाल निर्माण गर्नु आवश्यक छ। कृषि उपज प्रशोधन गरेर विविध उपभोग्य उत्पादन बनाई मूल्य अभिवृद्धि गर्न सकियो भने किसानले बजारको उतारचढावबाट बच्न सक्छन्। साथै, यसले कृषि क्षेत्रमा रोजगारीसमेत बढाउँछ।
त्यस्तै, कृषि बिमा किसानको सुरक्षाको अर्को कवच हो। बाढी, पहिरो वा असिनाले बाली नष्ट गरेमा बिमाबाट क्षतिपूर्ति पाउन सकियो भने मात्र किसानमा अर्को साल पुनः खेती गर्ने हिम्मत जाग्छ। कागजी प्रक्रियामा मात्र सीमित बिमा सुविधाहरूलाई सरल बनाएर वास्तविक किसानको गोजीसम्म पुर्याउनुपर्छ। रासायनिक मलजस्तो घातक विषमा अनुदान दिने सरकारले यसलाई घटाउँदै जैविक मल, प्राङ्गारिक मल, उन्नत जातका स्थानीय बीउ र सिँचाइ पूर्वाधारमा अनुदान केन्द्रित गर्नुपर्छ। स्थानीय तहले प्रत्येक वडामा कृषि प्रवर्द्धन एकाइको अनिवार्य व्यवस्था गर्नुपर्छ।
कृषिको पुनर्जीवन भनेको केही बाली लगाएर उत्पादन बढाउने प्रक्रिया मात्र होइन, यो किसान परिवारको समग्र उत्थानको अभियान हो। यदि किसान स्वयम् शारीरिक वा मानसिक रूपमा कमजोर वा रोगी भयो भने सम्पूर्ण खेतबारी बाँझो बन्न पुग्छ। त्यसैले किसानको स्वास्थ्य, शिक्षा, पोषण र सामाजिक सुरक्षा पनि कृषि प्रणालीकै अभिन्न अङ्ग हुन्। विशेष गरी नेपाली कृषिमा महिला कृषकहरूको भूमिका अग्रणी छ, किनकि धेरैजसो कृषिकार्य महिलाहरूले नै धान्छन् तर निर्णय गर्ने अधिकार प्रायः पुरुषको हातमा हुन्छ। महिलाहरूलाई भूमिमा स्वामित्व, तालिम र वित्तीय पहुँच सहज बनाइयो भने कृषि प्रणाली अझ बढी जीवन्त बन्छ।
अन्त्यमा, कृषिको पुनर्जीवन कुनै एक–दुईवटा प्रविधि, रासायनिक मल वा आयातित बीउबाट मात्र सम्भव छैन; यो एक समग्र प्रणालीगत सुधार हो। स्वस्थ माटो, पानीको व्यवस्थापन, रैथाने बीउको विविधता, जलवायु अनुकूलित खेती, कृषकको ज्ञान र सशक्त सङ्गठन, सुरक्षित बजार र राज्यको सहयोगी नीति— यी सातवटा आधारभूत स्तम्भहरू बलियो भए मात्र नेपाली कृषि सङ्कटबाट बाहिर निस्कन, पुनः उकालो लाग्न र दीर्घकालीन रूपमा टिकिरहन सक्छ, नत्र भन्न सकिन्न।
कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।