Trending
Prev Story
Next Story

कोप नेपालीको साझा चौतारी

Nagarik News •
November 18, 2026 • 04:15 AM
3
3 reads 0 reactions

कोप सम्मेलनमा नेपालको आफ्नै पेभिलियन हुने अभ्यास धेरै पुरानो होइन।

कोप नेपालीको साझा चौतारी

टर्कियको सुन्दर पर्यटकीय सहर अन्तल्यास्थित एक्स्पो सेन्टरमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) को भीडभाडबिच एउटा सानो ठाउँ छ, जहाँ पुग्दा नेपाल पुगेको अनुभूति हुन्छ। प्रवेशद्वारमै देखिने सगरमाथाको झल्को, भित्तामा सजिएका हिमाल र जलवायु संकटका तस्बिर, नेपाली प्रतिनिधिहरूको आउजाउ र नेपाली भाषामा भइरहेका कुराकानीले यो ठाउँलाई अरूभन्दा फरक बनाएको छ।

मात्र ४८ वर्गमिटर क्षेत्रफलमा फैलिएको नेपाल पेभिलियनको भौतिक संरचना भव्य छैन। एउटा सानो सभाकक्ष, केही दर्जन कुर्सी, वक्ताहरूका लागि मञ्च, पोडियम र भित्रपट्टि सचिवालयको काम गर्ने सानो कोठा। मन्त्री तथा उच्च अधिकारीलाई केही बेर बसेर कुराकानी गर्न मिल्ने सामान्य व्यवस्था पनि त्यहींभित्र छ। भित्तामा राखिएका भोटेकोसी बाढीका तस्बिरले भने नेपालको जलवायु संकटको भयावहता अन्तर्राष्ट्रिय समुदायलाई सम्झाइरहेका छन् तर यसको महत्व भौतिक आकारभन्दा धेरै ठुलो छ। विश्वका ७४ देशले आफ्ना राष्ट्रिय पेभिलियन स्थापना गरेको यस सम्मेलनमा अन्तर्राष्ट्रिय संस्था, अभियान र अन्य निकायका पेभिलियनसमेत जोड्दा यो संख्या डेढ सयभन्दा बढी पुग्छ। त्यही अन्तर्राष्ट्रिय जमघटबिच नेपालको यो सानो पेभिलियन नेपालीका लागि भेटघाट, छलफल, सिकाइ र सम्बन्ध विस्तारको साझा चौतारी बनेको छ।

नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने कोप–३१ अवधिमा नेपाल पेभिलियनमा ४८ वटा कार्यक्रम र छलफल आयोजना हुँदैछन्। दैनिक औसत चारदेखि पाँचवटा कार्यक्रम भइरहेका छन्।

जलवायु वार्तामा संलग्न सरकारी अधिकारीदेखि वैज्ञानिक, अनुसन्धानकर्ता, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, युवा र विदेशमा बसोबास गर्ने नेपालीसम्म यहाँ आइपुग्छन्। कोही आफ्नो कार्यक्रममा सहभागी हुन आउँछन्, कोही अरूका अनुभव सुन्न, त कोही वर्षौंपछि भेटिएका साथीभाइसँग भलाकुसारी गर्न।

बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्लीदेखि जलवायु अभियन्ता हरजित सिंह र विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा अभियानका प्रतिनिधिले पनि यस पेभिलियनमा आयोजित कार्यक्रममार्फत सहभागिता जनाइसकेका छन्। यसले नेपाललाई आफ्ना मुद्दा प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय जलवायु समुदायसँग प्रत्यक्ष संवाद गर्ने अवसरसमेत दिएको छ।

कोप सम्मेलनमा नेपालको आफ्नै पेभिलियन हुने अभ्यास धेरै पुरानो होइन। यसअघि नेपाली प्रतिनिधिहरू सम्मेलनको कोरिडोर, कफी पसलअगाडिको खुला ठाउँ वा उपलब्ध साझा स्थानमा भेटघाट गर्थे। त्यही ठाउँ नेपालको अनौपचारिक सम्पर्क केन्द्र हुन्थ्यो। औपचारिक कार्यक्रम र छलफलका लागि भने छुट्टै स्थानको अभाव थियो। इजिप्टको शर्म अल शेखमा आयोजित कोप–२७ मा नेपाली प्रतिनिधिमण्डलका लागि डेलिगेसन अफिसको व्यवस्था गरिएको थियो। त्यसपछि अजरबैजानको बाकु र संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित सम्मेलनहरूमा नेपालको उपस्थिति क्रमशः पेभिलियनको स्वरूपमा विस्तार भयो। अन्तल्याको नेपाल पेभिलियन यस शृंखलाको तेस्रो हो। यस्ता पेभिलियन स्थापनामा विभिन्न सहयोगी निकायले साथ दिँदै आएका छन्। आयोजक राष्ट्रले नेपालको अनुरोधमा स्थानको भाडा मिनाहा गर्ने व्यवस्था पनि गर्दै आएको छ। यसले नेपाललाई सीमित स्रोतसाधनका बाबजुद अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्ना कार्यक्रम सञ्चालन गर्न सहज बनाएको छ।

यद्यपि, पेभिलियनमा नेपाली प्रतिनिधिहरूको ठुलो उपस्थिति र विदेशी सहभागीको न्यून सहभागितालाई लिएर प्रश्न पनि उठ्ने गरेका छन्। कतिपयको बुझाइमा नेपालबाटै आएका सहभागीको वर्चस्व बढी र अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थिति कम हुने गरेको छ, तर पेभिलियनमा आयोजित कार्यक्रमहरूमा विदेशी संस्था, अभियान र विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता पनि उल्लेख्य रहेको सरकारी अधिकारी दाबी गर्छन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालका लागि नेपाल पेभिलियनको महत्व यही भेटघाट र संवादको अवसरमा छ।

ढकालका अनुसार सम्मेलनमा सरकारी वार्ता टोलीका सदस्यहरू औपचारिक वार्तामा व्यस्त रहँदा अन्य नेपाली सहभागीका लागि पेभिलियन भेटघाट र विचार आदानप्रदानको महत्वपूर्ण थलो बनेको छ। ‘यो पेभिलियनले सबै नेपालीलाई एउटै ठाउँमा भेला गराउने र विश्वका मानिसलाई नेपाल बुझ्न सहयोग गर्ने अवसर दिएको छ’, ढकाल भन्छन्, ‘यसपटकको पेभिलियन निकै सक्रिय र जीवन्त बनेको छ।’

तस्बिर नेपाल पेभिलियनमा छलफल गर्दै नेपाली तथा अन्य देशका युवा वैज्ञानिकका लागि सिक्ने र जोडिने थलो

थाइल्यान्डको बैंककमा वैज्ञानिक अनुसन्धान र अध्यापनमा संलग्न नेपाली वैज्ञानिक डा. शोभाकर ढकाल यो सम्मेलनमा सहभागी हुन आइपुगेका छन्। जलवायु सम्मेलनमा विश्वका २ सय राष्ट्रका झन्डै एक लाख मानिसको सहभागिता हुने र आवागमनका क्रममा त्यसले सिर्जना गर्ने कार्बन उत्सर्जनबारे प्रश्न उठ्ने गरेको प्रसंग उनी पनि स्वीकार गर्छन्, तर उनका विचारमा जलवायु परिवर्तनजस्तो विश्वव्यापी चुनौती सम्बोधन गर्न यस्ता सम्मेलनले आवश्यक गति र साझा प्रतिबद्धता निर्माण गर्छन्। ‘विश्वव्यापी एजेन्डालाई अगाडि बढाउन एउटा मोमेन्टम चाहिन्छ। यस्ता सम्मेलनले त्यही गति प्रदान गर्छन्’, उनी भन्छन्, ‘आपसी सहकार्य, संवाद र समन्वयका लागि यस्ता जमघट आवश्यक छन्।’

औपचारिक जलवायु वार्तामा प्रत्यक्ष संलग्न नभए पनि विदेशमा अनुसन्धान र अध्यापन गरिरहेका नेपाली वैज्ञानिकका लागि पेभिलियन जलवायु समुदायसँग जोडिने माध्यम बनेको उनको बुझाइ छ। मेक्सिकोमा खाद्यसम्बन्धी विषयमा अनुसन्धान र अध्यापन गरिरहेका अर्का नेपाली वैज्ञानिक टेकबहादुर सापकोटा पनि सम्मेलनलाई एकअर्काबाट सिक्ने अवसरका रूपमा लिन्छन्। ‘यस्ता सम्मेलनमा अरूले के गरिरहेका छन् भन्ने बुझ्न र सिक्न पाइन्छ। सिकाइ दुईतर्फी हुन्छ। यस्ता सम्मेलनको महत्वपूर्ण काम नै त्यही हो’, उनी भन्छन्। विभिन्न देश र संस्थाले जलवायु परिवर्तनका क्षेत्रमा गरिरहेका प्रयास, नयाँ अनुसन्धान र प्रविधिबारे जानकारी लिन तथा सम्भावित सहकार्यका अवसर खोज्न पनि पेभिलियन उपयोगी भएको उनको अनुभव छ।

नेपाल पेभिलियनको व्यवस्थापनमा सहयोग गरेका गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीका अध्यक्ष विनोद पौडेल यसलाई सम्मेलनस्थलमा नेपाली समुदायको आफ्नै घरजस्तै ठान्छन्। उनका अनुसार विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपालीहरू आआफ्नो पेसा र काममा व्यस्त हुने भएकाले नेपालसँग सम्बन्धित कार्यक्रमहरूमा नियमित सहभागी हुन पाउँदैनन्। तर जुन देशमा कोप सम्मेलन आयोजना हुन्छ, त्यहाँको नेपाली समुदाय कुनै न कुनै रूपमा सम्मेलनसँग जोडिने अवसर पाउँछ। ‘यो देशसँग जोडिने पुल हो। नेपालसँगको नाता कमजोर हुँदै गएका दोस्रो र तेस्रो पुस्तालाई पनि पुनः नेपालसँग जोड्ने काम यस्ता पेभिलियनले गर्छन्’, पौडेल भन्छन्।

उनका विचारमा कोप सम्मेलन केवल सरकारी प्रतिनिधि र जलवायु वार्ताकारहरूको जमघट मात्र होइन; संसारभर छरिएर रहेका नेपाली समुदायबिच भेटघाट, सम्पर्क र सहकार्य विस्तार गर्ने अवसर पनि हो। ‘जहाँ सम्मेलन आयोजना भए पनि नेपाली डायस्पोरालाई परिचालन गर्नुपर्छ। हामी पनि यो समग्र अभियानमा जोडिन चाहन्छौं’, उनी भन्छन्।

जलवायु मुद्दामा राजनीतिक अपनत्वको अवसर

जलवायु परिवर्तनका दृष्टिले उच्च जोखिममा रहेको नेपालका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थिति जनाउनु आफैंमा महत्वपूर्ण छ, तर त्यहाँ उठाइएका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा रूपान्तरण गर्ने र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा उतार्ने काम अझ महत्वपूर्ण छ। यसपटक कोप– ३१ मा नेपालबाट मन्त्री, सांसद, उच्च सरकारी अधिकारीलगायत अन्यको अधिक सहभागिता पनि चर्चाको विषय बनेको छ। सम्मेलनमा अर्थ, परराष्ट्र र स्वास्थ्यलगायत मन्त्रालयका मन्त्री तथा विभिन्न राजनीतिक दलका दर्जनभन्दा बढी सांसदहरू सहभागी छन्। डा. ढकाल यसलाई जलवायु मुद्दामा राजनीतिक अपनत्व विस्तार गर्ने अवसरका रूपमा हेर्छन्। उनका अनुसार जलवायु परिवर्तन वातावरण मन्त्रालयको मात्रै विषय होइन। यसको प्रभाव अर्थतन्त्र, स्वास्थ्य, कृषि, पूर्वाधार र समग्र विकाससँग जोडिएको छ। त्यसैले विषयगत मन्त्रालय र राजनीतिक नेतृत्वको सक्रियता आवश्यक छ। ‘जलवायुका विषयमा सबै पक्षको क्षमता अभिवृद्धि हुनुपर्छ। राजनीतिक अपनत्वले देशभित्र जलवायु कार्यलाई अगाडि बढाउन सहयोग गर्छ’, उनी भन्छन्।

मन्त्री र सांसदहरूको सहभागिताले जलवायु मुद्दालाई सरकारका विभिन्न तह र निकायसम्म पु¥याउन मद्दत गर्ने उनको विश्वास छ। ‘अब जलवायु कार्यलाई आन्तरिकीकरण गर्न सजिलो हुन्छ। राष्ट्रिय अनुकूलन योजना (न्याप) र राष्ट्रिय निर्धारित योगदान (एनडिसी) कार्यान्वयनमा सहयोग गर्नुस् भनेर हामीले मात्रै भनिरहनु पर्दैन। सम्बन्धित मन्त्रालयका नेतृत्वले पनि त्यसको जिम्मेवारी लिनुहुनेछ’, उनी भन्छन्।

यसपटक विभिन्न देशका सांसदहरूबिच पनि छलफल र अन्तरक्रिया भइरहेको छ। नेपाली सांसदहरूले अन्तर्राष्ट्रिय समकक्षीसँग अनुभव आदानप्रदान गर्ने अवसर पाएको ढकाल बताउँछन्। नयाँ पुस्ताका राजनीतिक नेतृत्व, महिला र युवा सहभागितालाई पनि उनले सकारात्मक रूपमा लिएका छन्। कतिपय पहिलोपटक सम्मेलनमा सहभागी भएर सिकिरहेको र अनुभवीले आफ्नो ज्ञान तथा क्षमता थप विस्तार गरिरहेको उनको भनाइ छ।

नेपाल पेभिलियनको यो अभ्यासले अर्को महत्वपूर्ण प्रश्न पनि उठाएको छ— के यस्ता सम्मेलनमा नेपालको उपस्थिति र कार्यक्रम सञ्चालनको जिम्मेवारी सधैं सरकारकै नेतृत्वमा रहनुपर्छ ? डा. ढकाल भने आगामी वर्षमा नागरिक समाज र निजी क्षेत्रले पनि यसको नेतृत्व लिनुपर्ने बताउँछन्। ‘आगामी वर्षमा नागरिक समाज र निजी क्षेत्रले यसको नेतृत्व लिऊन् भन्ने हाम्रो चाहना छ’, उनी भन्छन्।

प्रकाशित: २ मंसिर २०८३ १०:०० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
कोप–३१ को पहिलो साता : नेपालको तर्फबाट के–के भए ?

कोप–३१ को पहिलो साता : नेपालको तर्फबाट के–के भए ?

३० कात्तिक, अन्ताल्या (टर्किए) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो साता सम्पन्न हुँदा हिमाल र जलवायु परिवर्तनको मुद्दाले अन्तरराष्ट्रियस्तरमा प्राथमिकता पाएको ...

#कोप #सम्मेलन #जलवायु
Compare →
Onlinekhabar
3d ago
कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद्

कोप–३१ मा सहभागी हुँदै ५ जना सांसद्

२८ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालका पाँच जना सांसद् सहभागी हुँदैछन् । संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीसहित पाँच …

#कोप #सम्मेलन #जलवायु
Compare →
Ekantipur
3d ago
कोप–३१ मा नेपालको जलवायु एजेन्डा उठाएर परराष्ट्रमन्त्री खनाल फर्किए

कोप–३१ मा नेपालको जलवायु एजेन्डा उठाएर परराष्ट्रमन्त्री खनाल फर्किए

कोप–३१ मा अब हुने बैठक तथा वार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् ।

#कोप #जलवायु
Compare →

Related Stories

National (Nepal)
Build #2612