युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धमा रहेका पुटिनले दुई शक्तिशाली नेतासँगको भेटलाई रुसको अन्तर्राष्ट्रिय प्रभाव बढाउने अवसरका रूपमा उपयोग गर्न खोज्नेछन्।
काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको बहुप्रतीक्षित भेटवार्ताअघि चीनको सेन्जेन पुगेका छन् । चीनले आयोजना गरेको एसिया प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन उनी बुधबार राति सेन्जेन आइपुगेका हुन् ।
पुटिनले बिहीबार ट्रम्प र सीसँग आणविक अप्रसारका विषयमा हुने त्रिपक्षीय बैठकमा भाग लिने कार्यक्रम छ। ट्रम्प भने फिलिपिन्समा आयोजित अर्को शिखर सम्मेलनमा सहभागी भइरहेका छन् । उनी बुधबारै चीन पुग्ने कार्यक्रम छ ।
यसैबीच, चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सी र पुटिनबीच द्विपक्षीय वार्ता सुरु भएको छ। रुसी पक्षले यसअघि सार्वजनिक गरेको कार्यतालिकाअनुसार उनीहरूबीच दिवाभोजका क्रममा भेटवार्ता हुने तय थियो। दिवाभोजपछि दुवै नेताले सेन्जेन विश्वविद्यालयको भ्रमण गर्ने र पुटिन राति आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।
यस शिखर सम्मेलनमा चीनले प्रविधिमा आधारित आफ्नो भावी विकासको महत्त्वाकांक्षा प्रदर्शन गर्ने तयारी गरेको छ। उता, अमेरिकासँग पुनः भन्सार युद्ध चर्किन नदिन बेइजिङले ट्रम्पसँग व्यापार सम्झौता गर्ने प्रयास गर्ने अपेक्षा गरिएको छ ।
पुटिनका लागि कूटनीतिक हैसियत उकास्ने मञ्च
ट्रम्प र सीसँगको भेटवार्ता पुटिनका लागि रुसको कूटनीतिक प्रभाव विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ । सन् २०१४ मा क्रिमिया गाभेपछि र सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि रुसले पश्चिमा मुलुक र तिनका सहयोगी राष्ट्रहरूको प्रतिबन्ध सामना गर्दै आएको छ ।
च्याटम हाउसको रुस तथा युरेसिया कार्यक्रमका टिमोथी एसका अनुसार पुटिनले युक्रेन मुद्दालाई वार्ताको प्रमुख विषय बनाउन चाहनेछन् । साथै, सन् १९४५ को याल्टा सम्मेलनकै झल्को दिने गरी यसपटकको शिखर सम्मेलनलाई प्रस्तुत गर्ने उनको चाहना हुन सक्छ ।
दोस्रो विश्वयुद्धको अन्त्यतिर भएको याल्टा सम्मेलनमा अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डी रुजवेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिन सहभागी थिए । उनीहरूले नाजी जर्मनीको पराजय र युद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए ।
एसका अनुसार पुटिनले युक्रेन र युरोपलाई बाहिर राखेर युक्रेनको भविष्यबारे निर्णय गर्न ट्रम्प र सी पनि आफूसँगै सहभागी होऊन् भन्ने चाहना राख्नेछन् ।