२ मंसिर , काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
नेपाल इन्जिनियरिङ सेवा , सिभिल इन्जिनियरिङ समूह , बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो ।
सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको र एक जना स्वीकृत नगराई बिदामा बसेको कसुरमा कारबाहीमा परेका छन् ।
कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएकामा पुजन न्यौपाने , सृष्टि भुषाल , सम्योग श्रेष्ठ , आस्था आचार्य , नरेश थापा र रमेश प्रसाद पौडेल छन् ।
त्यस्तै , स्वीकृत नगराई बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको सूचनामा उल्लेख छ ।
मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको आज सार्वजनिक सूचनामा उल्लेख छ ।