रात्रिकालीन धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको अन्तिम क्वाटरफाइनलमा फराकिलो जित निकाल्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुनसरी — नेपाल पुलिस क्लबले रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगितामा फराकिलो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार राति धरान रंगशालामा सम्पन्न अन्तिम क्वाटरफाइनलमा पुलिसले काँकडभिट्टा महिला फुटबल क्लबलाई ८–० गोलको विशाल अन्तरले पराजित गरेको हो।
पुलिसको एकपक्षीय जितमा रेखा पौडेलले दोहोरो ह्याट्रिक अर्थात् एक्लैले ६ गोल गरिन्। त्यस्तै, सम्झना लावती र मीना देउवाले एक–एक गोल थपे।
खेलको सुरुदेखि नै आक्रामक देखिएको पुलिसले पहिलो हाफमै ६ गोल गरेको थियो। खेलको १९औँ मिनेटमा सम्झना लावतीले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन्। त्यसपछि रेखा पौडेलले २६औँ, ३८औँ, ४५औँ र ४६औँ मिनेटमा लगातार गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरिन्। ४१औँ मिनेटमा मीना देउवाले पनि गोल थपिन्। पहिलो हाफ सकिँदा पुलिस ६–० ले अगाडि थियो।
दोस्रो हाफमा पनि पुलिसको गोल गर्ने क्रम रोकिएन। दोस्रो हाफको आठौँ मिनेटमा रेखाले व्यक्तिगत पाँचौँ गोल गरिन्। खेलको ४१औँ मिनेटमा थप एक गोल गर्दै उनले दोहोरो ह्याट्रिक पूरा गरिन्। रेखाको उत्कृष्ट प्रदर्शनसँगै पुलिसले काँकडभिट्टामाथि ८–० को फराकिलो जित निकाल्यो।
यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ। बुधबार हुने पहिलो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। बिहीबार हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लबबीच भिडन्त हुनेछ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित आठ क्लब सहभागी छन्। प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
धरानमा पहिलो पटक महिला फुटबलको अन्तर्राष्ट्रिय क्लबस्तरीय प्रतियोगिता रात्रिकालीन रूपमा आयोजना गरिएको हो। प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।