१ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरी सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले उक्त भिडिओ बनाएर सामाजिक सञ्जालमा फैलाउने व्यक्तिहरूविरूद्ध कानुनी कारबाही अगाडि बढाएको जानकारी दिए ।
एक विज्ञप्ति जारी गर्दै भिडियोमा देखिएका व्यक्ति संगठनका सदस्य नभएको पनि सशस्त्र प्रहरीले बताएको छ ।
भिडियोमा देखिएका व्यक्तिले सशस्त्र प्रहरीको कम्ब्याट पोशाकको पाइन्ट लगाएको पाइएको बलले जनाएको छ ।
केही दिनदेखि सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको कम्ब्याट ड्रेसको पाइन्ट लगाई सडक पेटीमा सुतिरहेको एक व्यक्तिको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो ।
साथै, असम्बन्धित व्यक्तिले सशस्त्र प्रहरी बलको पोशाक, दर्ज्यानी चिह्न वा संगठनको पहिचान झल्किने सामग्री प्रयोग नगर्न पनि सशस्त्र प्रहरीको आग्रह छ ।