काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकलमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको हो ।
चितवन — घोप्टेभिरमा मंगलबार ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको कुरिनटार नजिक घोप्टेभिरमा दिउँसो सवा ३ बजेतिर काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि ढुंगा खसेको थियो ।
ढुंगाले लागेका कारण मोटरसाइकल चालकको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र भुसन यादवले बताए । ढुंगाले लागेपछि सख्त घाइते भएका उनलाई उपचारका लागि भरतपुरको सरकारी अस्पताल पठाइएको थियो । चिकित्सकले पौने ५ बजेतिर उनलाई मृत घोषणा गरेको डीएसपी यादवले बताए ।
मृतकको साथमा रहेको लाइसेन्समा ललितपुर महानगरपालिका–२० घर भएका ६१ वर्षका गंगाराम महर्जन नाम उल्लेख भएको डीएसपी यादवले बताएका छन् । यसबारेमा थप बुझ्ने काम भइरहेको उनले जानकारी दिए । घोप्टेभिरमा तिहारको आसपासदेखि नै पटकपटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा काठमाडौं आउने–जाने यात्रुले ठूलो सास्ती पाएका थिए ।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।