रुप्से होलिडेजले आगामी डिसेम्बर ९ र १३ मा काठमाडौं–दानाङ सिधा चार्टर उडान सञ्चालन गर्ने भएको हो ।
काठमाडौँ — नेपाल र भियतनामबीच दुईतर्फी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रुप्से होलिडेजले आगामी डिसेम्बर ९ र १३ मा काठमाडौं–दानाङ सिधा चार्टर उडान सञ्चालन गर्ने भएको छ ।
नेपाली पर्यटकलाई भियतनामको दानाङ लैजाने तथा भियतनामी पर्यटकलाई नेपाल भित्र्याउने गरी उडान तथा भ्रमण प्याकेजको व्यवस्था मिलाइएको कम्पनीले विज्ञप्तिमा जनाएको छ । यस सिधा उडानले दुवै देशका यात्रुलाई ट्रान्जिटको झन्झटबिना सहज यात्रा गर्ने अवसर प्रदान गरिने भनिएको छ ।
यस भ्रमण प्याकेजमार्फत नेपाली पर्यटकहरूले दानाङका आकर्षक समुद्री तट, बाना हिल्सको प्रसिद्ध गोल्डेन ब्रिज तथा ऐतिहासिक सहर होई आनलगायतका गन्तव्यहरूको अनुभव लिन पाउने छन् । त्यसैगरी, नेपाल आउने भियतनामी पर्यटकहरूलाई यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्यसँग परिचित गराउने लक्ष्य राखिएको छ ।
यो चार्टर उडानबारे जानकारी दिँदै रुप्से होलिडेजका प्रमुख कार्यकारी अधिकृत रमेश पराजुलीले भने, 'हाम्रो उद्देश्य नेपाली पर्यटकलाई भियतनाम घुमाउनुका साथै भियतनामी पर्यटकलाई नेपाल भित्र्याउनु पनि हो । यी सिधा चार्टर उडानले दुई देशबीच पर्यटक आदानप्रदान बढाउँदै नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौं।'